काठमाडौँ । कोरोना भाइरसको सङ्कटको बेला भौतिक कक्षाको विकल्पका रूपमा सञ्चालन गरिएको अनलाइन शिक्षा अपेक्षाजस्तो प्रभावकारी पहुुँच हुन सकेको छैन । सामुदायिकलगायत धेरै विद्यालयमा अनलाइन कक्षा प्रारम्भ नै हुन सकेको छैन भने निजी क्षेत्रमा पनि राजधानीबाहिर विद्यार्थीको उपस्थित राम्रो छैन ।

खासगरी सामुदायिक विद्यालयका अधिकांश विद्यार्थी अझै सम्पर्कमा आउनै सकेका छैनन् भने सरकारी विद्यालयका शिक्षकले अध्यापनमा जाँगर देखाउन सकेका छैनन् । निजी विद्यालयका शिक्षकले चैत यता तलब नपाए पनि अध्यापन भने गरिरहेका छन् ।

उपस्थिति औसत २५ प्रतिशत
ललितपुरस्थित प्रगति माध्यमिक विद्यालयमा दुई सातादेखि मात्रै कक्षा ९ देखि माथिल्लो कक्षामा अनलाइनबाट पढाउन थालिएको छ । त्यसमा २५ प्रतिशत जति विद्यार्थीको उपस्थिति हुने गरेको विद्यालयका प्रधानाध्यापक सूर्य घिमिरेले जानकारी दिनुभयो । धेरै विद्यार्थीसित इन्टरनेट सुविधा छैन, कतिपयसित मोबाइल, ल्यापटप छैन, कति विद्यार्थीको घरमा एकभन्दा बढी विद्यार्थी हुुँदा अनलाइन कक्षाको समय जुध्ने गरेका कारण अनलाइन कक्षामा विद्यार्थीको सहभागितामा वृद्धि हुन नसकेको जनाइएको छ । त्यसभन्दा मुनिको कक्षामा अनलाइन कक्षा सञ्चालन गर्न नसकिएको र ती विद्यार्थीले रेडियो तथा टेलिभिजनबाट सिकाइलाई निरन्तरता दिएको उहाँको भनाइ छ । बल्ल कक्षा ८ बाट तल्लो तहका विद्यार्थीलाई पनि अनलाइन कक्षा सञ्चालन गर्ने तयारी भइरहेको जनाइएको छ ।

कतिपय निजी विद्यालयको भने शैक्षिक सत्र आरम्भदेखि नै नियमित अनलाइन कक्षा सञ्चालन भइरहेको छ तर देशभर भने यो अवस्था छैन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का अध्यक्ष टीका पुरी भन्नुुहुुन्छ, ‘‘उपत्यकाका निजी विद्यालयको अनलाइन शिक्षा सन्तोषप्रद छ तर देशभरमा हेर्ने हो भने अवस्था राम्रो छैन । उपत्यकाबाहिर २५ प्रतिशतकै हाराहारीमा मात्र उपस्थित छ । ’’

राजधानीकै संस्कृत माध्यमिक विद्यालयले पनि भर्खरै मात्र कक्षा १० का विद्यार्थीको अनलाइन कक्षा सुरु गरेको छ । अब साउनबाट कक्षा ८ र ९ का विद्यार्थीका लागि अनलाइन कक्षा सञ्चालन गर्ने तयारी गरिएको प्रधानाध्यापक शिव अधिकारीले बताउनुभयो । विद्यार्थीसित सम्पर्क स्थापित गर्ने, शिक्षक तथा विद्यार्थीलाई अनलाइनमा अभ्यस्त गराएर कक्षा सुरु गर्दा केही हप्ता ढिला हुने भएको उहाँ बताउनुहुन्छ । कक्षा १० का विद्यार्थी पनि २५ प्रतिशत जतिले मात्र अनलाइन कक्षामा सहभागिता जनाउने गरेको जनाइएको छ ।

सम्पर्कमै छैनन् विद्यार्थी
यसबीचमा विद्यालयले विद्यार्थीको खोजी गरे पनि सम्पर्क स्थापित हुन नसकेको जनाइएका छन् । विद्यालयका ४० प्रतिशत विद्यार्थीसित आफूहरूको सम्पर्क विच्छेद भएको जानकारी दिँदै प्रअ घिमिरेले बाँकी विद्यार्थीलाई पुस्तक वितरण गरिएको र विद्यार्थीको विवरणसमेत अद्यावधिक गरिएको जानकारी दिनुभयो । संस्कृत मावि रानीपोखरीमा पनि २५ प्रतिशत जति विद्यार्थी अझै सम्पर्कमा आउन नसकेको जनाइएको छ ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घका महासचिव गुणराज मोक्तान अनलाइन कक्षा सहरभित्रका विद्यालयले मात्रै सञ्चालन गरेको र त्यो पनि धेरै प्रभावकारी हुन नसकेको उल्लेख गर्नुभयो । उहाँको अनुमानमा विद्यालयमा अध्ययन गर्ने ८० लाख विद्यार्थीमध्ये मुस्किलले १० लाख विद्यार्थी पनि अनलाइन कक्षामा जोडिन सकेका छैनन् । सरकारले वैकल्पिक माध्यमबाट गरिएको पठनपाठनको नीतिगत स्पष्टता नगरेका कारण प्रभावकारितामा वृद्धि हुन नसकेको उहाँको भनाइ छ । निजी क्षेत्रमा २२ लाख विद्यार्थी छन् ।

सरकारले वैकल्पिक विधिबाट पठनपाठन सुरु गरिएको अनलाइन कक्षाको पनि प्रभावकारिता विषयमा अध्ययन तथा अनुगमन हुन नसकेको जनाएको छ तर ३५ प्रतिशतको हाराहारीमा विद्यार्थीले सहभागिता जनाएको सरकारको दाबी छ । यस क्रममा शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७५३ वटै स्थानीय तहमा विभिन्न आधारमा वर्गीकरण गरी तीन या चार लाख सहयोग प्रदान गरिएको निर्देशक गेहनाथ गौतमले जानकारी दिनुभयो ।

शेषकान्त पण्डितले गोरखापत्रमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्