काठमाडौं । नेपाल शिक्षक महासंघले चैत्र १४ गते जारी गरेको सार्वजनिक अपिल प्रति नेपाल शिक्षक संघले गम्भिर आपत्ति जनाएको छ । महासंघका अध्यक्ष बाबुराम थापाले आवद्ध संघसंगठनहरुसँग सल्लाह नगरी अपिल जारी गरेको संघको आरोप छ ।

महासंघका अध्यक्ष बाबुराम थापाले चैत १४ गते एक अपिल जारी गर्दै देशभरका शिक्षक, विद्यालय कर्मचारीहरुलाई एक दिन तलब बराबरको रकम सरकारले स्थापना गरेको राहत कोषमा जम्मा गर्न सार्वजनिक अपिल गरेका थिए । अपिलमा रकम जम्मा गर्नका लागि बैंकको खातानम्बर समेत उल्लेख थियो ।

साथै सो निर्णय सम्बद्ध र आबद्ध सबैसंघसंगठनहरुको सल्लाहमा गरिएको अपिलमा दाबी गरिएको थियो । तर, नेपाल शिक्षक संघले भने परिपत्र जारी गर्दै महासंघका अध्यक्ष थापाको दावीको खण्डन गरेको हो ।

शिक्षक संघले ७७ जिल्ला र सातै प्रदेश समितिलाई परिपत्र गर्दै महासंघको अपिल कार्यान्वयन नगर्न भनेको हो ।

संघका महासचिव सोमनाथ गिरीद्वारा जारी परिपत्रमा भनिएको छ– ‘नेपाली शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघको नाममा अध्यक्षको हस्ताक्षरमा सबै शिक्षक तथा कर्मचारीहरुबाट १ दिनको तलब उपलब्ध गराउनका लागि गरिएको अपिलले नेपाल शिक्षक सङ्घको गम्भीर ध्यानाकर्षण भएको छ । आबद्ध सम्बद्ध संस्थाहरुको सहमतिबाट अगाडि बढ्नुपर्ने महासंघको मूल मर्मविपरीत सबैभन्दा ठूलो आबद्ध संस्था नेपाल शिक्षक संघको सल्लाह र सुझाबलाई बेवास्ता गर्दै सो विज्ञप्ति आएकोले सोको भ्रममा नपरी आवश्यक समयमा उपयुक्त निर्णय गरी यहाँहरुलाई जानकारी गराइने व्यहोरा जानकारी गराउदै सोही बमोजिम गर्नु गराउनु हुन अनुरोध गर्दछु ।’

२०७६ चैत्र १७ गते २१:१८मा प्रकाशित

प्रतिकृया दिनुहोस्