काठमाडौँ । नेपाल विद्यार्थी संघले विद्यालय नखुलुञ्जेलसम्म कुनै शुल्क नलिन र अनलाइन कक्षा सञ्चालनका लागि निःशुल्क इन्टरनेटको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई आइतबार ज्ञापनपत्र बुझाउँदै नेविसंघले विद्यालय र क्याम्पसहरुलाई शैक्षिक संस्था नखुलुञ्जेलको अवधिमा शुल्क नलिन निर्देशन दिन माग गरेको हो । सिकाइका लागि अनलाइन, रेडियो, टिभी, पत्रपत्रिका तथा टेलिफोन जस्ता माध्यमबाट आगामी शैक्षिक सञको पठनपाठान सुरु गर्न र इन्टरनेटलगायतका सबै प्रविधिकको निःशुल्क व्यवस्था गर्न नेविसंघले माग गरेको हो । नेविसंघले पुस्तक आयातमा लगाइको कर खारेज गर्नुपर्ने, सामुदायिक विद्यालयका विद्यार्थीका लागि सम्बन्धित क्षेत्रमा पुस्तकको होम डेलिभरी गर्नुपर्ने माग पनि अघि सारेको छ ।
यस्तै सरकारी विद्यालयहरुमा क्वारेन्टाइन निर्माण भएको अवस्थामा निजी विद्यालय खुल्ने कुनै निर्णय नगर्न पनि सरकारलाई आग्रह गरेको छ । कोरोना भाइरसबाट प्रभावित विद्यार्थीहरुलाई परेको मनोसामाजिक समस्या निवारण गर्न गर्न सिर्जनात्मक विकासका कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेट र कार्यक्रम नआउनु दुःखद भएको नेविसंघ अध्यक्ष राजिव ढुंगानाले बताए ।
नेविसंघले कक्षा ११ को परीक्षाफल पनि आन्तरिक मूल्याङकनका अधारमा प्रकाशित गर्न आग्रह गरेको छ । ज्ञापनपत्र बुझ्दै मन्त्री पोखरेलले नेविसंघले उठाएका कतिपय मागहरु कार्यान्वयनको चरणमा रहेको र बाँकी विषयहरुमा छलफल गरी आवश्यक टुंगोमा पुग्ने बताए ।
कान्तिपुरमा खबर छ ।