काठमाडौं । शिक्षा मन्त्रालयले अस्थायी शिक्षक व्यवस्थापनका लागि नयाँ कार्ययोजना अघि सारेको छ । अस्थायी शिक्षकहरुको व्यवस्थापनका लागि झण्डै २८ हजार दरवन्दीमा खुला र आन्तरीक गरी चार किसिमका परीक्षा सञ्चालन गर्ने मन्त्रालयको तयारी रहेको छ ।

पहिलो चरणमा अस्थायी शिक्षकहरुको दरवन्दी विवरण संकलन गर्ने, त्यसपछि उनीहरुलाई परीक्षा दिने या सुविधा रोज्ने भनेर एउटा फारम भर्न लगाउने र त्यसपछि मोटामोटी आएको तथ्यांकको आधारमा सुविधार परीक्षाको प्रकृया शुरु गर्ने मन्त्रालयको योजना रहेको मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले जानकारी दिए ।

अस्थायी शिक्षक विवरण
मन्त्रालयले शिक्षा विभाग मार्फत अस्थायी शिक्षकको विवरण संकलन सुरु गरिसकेको छ । शिक्षा विभागले पनि सवै जिल्ला शिक्षा कार्यालयहरुलाई अस्थायी शिक्षकको संख्या र विषयगत दरवन्दी पत्ता लगाई पठाउन निर्देशन दिइसकेको छ । केहि जिल्लाहरुबकाट त्यस्ता विवरण समेत आइसकेका छन् । केहि जिल्लाहरुबाट भने विवरण आउन ढिलाई भएको विभागले जनाएको छ । सवै विवरण आइसकेपछि बल्ल अस्थायी शिक्षकको संख्या र विषयगत दरवन्दी पत्ता लाग्ने मन्त्रालयले जनाएको छ ।

रोजाई फारम भराउने
शिक्षा विभागले अस्थायी शिक्षाको दरवन्दी विवरण आएपछि फेरी उनीहरुलाई परीक्षामा सहभागि हुने या सुविधा लिएर बिदा हुने भन्ने एउटा रोजाई फारम भराउने भएको छ । विभागले जिशिकाहरु मार्फत हरेक अस्थायी शिक्षकलाई यस्तो फारम भराउन लागेको यो । यो फारम आएपछि बल्ल मोटा मोटी रुपमा कति शिक्षकले परीक्षा दिने र कति शिक्षकले सुविधा लिएर बिदा हुन्छन भन्ने तथ्यांक आउने मन्त्रालयले जनाएको छ । त्यो तथ्यांकको आधारमा कति संख्यामा विज्ञापन गर्ने र सुविधा लिएर बिदा लिने शिक्षकलाई आर्थिक स्रोतका लागि अर्थ मन्त्रालयमा माग गर्ने मन्त्रालयको तयारी रहेको छ ।

२८ हजार विज्ञापन खुलाउने तयारी
मन्त्रालयले उमेर समुहको आधारमा विश्लेषण गर्दै झण्डै २८ हजार दरवन्दीमा विज्ञापन खुलाउने तयारी गरेको छ । तर यो संख्यामा घटबढ हुनसक्ने मनत्रालयका प्रवक्ता डा. लम्सालले बताए । यो संख्या भन्दा बढी र घटी जे पनि हुन सक्छ । लम्सालले भने । शिक्षामन्त्री आएपछि विज्ञापनको प्रक्रिया अघि बढ्ने उनको भनाइ छ ।

चार समुहमा विज्ञापन

पहिलो विज्ञापन
२० पुस २०४९ भन्दा अघि अस्थायी नियुक्त भई अहिलेसम्म नियमित रूपमा सेवा गरिरहेका शिक्षककाको संख्याका आधारमा आन्तरिक विज्ञापन हुने भएको छ । उनीहरुको संख्या पत्ता लगाएपछि उनजहिरुको टाउको गनेर त्यहि संख्यामा विज्ञापन खुलाइने मन्त्रालयले जनाएको छ । यि विज्ञापनमा प्रतिष्पर्धा गर्ने हरेक शिक्षक उत्तीर्ण अंक ४० ल्याए उनीहरु स्वतः स्थायी हुनेछन् ।

दोस्रो विज्ञापन
२० पुस २०४९ देखि २१ साउन ०६१ सम्म रिक्त भई पदपूर्ति हुन नसकेको दरबन्दीको लियन पदमा सोही मितिसम्म अस्थायी शिक्षकका रूपमा नियुक्त वा आधारभूत तह तथा प्राथमिक शिक्षा परियोजनाअन्तर्गत नियुक्त भई नियमित रूपमा कार्यरत शिक्षकका लागि आन्तरिक विज्ञापन गर्ने तयारी भएको छ । यो विज्ञापनमा भने रोजाइ फारमको माटामोटी आकडा अनुसार विज्ञापन गरिने छ । यो विज्ञापनमा पनि उत्तीर्ण अंक ४० ल्याउने शिक्षक स्थायी हुनेछन् ।

तेस्रो विज्ञापन
२२ साउन २०६१ पछि २ असोज २०७२ सम्मको रिक्त पदको ४९ प्रतिशत पदमा त्यस्तो दरबन्दी वा सो दरबन्दीको लियन पदमा अस्थायी वा सट्टा शिक्षकका रूपमा निरन्तर कार्यरत अस्थायी शिक्षकका लागि आन्तरिक विज्ञापन गर्ने तयारी भएको छ । यसमा भने ४० अंक ल्याएर मात्रै पुग्दैन अन्यसँग प्रतिष्पर्धा गर्नपर्ने मन्त्रालयले जनाएको छ ।

चौथो विज्ञापन
२२ साउन २०६१ पछि संविधान जारी हुनुभन्दा अघिल्लो दिन २ असोज ०७२ सम्मको रिक्त पदको ५१ प्रतिशत पदमा खुला विज्ञापन गर्ने तयारी गरेको छ । यसैगरी, २० पुस २०४९ भन्दा अघि अस्थायी नियुक्त भई अहिलेसम्म नियमित रूपमा सेवा गरिरहेका शिक्षकका लागि गरेको आन्तरिक विज्ञापन, २० पुस २०४९ देखि २१ साउन ०६१ सम्म रिक्त भई पदपूर्ति हुन नसकेको दरबन्दीको लियन पदमा सोही मितिसम्म अस्थायी शिक्षकका रूपमा नियुक्तिका लागि गरेको विज्ञापन तथा २२ साउन २०६१ पछि २ असोज २०७२ सम्मको रिक्त पदको ४९ प्रतिशत पदमा हुने विज्ञापनमा भाग नलिई सुविधा लिएर अवकाश लिएका शिक्षकको दरबन्दीमा समेत खुला विज्ञापन हुने भएको छ ।

सुविधा लिएपनि परीक्षा दिन पाउने
विज्ञापनमा भाग नलिई सुविधा लिएर अवकाश लिएका शिक्षकको दरबन्दीमा समेत खुला विज्ञापन हुने भएको छ । शत प्रतिशत आन्तरीक परीक्षामा सहभागि नभई सुविधा लिने शिक्षकले पनि ५१ प्रतिशतको खुला विज्ञापनमा प्रतिष्पर्धा गर्न पाउने मन्त्रालयले जनाएको छ ।

परीक्षा नदिई सुविधा लिनेले के पाउँछन्
आन्तरिक परीक्षामा सहभागी नभई सुविधा लिन चाहने शिक्षकहरुकालागि ऐनले निम्न लिखीत सुविधाहरु तेकेको छ । उनीहरुले,पाँचदेखि १० वर्ष सेवा गरेका भए काम गरेको प्रत्येक वर्षको अन्तिम महिनाको आधा महिनाको तलबबराबर हुन आउने रकम दिने व्यवस्था छ । त्यसैगरी, १० देखि १५ वर्षसम्म सेवा गरेका शिक्षकका लागि उसले काम गरेको प्रत्येक वर्षको अन्तिम एक महिनाबराबर हुन आउने रकम र १५ वर्षभन्दा बढी सेवा गरेको शिक्षकलाई उसले काम गरेको प्रत्येक वर्षको आखिरी डेढ महिनाको तलबबराबर हुन आउने रकम दिने व्यवस्था गरिएको छ ।

२०७३ भदौ ८ गते

प्रतिकृया दिनुहोस्