काठमाडौँ । निजी विद्यालयले अबदेखि मासिक कुल आयको ०.५ प्रतिशत रकम ‘जगेडा कोष’मा राख्नुपर्ने भएको छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) ले आफ्ना आवद्ध विद्यालयहरुलाई आकस्मिक र भैपरि आउने असहज अवस्थाको व्यवस्थापन गर्नको लागि छुट्टै जगेडा कोषको निर्माण गर्न र मासिक कुल आयको कम्तिमा ०.५ प्रतिशत रकम जम्मा गर्न निर्देशन दिएको हो ।

चैत्र ४ र ५ गते कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न केन्द्रीय समितिको बाहौं बैठकले गरेको निर्णय अनुसार आवद्ध विद्यालयहरुलाई यस्तो निर्देशन दिएको हो । बुधवार राजधानीमा पत्रकार सम्मेलन गर्दै नेसनल प्याब्सनले कोरोनाका कारण उत्पन्न परिस्थितिमा विद्यालयको आवश्यकता अनुसार केन्द्रीय समितिले सहयोग गर्नेसमेत जनाएको छ ।

विद्यालयले शिक्षण सिकाइका गतिविधिलाई विभिन्न माध्यमबाट प्रभावकारी ढङ्गले व्यवस्थापन र सञ्चालनका लागि केन्द्रले सहयोग गर्ने अध्यक्ष ऋतुराज सापकोटाले स्पष्ट पारे ।

शिक्षण सिकाइका गतिविधिलाई विभिन्न माध्यमबाट अझ प्रभावकारी ढङ्गले व्यवस्थापन र सञ्चालन गर्नका लागि विद्यालयहरुले आवश्यक ठानेमा यस्ता गतिविधिमा केन्द्रिय समितिले आवश्यक सहयोग गर्ने अध्यक्ष सापकोटाले बताए ।

महाधिवेशन आउँदो कार्तिक ११–१३
नेसनल प्याब्सनले आफ्नो सातौं राष्ट्रिय महाधिवेशन आगामी कार्तिक ११–१३ मा गर्ने भएको छ । केन्द्रीय समितिको बाहौं बैठकले सातौं महाधिवेशन २०७८ कार्तिक ११ देखि १३ सम्म गर्ने निर्णय गरेको नेसनल प्याब्सनका महासचिव सुवास न्यौपानेले जानकारी दिए ।

महासचिव न्यौपानेका अनुसार बैठकले जिल्ला अधिवेशन सम्पन्न हुन बाँकी जिल्लाहरुलाई सम्बन्धित प्रदेश समितिको समन्वयमा २०७८ जेठ मसान्त भित्र अधिवेशन सम्पन्न गर्न पनि निर्देशन दिएको छ ।

संस्थागत प्रतिनिधित्वको माग
नेसनल प्याब्सनले स्थानीय निकायहरुले शिक्षा सम्बन्धी आ–आफनै ढङ्गले कार्यविधि बनाई कार्यान्वयन गर्दा अन्यौलता देखिएको ठहर गर्दै यस्तो अन्योलपूर्ण वातावरण हटाउन संघीय, प्रादेशिक तथा स्थानीय निकायहरुमा निर्माण गरिने शिक्षा सम्बन्धी समिति–उपसमितिहरुमा आफ्नो अनिवार्य संस्थागत प्रतिनिधित्वका लागि पनि जोडदार माग गरेको छ ।

बैठकमा हाल कोरोना सन्त्रासका कारण १०–२० प्रतिशत विद्यार्थी घटेको बारेमासमेत छलफल भएको थियो । हाल प्याब्सनमा २२९५ निजी विद्यालयहरु आबद्ध रहेका छन् ।

प्रतिकृया दिनुहोस्