ललितपुर । नेपाल निवृत्त शिक्षक समाज ललितपुरको अध्यक्षमा देवेन्द्र महर्जन चयन भएका छन् । शनिवार सम्पन्न समाजको तेस्रो जिल्ला अधिवेशनले महर्जनको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
नयाँ समितिको उपाध्यक्षमा लक्ष्मीप्रसाद तिमल्सिना र शारदा श्रेष्ठ, सचिवमा दुर्गामान व्यञ्जनकार तथा कोषाध्यक्षमा रामप्रसाद निरौला चयन भएका छन् । यसै समाजका सदस्यहरूमा माहिला महर्जन, सत्यनाराययण महर्जन, ज्ञानबहादुर देशार, अर्जुन खड्का, हरिश्चन्द्र गौली, सहकुल कार्की, रचना प्रधान तथा क्यानु थापा रहेका छन् ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उद्घाटन गरेको अधिवेशनले ईश्वरबहादुर श्रेष्ठ, गोविन्दप्रसाद पराजुलीलाई केन्द्रीय प्रतिनिधिमा चयन गरेको छ ।
उद्घाटन समारोहमा बोल्दै ललितपुर महानगरपालिकाका मेयर महर्जनले शिक्षक तथा बौद्धिक वर्गले समाजलाई जीवनभर योगदान गरिरहने बताए । शिक्षक र सिकाइ कहिल्यै निवृत्त नहुने भन्दै मेयर महर्जनले सिक्ने र सिकाउने प्रक्रिया जीवनपर्यन्त चलिरहने दाबी गरे ।
शिक्षा विकास तथा समन्वय इकाइ ललितपुरका प्रमुख निमप्रकाश राठौरले शिक्षकहरु सेवाबाट निवृत्त भएपनि सिकाउने काममा कहिल्यै निवृत्त नहुने बताए । जहाँ रहेर पनि शिक्षा र मुलुकको सेवा गर्न सकिने उनको भनाइ थियो ।
कार्यक्रममा नेपाल निवृत्त शिक्षक समाजका महासचिव ईश्वरबहादुर श्रेष्ठले समाज रुपान्तरमा पूर्व शिक्षकको भूमिका र योगदानका विषयमा चर्चा गरेका थिए ।