पोखरा । शिक्षकलाई पनि बाँच्न देउ भन्दै निजी विद्यालयमा कार्यरत–शिक्षक कर्मचारीहरु सडकमा उत्रिएका छन् ।

निजी तथा संस्थागत विद्यालय शिक्षक÷कर्मचारी युनियन नेपाल(प्यावसियु)को पोखरा महानगर समितिको आयोजनामा शिक्षककर्मचारीहरुले सोमबार सडकमा शान्तिपूर्ण र्याली गरेका हुन् ।

विशेष गरी कास्कीको पोखरा र यसको आसपासमा रहेका निजी तथा संस्थागत विद्यालयमा अध्यापनरत शिक्षक तथा कर्मचारीहरूको उपस्थिति रहेको उक्त शान्तिपूर्ण र्याली पोखराको शृजनाचोकबाट सुरु भएर न्युरोड हुँदै मानवअधिकार चोकमा गई कोण सभामा परिणत भएको थियो ।

र्यालीमा उपस्थित शिक्षक कर्मचारीहरूले ‘हामी पनि बाँच्न पाऊँ’, ‘श्रमको उचित मूल्याङ्कन गर’, ‘योगदानमा आधारित सामाजिक सुरक्षा अनिवार्य गर’ जस्ता नारा लेखिएका प्लेकार्डहरू छातीमा टाँसेर सहभागी भएका थिए ।

कोणसभामा पुगेर टुङ्गिएको उक्त कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन निजी तथा आवासीय विद्यालय इकाईका अध्यक्ष दीपक रोकाले निजी विद्यालयमा रहेका बसका चालक तथा सहचालक एवं कर्मचारीको जागिरको सुरक्षाको प्रत्याभूत गराउँदै अहिलेसम्मको तलब सुविधा यथाशीघ्र उपलब्ध गराउनुपर्ने कुरामा जोड दिएका थिए ।

त्यसै गरी कोणसभामा निजी तथा संस्थागत विद्यालय शिक्षक कर्मचारी युनियन नेपाल, गण्डकी प्रदेशका सचिव मिलन तिमिल्सिनाले व्यावसाय सञ्चालन गरेपछि नाफा र घाटाको विषय सञ्चालकको हुने भएकाले निश्चित तलब तथा पारिश्रमिकमा बाँच्ने मजदुरमाथि यसको भार थुपार्न नहुने कुरा व्यक्त गर्दै शिक्षक कर्मचारीलाई निजी विद्यालयले भोको पेटमा काम गर्न बाध्य बनाएको विषय प्रस्ट पारेका थिए ।

शिक्षक कर्मचारीको पेशागत सुरक्षाको ग्यारेन्टी गर्दै बालबालिकाको पढ्न लेख्न पाउने अधिकार सुरक्षित गर्ने कुराप्रति निजी विद्यालयका सञ्चालकहरू गम्भीर नदेखिएको विषय उठान गर्दै निजी तथा संस्थागत विद्यालय शिक्षक कर्मचारी युनियन नेपालका केन्द्रीय उपाध्यक्ष शिवलाल उपाध्यायले शिक्षक कर्मचारीलाई लामो समयको तलब तथा पारिश्रमिक नदिई निजी विद्यालयका छाता सङ्गठन प्यब्सन र एनप्याब्सनले संयुक्त रूपमा प्रकाशन गरेको विज्ञप्तिमाथि खण्डन गर्दै विपत्तिमा शिक्षकलाई पनि बाँच्ने अधिकार भएको कुरा उल्लेख गरेका थिए ।

निजी विद्यालयका शिक्षक तथा कर्मचारीलाई राज्यले त उपेक्षा गरेकै थियो यसका साथै आज आफ्नै परिवार मानिएको आबद्ध संस्थाका सञ्चालकहरूले पनि विवेकपूर्ण व्यवहार नगरेको र लामो समयसम्म तलब नपाउँदा चुलो निभ्न थालेको कुरा र्यालीमा सहभागीहरूको गुनासो थियो । श्रम र बौद्धिकताको सम्मान नभएको भन्दै कतिपय शिक्षकहरू त आक्रोशित पनि भएका थिए ।

निजी विद्यालयका शिक्षक कर्मचारीको सङ्गठन प्याब्सियुले कास्कीमा रहेका प्याब्सन, एनप्याब्सन र युनिप्ससँग अनौपचारिक रूपमा छलफल र वार्ता गर्दा पनि उपयुक्त निकास ननिस्किएपछि राष्ट्रव्यापी सङ्घर्ष तथा आन्दोलनका कार्यक्रमहरूको घोषण गरेर अगाडि बढ्नुपरेको प्याब्सियु नेपालका उपाध्यक्ष शिवलाल उपाध्यायले बताए ।

सङ्गठनका तर्फबाट राष्ट्रव्यापी रूपमा सरोकारवाला संस्थाहरूमा यसअघि नै ज्ञापनपत्र बुझाइसकेको र अझ पनि सम्बन्धित निकाय गम्भीर नबने तथा समयमा उपयुक्त निकास ननिस्के उक्त संस्थाहरूमा तालबन्दी गर्ने आगामी कार्यक्रम रहेको कोण सभामा बताइएको थियो ।

कार्यक्रममाथि प्रस्ट पार्दै प्याब्सियु पोखरा महानगर समितिका अध्यक्ष विजयराज अधिकारीले तलबसुविधा यथाशीघ्र उपलब्ध गराउने, योगदानमा आधारित सामाजिक सुरक्षा अनिवार्य गर्नुपर्ने, बौद्धिकताको सम्मान गर्नुपर्ने, विद्यालयले नियुक्तिपत्र अनिवार्य दिनुपर्ने, सरकारी तलबमान कायम गर्नुपर्ने, पेशाको ग्यारेन्टी गर्दै विद्यालयले सम्बन्धन लिने बेलाका बुँदाहरू कार्यान्वयन गर्नुपर्ने आदि जस्ता प्याब्सियुको माग रहेको बताएका छन् ।

प्रतिकृया दिनुहोस्