काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न निर्देशन दिएकी छन् ।
मधेश प्रदेशका शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखहरूसँग भर्चुअल माध्यमबाट भएको बैठकमा मन्त्री भट्टराईले परीक्षा सञ्चालनमा कुनै पनि कमजोरी स्वीकार्य नहुने स्पष्ट पारिन् ।
मन्त्री भट्टराईले स्थानीय र प्रदेश सरकारसँग समन्वय र सहकार्यलाई विशेष जोड दिँदै परीक्षालाई सरकार र जनताप्रति जवाफदेही ढंगले सञ्चालन गर्न भनेकी छन् । नियमविपरीत कार्य गर्ने जो कोहीलाई पनि कठोर कारबाही गरिने चेतावनी दिँदै उनले परीक्षाको मर्यादा कायम राख्न नसके शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखहरू समेत जिम्मेवार हुनुपर्ने बताएकी छन् ।
परीक्षाको गुणस्तर कायम राख्न र नक्कललाई निरुत्साहित गर्न मन्त्रालयले विशेष निगरानीको व्यवस्था गरेको छ । मन्त्री भट्टराईले सबै विद्यार्थीले न्यायोचित अवसर पाउनका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताउँदै परीक्षालाई सफलतापूर्वक सम्पन्न गर्न सबै सरोकारवाला निकायहरूको सहयोगको अपेक्षा गरेकी छन् ।