काठमाडौं । प्राविधिक शिक्षा नै प्रविधिमैत्री हुन नसकेको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । साधरण शिक्षा अन्तर्गत शिक्षा मन्त्रालयले भर्चुअल शिक्षा सञ्चालन गर्ने तयारी गरिरहेको बेला प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्(सिटिइभिटि)ले भने यसविषयमा नीति तथा कार्यक्रम ल्याउन चुकेको उनीहरुको आरोप थियो ।

सिटिइभिटिले प्राविधिमैत्री सिकाइको नेतृत्व लिनुपर्नेमा आफै रोकिएका परीक्षा सञ्चालन र सिकाइ सञ्चालनका विषयमा विकल्प दिन नसक्नु दुखको कुरा भएको उनीहरुको भनाइ थियो । असम्भव छ, गर्न सक्दैनौं भन्दापनि यति सम्भव छ यसरी गर्न सक्छौं भनेर सिटिइभिटिले नीति र कार्यक्रम अगाडि ल्याउनुपर्नेमा उनीहरुको जोड थियो ।

आजको शिक्षा साप्ताहिकले शुक्रवार आयोजना गरेको ‘सिटिइभिटिबाट सञ्चालित कार्यक्रमहरुको पठनपाठन कसरी ?’ विषयक संवाद श्रृंखलामा बोल्दै विज्ञहरुले सिटिइभिटिले तत्काल भर्चुअल शिक्षणसिकाइको विकल्प दिनुपर्नेमा जोड दिएका हुन् ।

प्राविधिक शिक्षाविज्ञ प्राडा राजेन्द्र प्रसाद अधिकारीले प्राविधिक शिक्षाले सबैभन्दा बढी सूचना प्रविधिको प्रयोग गर्नुपर्नेमा सक्दैनौं, सम्भव छैन भन्ने कुरा सही नभएको टीप्पणी गरे ।  कोरोनामहामारीले असरसँगै प्रविधिमा रुपान्तरण हुने राम्रो अवसरपनि दिएको भन्दै प्राडा अधिकारीले प्रविधिमा कोसेढुंगा तय गर्दै सक्छौं, सक्दैनौं भन्ने कुरा नहेरी सक्छौं, सकिन्छ भन्दै अगाडि बढ्नुपर्ने बताए ।

डिजिटल शिक्षाको कुरा गर्दा अमेरिकाकाको क्यालिफोर्नियाका १२ लाख विद्यार्थीले कम्प्युटर नपाएको कुरा आएको भन्दै अधिकारीले प्रविधि र माध्यमको अभाव हरेक राष्ट्र र समुदायमा कायमै रहेको त्यसलाई क्रस गरेर जानुपर्ने बताए ।

डिजिटल शिक्षामा आउनसक्ने विद्यार्थीलाई  ल्याएपनि आउन नसक्ने थोरै समूहको पहिचान हुने र त्यसका आधारमा रणनीति बनाउन सकिए सबैलाई समेट्न सकिने भन्दै हिड्न शुरुनै नगरेसम्म कहिल्यै गन्तव्यमा नपुगिने उनले स्पष्ट पारे । शैद्धान्तिक विषय पढाउन र परीक्षा सञ्चालन गर्नसमेत समस्या नहुने प्राडा अधिकारीले बताए । यसविषयमा पुरा संसारमा नै नयाँ अभ्यास भइरहेकाले अन्तर्राष्ट्रिय अभ्यास के छ भनेर जानुभन्दा हामीले नै नयाँ अभ्यासको शुरुवात गर्नुपर्नेमा उनको जोड थियो ।

शिक्षा सूचना विज्ञ डा. शेषकान्त पंगेनी विद्यार्थीसँग पहुँचै छैन भनेर चुपलागेर बस्नुभन्दा को–कोसँग कस्ता खालको प्रविधिमा पहुँच छ पत्ता लगाएर नहुनेका लागि योजना बनाउनुपर्ने अहिलेको आवश्यकता रहेको बताए । हाम्रा मानसिकता बन्दकोठामा ३ घण्टा लेख्न लगाउने भन्ने मात्रै भएको भन्दै उनले यो मानसिकताबाट नहटेसम्म शिक्षामा आमूल परिवर्तन हुनै नसक्ने बताए ।

सिकाइ पनि चारदिवार भित्रमात्रै हुन्छ, स्कूलमै आउनुपर्छ, गृहणीले काम गर्दै सिक्न सक्दिनन्, डाक्टरले भिडियो हेरेर अपरेशन गर्न सक्दैन भन्ने मानसिकता पनि अब त्याग्नुपर्ने उनको भनाइ थियो ।

पाइलटले जहाज उडाउँदै अभ्यास नगर्ने, विदेशमा सवारी लाइसेन्सको तयारी पनि अध्ययनबाटै हुने भन्दै अहिलेको कठीन अवस्थामा प्रविधिको प्रयोग गरेर शिक्षा अगाडि बढाउन नेतृत्व लिनुपर्ने सिटिइभिटि आफै कक्षा सञ्चालन गर्न चुकेको उनको आरोप थियो ।

होटल म्यानेजमेन्ट पढ्नेले आफ्नै भान्सा र कृषि पढ्नेले आफ्नै बारीबाट सिक्न सक्ने भन्दै डा. पंगेनीले यो पद्धतिको विकास नगरी तिललाई पहाड बनाएरै बस्नेहो भने अझै पछाडि परिने स्पष्ट पारे ।रोकिएका परीक्षा नगरी शिक्षकलाई मूल्यांकन गर्न दिने वा डिभाइस रजिष्टार गराएर अनलाइन परीक्षा पनि सञ्चालन गर्न सकिने उनले बताए ।

अनलाइनको पहुँच नहुनेलाई टेलिफोनबाट प्रश्न सोधेर पनि मूल्यांकन गर्न सकिने उनको भनाइ थियो । साथै, विद्यार्थीलाई राम्रो भिडियो सामग्री बनाएर पठाउन लगाइ त्यसका आधारमा पनि प्रयोगात्मक परीक्षा सञ्चालन गर्न सकिने उनले स्पष्ट पारे ।

‘राम्रो करेला र घिरौला फलाए करेला र घिरौला हेरेर मूल्यांकन दिनुपर्छ तिनघण्टामा कसरी फलाउन सकिन्छ भनेर प्रश्न सोधेर भन्दा’– उनले भने ।

फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्सका निर्वतमान अध्यक्ष कश्यप पौडेलले सिटिइभिटि कोरोना महामारीका विरुद्धको नीति तथा योजना बनाउन चुकेको आरोप लगाए । प्राविधिक शिक्षाको पठनपाठन र परीक्षाका बारेमा विकल्प ल्याउनुपर्नेमा सिटिइभिटले त्यसो गर्न नसकेको उनले बताए ।

बीचमै रोकिएका र हुनै नपाएका परीक्षा, चालुशैक्षिक सत्रको सक्न बाँकी पाठ्यक्रम, भाद्र महिनामा हुने अन्तिम परीक्षालाई के गर्ने, विद्यार्थीको प्रयोगात्मक अभ्यास र प्रयोगात्मक परीक्षाका सन्दर्भमा के गर्ने भन्ने भन्ने नीति र योजना सिटिइभिटिले अगाडि नसारेर अन्योल सिर्जना गरेको पौडेलले बताए ।

शैक्षिक संस्थाहरुको वार्षिक नविकरण रोकिएको र त्यो नभएसम्म नयाँ शैक्षिक सत्र शुरु हुने अवस्था नरहेको भन्दै रोकिएको प्राविधिक एसईई र योवर्षको नयाँ शैक्षिक सत्र कहिले, कसरी र कुन माध्यमबाट शुरु गर्ने, भर्नाको पद्धति के हुने भन्ने जस्ता विषयमा सिटिइभिटिले स्पष्ट पार्नुपर्ने उनले बताए । कोरोना रहिरहे के गर्छौ, छिटै सकिए के गर्छौ भन्ने दिर्घकालीन र तत्कालीन योजना आउनुपर्नेमा उनको जोड थियो ।

सरकारले पनि प्राविधिक शिक्षाको बारेमा विकल्पका बारेमा छलफल नचलाएको, निजी विद्यालयका सञ्चालनसँग छलफल गर्दा प्राविधिक शिक्षालय सञ्चालकसँग छलफल नगरेको प्रति उनले दुखेसो व्यक्त गरे ।

उनले प्रश्न गरे– ‘सरकारले ७० प्रतिशत प्राविधिक शिक्षा पुर्याउँछौं भनेको होकि भएका प्राविधिक शिक्षालयमा ७० प्रतिशत विद्यार्थी पुर्याउँछौं भनेको ?’

सिटिइभिटिका परीक्षा नियन्त्रक दिपक पौडेलले सिटिइभिटि प्रविधिबाट नभागेको स्पष्ट पार्दै यसका लागि शैद्धान्तिक र व्यवहारिक दुबैपाटोबाट हेरिनुपर्ने बताए ।

सिटिइभिटिले अध्ययन गरिरहेका सबै ९२ हजार विद्यार्थीलाई समान ढङ्गबाट हेर्नुपर्ने भन्दै ४० प्रतिशतलाई एउटा माध्यमबाट र बाँकीलाई अर्को माध्यमबाट सिकाउने र बाँकी जहिले समेटिन सक्छ सक्छ भनेर अगाडि बढ्न नसक्ने उनले स्पष्ट पारे । ३०–४० प्रतिशत विद्यार्थीलाई समेटेर अगाडि बढ्दा धेरै ठूलो संख्याका विद्यार्थीमाथि अन्याय हुने उनको भनाइ थियो ।

प्रविधिको पहुँच पुर्याउन पर्यो भन्दैमा सिटिइभिटिले देशभर इन्टरनेट विस्तार गर्न नसक्ने भन्दै उनले सरकारले विस्तार गरे हामीपनि जान सक्ने स्पष्ट पारे ।

सिटिइभिटि अन्तर्गत कृषि र होटल म्यानेजमेन्ट मात्रै नभएर डिप्लोमामा ३२ कार्यक्रम सञ्चालन भइरहेका ल्याव टेक्निसियनलाई घरमै अभ्यास गरेर आउ भन्न नसकिने उनले बताए । अनलाइनबाट परीक्षा लिने प्रविधि विकास गरेर पछि लिन सकिएला तर परीक्षाकै कारण पठनपाठन रोकिने अवस्था नआउने उनले स्पष्ट पारे ।

तरपनि सिटिइभिटि हातबाँधेर नबसेको आगिंक क्याम्पसहरुमार्फत् कति विद्यार्थीलाई अनलाइन कक्षामार्फत् समेट्न सकिन्छ भनेर शिक्षकहरुमार्फत् सर्भे भएको उनले जानकारी दिए । केहि शिक्षालयहरुमा ५०–६० प्रतिशत समेटिएको पाइएपनि अधिकांशमा ४० प्रतिशत भन्दा बढी विद्यार्थी समेट्न नसकिने पाइएको उनले जानकारी दिए ।

फेरी सिटिइभिटि अन्तर्गतका १४–१५ शिक्षालयहरु क्यारेन्टिाइन र आइसोलेशनमा परिणत भएका र अभ्यासका लागि लगिने केही अस्पताल हाल  कोभिड अस्पतालमा परिणत भएको अवस्था रहेको उनले बताए ।  प्राविधिक शिक्षामा अनलाइनबाट पढाउनै नसकिने अवस्था नरहेपनि सबै विद्यार्थीको पहुँच नै नभएको अवस्था रहेको उनले स्पष्ट पारे ।

पहिले केही आंगिक कलेजमा हेरौं त्यसको प्रभावकारिताका आधारमा  अन्य टेक्स र निजी विद्यालयमा पनि जानुपर्छ भनेर परिक्षण गरिरहेको अवस्था रहेको उनले जानकारी दिए ।

आजको शिक्षा साप्ताहिकले शुरु गरेको भर्चुअल संवाद श्रृंखला दोस्रो भागमा प्रवेश गरेको हो । यस संवादमा विज्ञ वक्ताका अलवा देशभरका एकसय बढी प्राविधिक शिक्षालयका शिक्षक, विद्यार्थी र पत्रकारहरुको को सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्