काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शिक्षकको स्वास्थ्य सुरक्षामा सरकार गम्भीर बन्नुपर्ने बताएका छन् । शिक्षक र विद्यार्थीको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी नभएसम्म विद्यालयहरु सञ्चालन गर्न नहुने उनले स्पष्ट पारे ।

नेपाल शिक्षक संघ गण्डकी प्रदेशले आयोजना गरेको १० दिने अनलाइन आइसिटि शिक्षक तालिमको उद्घाटन समारोहमा बोल्दै वरिष्ठ नेता पौडेलले शिक्षकको सुरक्षामा सरकारले वेवास्ता गरेको आरोप लगाए ।

क्वारेन्टाइनमा परिणत भएका विद्यालयहरु क्वारेन्टाइन हटाउँदैमा पठनपाठन शुरु गर्न नसकिने भन्दै पौडेलले ती विद्यालयको निर्मलीकरण र शिक्षक विद्यार्थीको स्वास्थ्य जोखिमका सन्दर्भमा पनि उपर्युक्त कदम चालिनुपर्ने बताए ।

विद्यालय पुनर्सञ्चालनमा हतार गर्न नहुने भन्दै उनले शिक्षक र विद्यार्थीको जीवनमा खेलवाड गर्ने काम हुन नहुने स्पष्ट पारे । शिक्षक र विद्यार्थीको पिसिआर परिक्षण नगरी, विद्यालयहरुलाई निर्मलीकरण नगरी विद्यालय सञ्चालन गर्दा त्यो जोखिमपूर्ण हुने उनको भनाइ थियो ।

शिक्षकहरु आफै शिक्षण तालिम दिन–लिन अग्रसर हुनु, आफूलाई अपडेट गर्न खोज्नु, सूचना प्रविधिमैत्री बन्न खोज्नु प्रशंसनीय काम भएको उनको भनाइ थियो । शिक्षा र तालिम जीवनभर चलिरहने प्रक्रिया भएकाले एक पटक तालिम दिएर नपुग्ने शिक्षकहरुलाई समयसापेक्ष निरन्तर तालिम दिइरहनुपर्ने पौडेलले बताए ।

शिक्षकहरुमा पनि पुरातन शिक्षण सिकाइ शैलीमा सुधार हुन आवश्यक रहेकोमा जोड दिँदै पौडेलले शिक्षकले पढाउने क्षमता र सिकाउने कलामा सुधार गर्दै लग्नुपर्ने बताए ।

शिक्षक संघ गण्डकी प्रदेशद्वारा आयोजित तालिम आइतवारदेखि १० दिनसम्म विहान ७ देखि ९ बजेसम्म सञ्चालन हुने जनाइएको छ ।

प्रतिकृया दिनुहोस्