ओखलढुंगा । नेपाली कांग्रेसका उपसभापति एवं पूर्व शिक्षामन्त्री विमलेन्द्र निधिले लकडाउनको समयमा पनि शिक्षकमा शिक्षण सिकाइकै चिन्ता देखिनु सकारात्मक भएको बताएका छन् । सरकारले अनलाइन शिक्षाको कुरामात्रै गरेको अवस्थामा शिक्षकहरु आफैले सूचनाप्रविधिमैत्री बन्न अनलाइन तालिम सञ्चालन गर्नु प्रशंसनीय काम भएको उनले बताए ।

नेपाल शिक्षक संघका निवर्तमान उपाध्यक्ष गोकर्ण बानियाको व्यक्तिगत पहलमा बिहिवार देखि शुरु भएको ४ दिने शिक्षक प्रविधि सिप अभिवृद्धि अनलाइन तालिम कार्यक्रमको उद्घाटन गर्दै उपसभापति निधिले शिक्षकहरु आफै आफ्नो क्षमता अभिवृद्धि गर्न क्रियाशिल रहनुले सार्वजनिक शिक्षामा सुधारको संकेत गरेको बताए ।

बाहिरबाट हेर्दा शिक्षकहरु घरमा छुट्टी मनाएर बसेका देखिएपनि भित्रिरुपमा उनीहरु नयाँ सिर्जना र क्षमता विकासमा जुटेको देख्दा आफूलाई हर्षित बनाएको उनको भनाइ थियो ।

पूर्व शिक्षामन्त्रीसमेत रहेका निधिले शैक्षिक संस्थाहरुलाई लामोसमय पूर्णतः बन्द गरेर राख्न नहुने भन्दै सिकाइ निरन्तरताका लागि सरकारले विकल्पहरु खोज्नुपर्ने धारणा राखे ।

‘सरकारले अनलाइन शिक्षाको कुरा मात्रै गरेको छ त्यसका लागि शिक्षकलाई प्रविधिमैत्री बनाउन कुनै कदम चालेको छैन’– निधिले भने, ‘यस्तो अवस्थामा शिक्षकहरु आफैले प्रविधिमैत्री बन्न तालिम सञ्चालन गरेर आफूहरु शिक्षण सिकाइको सुधार र निरन्तरता प्रति चिन्तित रहेको देखाएका छन् ।’

शिक्षकमा आफै आफ्नो क्षमता र योग्यता सुधार्न पहल हुनुले सार्वजनिक शिक्षामा सुधारको संकेत  मिलेको उनले स्पष्ट पारे । शिक्षकहरु क्षमतावान र गुणस्तरीय बनेपछि नै सार्वजनिक शिक्षापनि गुणस्तरीय बन्ने उनको भनाइ थियो । शिक्षकहरुको क्षमता सुधार्न पहल लिएकामा संघका निर्वतमान उपाध्यक्ष बानियालाई उनले धन्यवादसमेत दिए ।

तालिममा सहभागी हुन थालेका शिक्षकहरुलाईसमेत निधिले अर्थपूर्ण समय छुट्याएर यसलाई उपलब्धिपूर्ण बनाउन सुझाब दिए । सबैठाउँमा अनलाइन शिक्षा सम्भव नभएपनि जहाँ जसरी सिकाइ गर्न सकिन्छ ती माध्यमको प्रयोग गरी विद्यार्थीको सिकाइलाई निरन्तरता दिन उनले शिक्षकहरुसँग आग्रह गरे ।

उद्घाटन कार्यक्रममा बोल्दै नेपाल शिक्षक महासंघ, संघ तथा सार्क शिक्षक महासंघका निर्वतमान अध्यक्ष केशव निरौलाले शिक्षकहरुले वर्तमान प्रतिकुलतालाई चिर्दै नयाँ सिकाइ र सिर्जनाको प्रयास गर्नु अनुकरणीय काम भएको बताए । यसले शिक्षक वर्गको अधिकार र कर्तव्यको अभियानलाई थप बल पुगेको उनको भनाइ थियो ।

शिक्षकमा आफू सक्षम बन्ने, क्षमतावान बन्ने, प्रविधिमैत्री बन्ने हुटहुटी चल्नुले सार्वजनिक शिक्षा सुधारको संकेत गरेको उनको भनाइ थियो । यसले शिक्षकहरु हरेक परिस्थिति र अवस्थामा पनि कर्तव्य पुरा गर्न हर्दम तत्पर रहेको संकेत गरेको निरौलाले बताए ।

नेपाल शिक्षक संघका निर्वतमान उपाध्यक्ष गोकर्ण बानियाले खाली समयमा शिक्षकलाई व्यस्त बनाउन साथै, यसको सकारात्मक सदुपयोग गर्न भनेर तालिमको आयोजना गरेको बताए । अन्य शिक्षकका संघसंगठनहरुले सदस्य शिक्षकहरुको सूचनाप्रविधिमा क्षमता बढाउन तालिम सञ्चालन गरिरहेको भएपनि संघको संघीय समितिले उदाशिनता देखाएकाले आफ्नै व्यक्ति गत पहलमा ४ दिने आइसिटि तालिम आयोजना गरेको बानियाले स्पष्ट पारे ।

तालिममा देशभरका ४ सय शिक्षकहरु सहभागी हुने उनले जानकारी दिए । विहिवार पहिलो दिन ३५० बढीको सहभागीता रहेको र केही जोडिने क्रममा रहेका उनको भनाइ थियो । तालिममा शिक्षकलाई प्रविधिको प्रयोग गरेर शिक्षण सिकाइ गर्न, शैक्षिक सामग्री खोज्न, प्रयोग गर्न, प्रविधिको प्रयोग मार्फत् सिकाइलाई निरन्तरता दिने क्षमता विकास हुने उनले विश्वास व्यक्त गरे ।

बानियाका अनुसार ४ दिने तालिलममा पहिलो दिन पावरप्वाइन्ट। पीडीएफ, प्रिटी–युनिकोड टाइपिङ सिप सिकाइने तथा दोस्रो दिन फाइल एक्टेन्सन, फोटोसप र गुगलका विभिन्न फिचर चलाउने सिप सिकाइने छ ।

यस्तै, तालिमको तेस्रो दिन ब्राउजर, सर्च इन्जिन, ब्लगस्पट, सिकाइ साम्रगी निर्माण गरी युट्युवमा अपलोड गर्न र सिकाइ सामग्री खोजेर डाउनलोड  गर्न साथै चौंथो दिन विभिन्न अनलाइन शिक्षण प्लेटफर्महरुको प्रयोग, मोवाइल वा ल्यापटपबाट सिकाइ, नतिजा, गृहकार्य, छलफल विधिलगायतको सिप सिकाइने बानियाले जानकारी दिए ।

४ दिनसम्म चल्ने शिक्षक प्रविधि सिप अभिवृद्धि अनलाइन तालिममा तालिम संयोजकको भुमिकामा  रमेशबाबु भट्टराई रहेका छन् भने विकल श्रेष्ठले तालिम प्रशिक्षण गर्ने छन् । तालीम जेठ ८ गते देखि ११ गतेसम्म दैनिक १ देखि ३ बजेसम्म सञ्चालन हुने छ ।

२०७७ जेष्ठ ८ गते २१:२०मा प्रकाशित

प्रतिकृया दिनुहोस्