बागलुङ । २०७२ वैशाखको भूकम्पले भवन चिरिए पनि पुनर्निर्माणका लागि कुनै योजनामा सूचीकृत नभएपछि जैमिनी नगरपालिका–८ छिस्तीको जनकल्याण माविका विद्यार्थी जोखिम मोलेर पढ्दै छन् ।

भवन निर्माणका लागि पेस गरिएको कागजात पुनर्निर्माण प्राधिकरणको बागलुङस्थित कार्यालयबाटै हराएपछि योजना पर्न नसकेको प्रधानाध्यापक यम शर्मा पौडेलले बताए ।

‘हामीले सबै कागजात बनाएर पठायौं, पछि उतैबाट हराएर सूचीकृत गरिएन,’ उनले भने, ‘पछि पटकपटक ताकेता गरे पनि योजना पार्न सकिएन ।’ २०४१ मा बनाइएको भवन जीर्ण भइसकेको छ । बजेट अभावले भवन बनाउन नसकिएको उनले जनाए । ढुंगा र माटोले बनाएको भवन धेरै स्थानमा चर्केको छ । ठाउँ–ठाउँमा चुहिन्छ । विद्युतीय उपकरण जडानमा पनि समस्या परेको छ ।

जोखिमयुक्त कक्षाकोठा र विद्युत् जडानमा समस्या भएपछि यहाँको विज्ञान प्रयोगशाला, पुस्तकालय र कक्षा सञ्चालनमा समेत समस्या छ । ‘४५ वटा कम्प्युटर छन् तर भवन अभावले चलाउन सकिएको छैन,’ शर्माले भने । जैमिनी नगर प्रमुख इन्द्रराज पौडेलले भवन बनाउन स्रोतको खोजी भइरहेको बताए ।

कान्तिपुरमा खबर छ ।

प्रतिकृया दिनुहोस्