काठमाडौं । एसईई र कक्षा ११ र १२ को परीक्षाका सम्बन्धमा  सामाजिक सञ्जालमा आएको एउटा ‘फेक’ सूचनाले विद्यार्थीहरुमा भ्रम सिर्जना गराएको छ । राष्ट्रिय परीक्षा बोर्डको नामबाट आएको सूचनामा कक्षा १०  को स्थगित भएको परीक्षा वैशाख २१ गतेदेखि हुने र कक्षा ११ र १२ को परीक्षा निर्धारित मितिमै हुने उल्लेख गरिएको छ ।

यो सूचना सामाजिक सञ्जालमा भाइरल भएपछि यसले सर्वसाधरणमा भ्रम छरेको भन्दै  राष्ट्रिय परीक्षा बोर्डले यसबारे कुनैपनि निर्णय नभएको भन्दै भ्रममा नपर्न आमविद्यार्थी तथा अभिभावकलाई अनुरोध गरेको छ ।

बोर्डका अध्यक्ष डा चन्द्रमणि पौडेलले कोरोना भाइरसको संक्रमणको जोखिमका कारण बोर्डको बैठक नै बस्न नसकेको भन्दै परीक्षाबारे कुनै निर्णय नभएको एजुकेशनपाटीलाई बताए ।

आफूले पनि फेक सूचनाबारे जानकारी पाएको भन्दै उनले अफबाह फैलाउनेलाई कारबाहीको दायरामा ल्याउन प्रहरीमा उजुरी दिनका लागि सदस्यसचिव दुर्गाप्रसाद अर्याललाई निर्देशन दिइसकेको समेत उनले स्पष्ट पारे ।

केही शैक्षिक अनलाइनहरुलेसमेत यसै फेक सूचनाको आधारमा समाचार प्रकाशित गरेपछि अभिभावक र विद्यार्थीमा अन्योलता छाएको थियो ।

बोर्डका अध्यक्ष पौडेलले लकडाउन र कोरोनाको त्रास कति समय लम्बेला भन्नेमै अन्योलता रहेको अवस्थामा अहिले नै परीक्षा तालिकाबारे निर्णय लिन नसकिने बताए ।

उनका अनुसार कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ गतेदेखि र कक्षा ११ को परीक्षा बैशाख २१ देखि तय भएको छ । तर कोरोनाको कारण त्यो समयमा  परीक्षा हुने-नहुनेमै अन्योल रहेको भन्दै अवस्था सहज भएपछि बोर्ड बैठक बसेर आवश्यक निर्णय लिइने  बताए ।

२०७६ चैत्र १९ गते २१:२९मा प्रकाशित

प्रतिकृया दिनुहोस्