काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आहार, व्यायम र आरामको सन्तुलन मिलाउन सबैसँग आग्रह गरेका छन् । शारीरिक र मानसिक हिसाबले सचेत र सबल रहन पहिले स्वस्थ्य रहनुपर्ने उनको भनाइ थियो ।

विश्व योग दिवसको अवसरमा आइतबार बिहान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको भर्चुअल कार्यक्रममा राष्ट्रिय योग अभ्यासक्रम (प्रोटोकल) पुस्तिका सार्वजनिक गर्दै उनले सबै उमेरका जुनसुकै व्यक्तिलाई योगको आवश्यक पर्ने बताए । सरकारले स्वस्थ्य र निरोगी नेपाल बनाउने अठोट गरेको सुनाउँदै यसकालागि नागरिक स्वस्थ्य रहनुपर्ने र त्यसका लागि नियमित योग गर्नुपर्ने उनको भनाइ थियो ।

‘विरुवालाई पानी चाहिन्छ, धेरै पानी भयो भने विरुवा पनि राम्रो हुँदैन,’ उनले भने । ‘आहार, व्यायम र आरामको सन्तुलन मिलाउनु पर्छ ।’ प्राचिनकालदेखि योग र आयुर्वेद नेपाली समाजमा रहेको भन्दै उनले कस्तो बेला कुन प्रकारको योग आवश्यक हुन्छ भनेर गुरुहरुबाट सिक्नुपर्ने बताए ।

दैनिक प्रयोग हुने खाद्यवस्तुको महत्व नबुझेर केही विद्धानले बेसारको मजाक उडाएको भन्दै प्रधानमन्त्री ओलीले औषधिको रुपमा बेसारलगायत सामग्री खानेकुराको रुपमा पूर्खाहरुले प्रयोग गर्दै आएको दोहोर्याए ।

केही विद्धानहरुले पूर्वजको ज्ञानलाई मजाक बनाएको भन्दै उनले असन्तुष्टिसमेत व्यक्त गरे । ‘मैले बेसारले रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ भन्दा केही विद्धानले बेसार अदुवालाई मजाक बनाए ।’ उनले भने ।

पूर्वजहरुले औषधिको रुपमा भान्सामा ती खानेकुराको प्रयोग गरेको उनले प्रष्टाए । ‘मेथी किन पड्काएको ? सब्जीमा बेसार किन हालेको ? भनेर ती विद्धानले भान्सा तयार गर्नेलाई सोधुन्, त्यसले शरीरको प्रतिरोधी क्षमता बढाउँछ ।’ त्यसको महत्व नबुझेर पुर्खाको समेत अपमान गरिएको उनको भनाइ थियो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले योग अभ्यास क्रमको पुस्तिका तयार पारेको हो । छैठौं अन्तराष्ट्रिय योग दिवसको अवसरमा प्रधानमन्त्री ओलीले पुस्तिका सार्वजनिक गरे ।

पुस्तिकामा योग गर्ने विधि र तरिकाहरु उल्लेख रहेको छ । कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरेल, संस्कृति तथा पर्यटन मन्त्री योगेश भट्टराई र योगगुरुहरु डा. हरिप्रसाद पोखरेल, स्वामी आनन्द अरुण, स्वानाम साथी, अभिनेता निखिल उप्रेतीलगायतले योग र ध्यानको महत्वको बारेमा बोलेका थिए ।

प्रतिकृया दिनुहोस्