काठमाडौं । आचार्य पीपलमणि सिग्देलको ‘विचारपुञ्ज’ कृतिको नेपाल र अमेरिकामा विशेष कार्यक्रम गरी एकसाथ लोकार्पण गरिएको छ।

नेपालमा वाल्मीकि क्याम्पसमा आयोजित विशेष कार्यक्रमकाबीच नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कृतिको लोकार्पण गरेका हुन्। हाल अमेरिकामा रहेका सिग्देल तथा त्यहाका साहित्यकारहरु जुममार्फत कार्यक्रमा जोडिएका थिए। अमेरिकामा पनि भव्यकार्यक्रमका बीच एकसाथ कृतिको लोकार्पण गरिएको थियो।

कृतिको लोकार्पण गर्दै महामन्त्री शर्माले सर्जक पीपलमणि सिग्देललाई वाल्मीकि क्याम्पसको प्रांगणतिर चिनेको र सँगसँगै निरन्तर शनिबार साहित्य यात्रामा अगाडि बढेको स्मरण गर्दै सिग्देलको यस कृतिले देशबाहिर छरिएर रहेका अन्तर्राष्ट्रिय नेपाली मनहरूलाई जोड्न सफल भएको बताए।

कृतिको समीक्षा गर्दै हिमालय टाइम्सका प्रधान सम्पादक प्रा. पुरुषोत्तम दाहालले भूगोलमात्र राष्ट्रियता नभएको भन्दै राष्ट्रियता नेपाली मन, भावना र नेपाली विचार पनि भएको टिप्पणी गरे। सिग्देलको कृतिमा ती सबै विषय समेटिएको उनको धारणा थियो।

कार्यक्रममा निरन्तर शनिबारका संस्थापक संयोजक मनोजमणि आचार्य, संयोजक एवं प्रदेश सांसद डिल्लीराम सुवेदी, प्रा.डा. भागवत ढकाल, कवि सोझो गाउँलेलगायतले कृतिको बारेमा चर्चा गरेका थिए।

कार्यक्रममा जुममार्फत् ‘विचारपुञ्ज’ कृतिमाथि टिप्पणी गर्दै प्रा.डा. नवराज कट्टेलले ‘विचारपुञ्ज’ कृति सर्जकको आत्मप्रकाशनको अनुभूति भएको सुनाए। जुममार्फत् कार्यक्रमको उद्घाटन भने स्वामी वालगोपालले दीप प्रज्वलनमार्फत् गरेका थिए भने चुडामणि पाठकले शान्ति पाठ गरेका थिए।

जुममार्फत् कृतिमाथि धारणा राख्दै डा. हरि दाहालले सिग्देलको विचारपुञ्जले प्रवासी नेपालीहरुको मन, विचार र भावना प्रतिविम्वित गरेको बताए। यस्तै, अमेरिकामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी गाउँपालिका महासंघका निवर्तमान महासचिव वंशलाल तामाङले सिग्देलको कृतिले आम प्रवासी नेपालीहरुको आवाज बोलेको टिप्पणी गरे । सिग्देल जस्ता प्रवासी सर्जकका कृतिहरुले नेपाली साहित्यको जर्गेना, विकास र विस्तारमा योगदान पुर्याइरहेको भन्दै तामाङले यस्ता कृतिहरुको संरक्षण र प्रवद्र्धनमा जोड दिए।

कार्यक्रममा नेपालमा र जुमका विभिन्न देशका गरी करिब डेढसय जनाको सहभागिता रहेको थियो। ‘विचारपुञ्ज’ पिपलमणि सिग्देलको दोस्रो कृति हो । यसअघि उनको आँकुरापुञ्ज प्रकाशित भइसकेको छ।

प्रतिकृया दिनुहोस्