सिमकोट । लकडाउनका कारण खाद्यान्न अभावले काठमाडौंमा टिक्न नसकेपछि उद्दार गरिएका १५० हुम्ली विद्यार्थीलाई सुर्खेतको छिन्चुमा खाना खुवाइएको छ । उद्दार गरिएका विद्यार्थीहरुलाई रेडक्रस र युनिसेफ सुर्खेतले खानाको व्यवस्था गरिएको हो ।

यसअघि उद्दार गरिएका हुम्ली विद्यार्थीहरु हप्तौं खनाविनाकै यात्रा गरी हुम्ला पुगेका थिए । यस पटक भने बाटोमा विद्यार्थीहरुको पेटमा अन्न पर्न पाएको हो ।

बिहीबार बेलुका हुम्ली विद्यार्थी लिएर काठमाडौंबाट छुटेको गाडी शुक्रवार सुर्खेत पुगेको र करिब साढे एक बजे उनीहरुलाई खानाको व्यवस्था गरिएको हो ।

भोकले लखतरान भएका विद्यार्थीहरुलाई नेपाल रेडक्रस सोसाईटी र युनिसेफ सुर्खेतबाट प्याकेटमा खाना सहयोग भएको उद्दारमा सहभागी शिब रावलले बताए । उद्दार गरिएका विद्यार्थीहरु केही सिमकोट गाउँपालिकाका पनि रहेका छन् । तर, उनीहरुलाई खार्पुनाथ गाउँपालिकाले उद्दार गरेको हो ।

विहिवार बेलुकादेखि खाना खान नपाएका विद्यार्थीहरुलाई सुर्खेतमा खाना खुवाइएको र त्यसले यात्रामा सहयोग मिलेको रावलले जानकारी दिए ।

यस अघि एजुकेशनपाटीले उद्दार गरिएका हुम्ली विद्यार्थीहरु खालीपेट हप्तौं लगाएर जिल्ला पुगेको समाचार प्रकाशित गरेको थियो भने विहिवार पनि उद्दार गरिँदै भन्ने समाचार प्रकाशित गरेको थियो ।

सो समाचार थाहा पाएका रेडक्रस र युनिसेफले उनीहरुलाई बाटोमा खाना खुवाउने व्यवस्था गरिदिएको हो ।

सामाजिकभाव अनुसार काठमाडौंबाट उद्दार गरि हुम्ला लग्न लागिएका विद्यार्थीहरुलाई खानाको ब्यवस्था गरिएको रेडक्रस सोसाईटी सुर्खेत शाखाले जनाएको छ । अब यी विद्यार्थीहरु सुर्खेत, दैलेख, कालिकोट, जुम्ला हुँदै मुगुसम्म गाडीमा जाने छन् ।

पहिले विद्यार्थीहरु भोकै उद्दार भएको खबर पछि यसपटक गाडीमा काँग्रेस हुम्लाका सभापति जयपति रोकाया, पुर्बसभासद छिमी दोर्जे लामा , इन्जिनीयर उजिर रावतलगायतले कोरोना संक्रमणका बच्नका लागि प्राथमिक उपचारसामाग्रीहरु र चिउरा, दाल्मोट र बिस्कुट, पानी सहयोग गरेका थिए ।

काठमाडौंबाट उद्दार गरिएका विद्यार्थीलाई तीन दिनमा मुगु गाडीले पुर्याउने छ भने तीन देखि चार दिन पैदल हिडेर खार्पुनाथ गाउँपालिकामा पैदल हिड्नु पर्नेछ । बाटो खाना तथा बस्न पाउने सम्भावना न्यून रहेको छ । उनीहरु हुम्ला पुगे क्वोरन्टिनमा बस्नु पर्नेछ ।

प्रतिकृया दिनुहोस्