शैक्षिक सुधार एवं भाषा संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ सर्लाहीमा वृहत सांस्कृतिक तथा शैक्षिक महोत्सव आयोजना हुने भएको छ । बागमती नगरपालिकाको आयोजनामा हुन लागेको महोत्सवको फागुन–१२ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने भएका हुन् ।

बागमती नगरपालिका– ११, स्थित स्व. सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा आयोजना हुने महोत्सवमा ३ हजार विद्यार्थीले एकै पटक नृत्य प्रस्तुत गर्ने जनाइएको छ । यसैगरी विद्यार्थीहरुले मानव चित्र, नेपालको नक्सा, झन्डा लगायतको कला प्रदर्शन गर्नेछन् । साथै विद्यार्थीले सातै प्रदेशको मौलिक पहिचान झल्कने भेषभूषा तथा नृत्य प्रस्तुत गर्ने जनाइएको छ ।

नगरपालिकाले शैक्षिक तथा सांस्कृतिक क्षेत्रमा गरेको अभ्यास देशैभरि प्रवाह गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको नगर प्रमुख भरत थापाले जानकारी दिए । शैक्षिक उन्नयन र भाषा संस्कृतिको संरक्षणका क्षेत्रमा नगरपालिकाले गरेका नवीन अभ्यासहरु सबैमाझ ल्याउन महोत्सव आयोजना गरिएको थापाले बताए ।

महोत्सवमा नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयको शैक्षिक स्तरोन्नतिका लागि गरिएका विभिन्न अभ्यासको प्रस्तुति समेत रहने थापाले जानकारी दिए ।

एकदिने चल्ने महोत्सवको शिक्षक, विद्यार्थी अभिभावकसहित एकलाख बढीले अवलोकन गर्ने जनाइएको छ ।

प्रतिकृया दिनुहोस्