काठमाडौं । राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माले शिक्षा नाफा आर्जन गर्ने नभई ज्ञान आर्जन गर्ने क्षेत्रभएकाले यो विदेशमुखी, नाफा र व्यापारमुखी मुक्त हुनुपर्ने बताएका छन् ।

शिक्षालाई प्रविधिमैत्री, व्यवसायमुखी र जीवनोपयोगी बनाउन यसमा प्रशस्त लगानी आवश्यक पर्ने भएकाले आगामी वजेटमा शिक्षा वजेट बढाउन सदनबाट पहल गर्ने उनले स्पष्ट पारेका छन् ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको संक्रमणकालीन वर्तमान नेपालको शैक्षिक मुद्दा र वजेट व्यवस्थापन विषय वृहत भर्चुअल अन्तक्र्रियामा शर्माले वजेटमा शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिनुपर्ने बताए ।

अझैपनि नेपालको शिक्षाले दुईखाले नागरिक उत्पादन गरिरहेको तर्फ संकेत गर्दै उनले शिक्षामा समानता ल्याउन वजेट केन्द्रित हुनुपर्ने बताए ।

शर्माले शिक्षामा इसिडि शिक्षक, विद्यालय कर्मचारी, राहत, अस्थायी, साविक उमावि शिक्षक, द्वन्द्वपीडित शिक्षकमाथि विभेद भइरहेको भन्दै उनीहरुको व्यवस्थापनका लागि आफुले सदनमा निरन्तर आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे ।

सबै समस्या समाधान गरी शिक्षामा आमूल सुधार गर्न धेरै लगानी आवश्यक पर्ने देखिएको भन्दै उनले पूर्वाधारको पनि पूर्वाधार रहेको शिक्षामा लगानी बढाउन सरकारसँग माग गर्ने बताए ।

शिक्षामा सुधार आए समाज, राष्ट्र र विकास निर्माणमा सुधार आउने भन्दे भोलिको मुलुकको समृद्धि आजको शिक्षाको लगानीमा निर्भर रहने स्पष्ट पारे ।

आफुपनि शिक्षण पेशाबाट आएकाले शिक्षकका पीडा सबैभन्दा धेरै थाहा भएको भन्दै उनले शिक्षक वर्गलाई पनि इमान्दारपूर्व कर्तव्य पुरा गर्न आग्रह गरे । शिक्षालाई सबैले कर्तव्यको रुपमा बुझ्नुपर्ने उनको भनाइ थियो ।

२०७७ जेष्ठ ९ गते १०:१७मा प्रकाशित

प्रतिकृया दिनुहोस्