शिवराज नगरक्षेत्रभित्र कार्यरत शिक्षकहरुले शिवराज नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा ८ लाख ८४ हजार ८सय ७९ रुपैयाँ सहयोग गरेका छन् ।

शिक्षकहरुका विभिन्न संघ संगठनका अगुवाहरु आइतबार नगरपालिका पुगी नगरप्रमुख नेत्रराज अधिकारीलाई कोषमा रकम जम्मा गरेको बैंक भौचर हस्तान्तरण गरे ।

शिक्षा शाखा अधिकृत पूर्णबहादुर विश्वकर्मा, शिक्षक महासंघ शिवराज नगरअध्यक्ष मुक्तिनाथ पोख्रेल, नेपाल राष्ट्रिय शिक्षक संगठनका नगरअध्यक्ष गिरीप्रसाद गैरे, एकीकृत अखिल नेपाल शिक्षक संगठन नगरअध्यक्ष चिरञ्जीवी घिघिरेसहितको टोलीद्वारा नगरप्रमुख अधिकारीलाई भौचर हस्तान्तरण गरेका थियो ।

शिवराज नगरभित्रका विभिन्न विद्यालयमा कार्यरत दरबन्दी, राहत, उमावि अनुदान र स्वयंसेवक शिक्षकहरुको ३देखि ५ दिन बराबरको तलब प्रकोप व्यवस्थापन कोषमा जम्मा गरिएको शिक्षा शाखा अधिकृत पूर्णबहादुर विश्वकर्माले जानकारी दिए । दरबन्दी, राहत र उमावि अनुदान शिक्षकहरुको तर्फबाट ८लाख १५ हजार ७सय २९ रुपैयाँ र स्वयंसेवक शिक्षकहरुको तर्फबाट ६९ हजार १सय ५० रुपैयाँ सहयोग भएको विश्वकर्माले बताए ।

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस) बाट उत्पन्न प्रतिकूल अवस्थाबाट दैनिक गुजारा चलाउन नसक्ने ज्यालादारी श्रमिक, अति गरिब, असहाय र विपन्न परिवार तथा कोरेन्टाइनमा बस्नेहरुलाईका लागि राहतमा ऐक्यबद्धता जनाउँदै रकम सहयोग गरिएको नेपाल शिक्षक महासंघका शिवराज नगरअध्यक्ष मुक्तिनाथ पोख्रेलले बताए ।

“मा.वि. द्वितीय र तृतीय शिक्षकहरुको ५ दिन तथा निमावि र प्राविका शिक्षकहरुको ३ दिन बराबरको तलब शिवराज प्रकोप व्यवस्थापन कोषमा सहयोग गरेका हौं”– नेपाल राष्ट्रिय शिक्षक संगठनका नगरअध्यक्ष गिरीप्रसाद गैरेले भने । देश लकडाउन भएको बेला दैनिक ज्यालादारी गरी छाक टार्ने विपन्न तथा असहायको घरमा चुलो बलोस् र कोही पनि भोकै बस्न नपरोस् भन्ने उद्देश्यले शिक्षकहरुको पारिश्रमिक कट्टा गरी विपद्कोषमा रकम सहयोग गरिएको एकीकृत अखिल नेपाल शिक्षक संगठन नगरअध्यक्ष चिरञ्जीवी घिमिरेले बताए ।

यता रकम बुझ्दै नगर प्रमुख नेत्रराज अधिकारीले विषम परिस्थितिमा यसरी शिक्षकहरुले आफ्नो छाक काटेर गरेको सहयोग निकै सह्रानीय रहेको बताए । अहिले विश्वलाई आतंकित बनाएको कोरोना भाइरसका कारण विपन्न र निम्न आय भएका परिवारहरुको दैनिक सरल होस् भनि नगरले दोस्रो चरणको राहत वितरण गरिरहेको नगरप्रमुख अधिकारीले जनाए । सबै क्षेत्रबाट भएको सहयोग रकम विपदमा नै खर्च हुने समेत नगर प्रमुख अधिकारीले उद्घोष गरे ।

२०७७ बैशाख २२ गते ०९:५१मा प्रकाशित

प्रतिकृया दिनुहोस्