खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित पञ्च माविले कोरोना भाइरस (कोभिड–१९)को महामारीकाबीचमा शिक्षण सिकाई गर्न सकिने विकल्पको खोजी सुरु गरेको छ । कोरोना भाइरसको महामारीकाबीचमा पनि अवरुद्ध शैक्षिक सिकाईलाई सञ्चालन गर्ने उपयुक्त विधिको खोजीका लागि विद्यालयले नमूना शैक्षिक सर्वेक्षण सुरु गरेको छ । कोरोना महामारीका कारण शैक्षिक क्यालेन्डर तथा शिक्षण सिकाई भद्रगोल भएको अवस्थामा विद्यालयले नमूना शैक्षिक सर्वेक्षणका लागि बिहिबारदेखि वडाका ९ वटै टोलमा शिक्षक/शिक्षिकाको टोली परिचालन गरेको छ ।

विद्यार्थीको पारिवारिक विवरण, घरमा सूचना तथा प्रविधिको पहुँच, विद्यार्थीको सिकाई संलग्नता, अभिभावकको सक्रियता, कोरोना सम्वन्धी जानकारी एवं अभिभावकबाट आवश्यक सुझाव संकलन गरेपछि शैक्षिक सिकाईलाई अगाडि बढाउने उपयुक्त बिकल्प छनौट गरिने विद्यालयका प्रअ भवकृष्ण ढकालले बताए । ‘कोरोना महामारीले शैक्षिक संस्था बन्द छ, विद्यालयलाई सँधै यसरी नै बन्द गरेर मात्र हुन्न । शिक्षण सिकाईलाई अघि बढाउन केही न केही बिकल्प त सोच्न जरुरी छ,’ प्रअ ढकालले भने, ‘सम्भव भएसम्म शैक्षिक सत्र जोगाउने, नसके सिकाईलाई जोगाउने हो । त्यो पनि नसके ज्यान जोगाउने शिक्षा दिने हाम्रो लक्ष्य हो ।’

हालकै अवस्थामा शिक्षण सिकाई क्रियाकलापलाई सहजता प्रदान गर्ने विकल्पको खोजीका लागि नगरपालिकाको अनुमतीमा विद्यालयले फारम नै तयार पारेर नमूना शैक्षिक सर्वेक्षण सुरु गरेको हो । सर्वेक्षणकाक्रममा विद्यार्थीको घरमा सुचना तथा सञ्चारको साधनको उपलव्धता, विद्यार्थीमा स्वअध्ययनको अवस्था, घरमा अभिभावकबाट भइरहेका सिकाई सहजीकरण, महामारीकैबीचमा शिक्षण सिकाईलाई सुचारु गराउन सकिने बिकल्प लगायतका बारेमा विवरण तथा सुझाव संकलन गरिने छन् ।

सूचनाको पहुँच अन्तरगत विद्यार्थीको घरमा विद्युतको सुविधा, रेडियोको प्रयोग, टेलीभिजनको सुविधा, मोबाईल तथा ल्याण्डलाईन फोनको सुविधा, इन्टरनेटको सुविधा, कम्प्यूटरको प्रयोग, ल्यापटपको प्रयोग लगायतका बारेमा जानकारी लिइने प्रअ ढकालले बताए । ‘विद्यार्थीको सिकाई संलग्नता अन्तरगत रेडियो तथा टिभीबाट भइरहेको शिक्षण सिकाई बारे जानकारी भए/नभएको, इन्टरनेटका माध्यमबाट सिकाईमा सहभागी भए/नभएको विषयमा जानकारी लिने छौँ,’ प्रअ ढकालले भने, ‘स्वअध्ययनमा कति विषय पढे, प्रत्येक विषयको कति प्रतिशत पढेको, नियमितरुपमा सबै विषय अध्ययन गर्ने गरे/नगरेको, टोलमा दाजुदिदिले पढ्न सिकाउने गरे/नगरेको, घरमा अग्रजले सिकाउने गरे/नगरेको जानकारी पनि आउने छन् ।’

यस्तै, कक्षा सञ्चालन भए बालबच्चालाई विद्यालय पठाउन तयार हुने/नहुने, कोरोना महामारी नियन्त्रण नभए टोलमा शिक्षक वा सहजकर्तामार्फत सिकाउन ईच्छुक भए÷नभएको, प्रविधिमैत्री सिकाईमा बालबालिकालाई सहभागी गराउन परे व्यवस्थापन गर्न सक्ने क्षमता भए/नभएको, हालको अवस्थामा शिक्षण सिकाई क्रियाकलापलाई सहजता प्रदान गर्न विद्यालयले चाल्नुपर्ने कदम तथा अभिभाकवले खेल्नुपर्ने भूमीकाको बारेमा सुझाव संकलन सुरु गरिएको प्रअ ढकालले बताए ।

सर्वेक्षणका माध्यमबाट विद्यालय बाहिर रहेका विद्यालय उमेर समुहका बालबालिकाको तथ्यांक समेत संकलन गरेर उनीहरूलाई विद्यालयसम्म ल्याउन पहल गरिने जनाइएको छ । २०२४ साल पुसमा स्थापना भएको पञ्च माविले प्राविधिक धारतर्फ बाली विज्ञान तथा कानून विषयको पठन–पाठन गर्दैआएको छ ।

दमन राईले नागरिकमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्