काठमाडौँ । अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको उपलक्ष्यमा आयोजित राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिताको उपाधिमा चाबहिल, सरस्वतीनगरस्थित रिलायन्स कलेजले ‘क्लिन स्विप’ गरेको छ ।

नेत्रहिन युवा संघ नेपालले आयोजना गरेको राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगितामा देशैभरिबाट माध्यमिक तहदेखि स्नातकसम्म अध्ययनरत विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए । देशैभरिका प्रतिस्पर्धीलाई उछिनेको रिलायन्स कलेजले प्रथम, द्वितीय र तृतीय तीनवटै उपाधि जित्दै इतिहास रच्न सफल भएको हो ।

“वृहत यौनिकता शिक्षा÷यौन तथा प्रजनन् स्वास्थ्यमा अपाङ्गता भएका व्यक्तिहरुको पहुँच” शीर्षकको उक्त वक्तृत्वकला प्रतियोगिता दुई चरणमा सम्पन्न भएको थियो । पहिलो चरणमा मङ्सिर १३ गतेसम्म प्रतियोगीहरुले वाट्सएप, भाइवर र इमेलबाट पठाएका ३ मिनेटको भिडियोको आधारमा उत्कृष्ट २० प्रतिस्पर्धी छनोट गरिएको थियो । त्यसपछि उत्कृष्ट २० मा छनोट भएका प्रतिस्पर्धीमध्ये घमासान र रोचक प्रस्तुतिपूर्ण वाक्युद्धबाट विजेताहरुको टुङ्गो लगाइएको थियो ।

प्रतियोगितामा रिलायन्स इन्टरनेशनल एकेडमी(रिलायन्स कलेज)मा कक्षा १२ मा अध्ययनरत छात्रा दीपिका ढुङ्गाना प्रथम, कक्षा ११ मा अध्ययनरत संगम कार्की र कृति पोखरेलले द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भएका छन् । प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहलाई क्रमशः दश, सात र पाँच हजार रुपैयाँ नगदसहित ट्रफी, प्रमाण पत्र र मेडल प्रदान गरिएको थियो ।

प्रतिनिधि सभा सदस्य विद्या भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा मिस नेपाल—२०२० नम्रता श्रेष्ठ, यौन तथा प्रजनन् स्वास्थ्य विज्ञ अनुप अधिकारी र अपाङ्गता अधिकार विज्ञ कलाधर भण्डारी निर्णायकको भूमिकामा रहेका थिए ।

रिलायन्स कलेजले प्रतियोगिताका सबै उपाधि एकलौटी गरेपछि हर्षित देखिएका कलेजका प्राचार्य रविन्द्रजंग थापाले सफलताको जस विद्यार्थीको मिहिनेत र कलेजले अतिरिक्त क्रियाकलापलाई दिएको विशेष महत्वलाई दिए ।

त्यसो कलेजले गुणस्तरिय शिक्षा सँगै विद्यार्थीहरुको चौतर्फी विकासलाई जोड दिँदै विगत पाँचवर्षदेखि इसिए/सिसिए समिति ने खडा गरेर अतिरिक्त क्रियाकलापमाहरु संचालन गर्दै आइरहेको छ । कलेजका इसिए/सिसिए समिति संयोजक गोविन्द ढकालले कलेजले वार्षिक कार्यतालिका नै बनाएर अतिरिक्त क्रियाकलापहरु संचालन गर्दै आइरहेको बताए ।

प्रतिकृया दिनुहोस्