म्याग्दी। म्याग्दीको बेनी नगरपालिकाको स्थानीय पाठ्यक्रम तयार पारी विद्यालयलाई वितरण सुरू गरिएको छ। विद्यार्थीलाई स्थानीय विषयबस्तुका बारेमा जानकारी गराउने उद्देश्यले नयाँ शैक्षिक सत्रदेखि नगरभित्रका संस्थागत र समुदायिक विद्यालयमा नियमित पठनपाठन हुने गरी नगरपालिका भित्रको सम्रग विषयबस्तुलाई समेटेर कक्षा १ का लागि ‘मेरो नगरपालिका’ नामको पुस्तक विद्यालयमा पठाउन सुरू गरिएको हो।

एकसय पूर्णाङ्कको पुस्तकमा साधारण, एच्छिक अन्तरगत ब्यवसायीक र पर्यटन क्षेत्र गरी ३ खण्डमा विभाजन गरिएको छ। नगरभित्रका १० वटै वडालाई समेटेर ऐतिहासिक,धार्मिक,सामाजिक, सांस्कृतिक, स्थानीय सीप र प्रविधि, पुशपालन र अन्य विविधि विषयहरूलाई पुस्तकमा समावेश गरिएको नगर शिक्षा अधिकृत अर्जुन पौडेलले बताए।

‘विद्यार्थीलाई आफ्नै गाउँठाउको चिनारी गराउने उद्देश्यले स्थानीय पाठ्यक्रम प्रयोगमा ल्याइएको छ,‘पुस्तकले विद्यार्थीलाई आर्कषित गर्ने छ’ पौडेलले भने। स्थानीय विषयबस्तुमा आधारित तस्वीर पनि समेटिएका छन्। एक हजार प्रति छपाई गरिएको पुस्तक पाँच सय प्रति संस्थागत र पाँच सय प्रति सामुदायिक विद्यालयलाई उपलब्ध गराइने छ।

पुस्तक सामुदायिकलाई निःशुल्क र संस्थागत विद्यालयलाई प्रति पुस्तक ३ सय रुपैयाँ मूल्य तोकिएको पाठ्यपुस्तक निर्माण सिमितिका संयोजक एवम् जामुनाखर्क माविका प्रधानाध्यापक सोमनाथ ढुंगानाले बताए। ‘अनुकुल समयमा पुस्तकका बारेमा शिक्षकलाई अभिमुखीकरण कार्यक्रम तय गरिने छ,‘विद्यालयस्तरमा समेत पुगेर सुझाव संकलन हुन्छ’ ढुंगानाले भने।

उनले विद्यार्थीमा आफ्नो क्षेत्रका बारेमा ज्ञान आर्जन गर्ने तथा अपनत्व हुनेगरी स्थानीय ज्ञान, सिप र प्रविधिलाई समेटी स्थानीय पाठ्यक्रम तयार पारिएको बताए। आगामी वर्ष क्रमशः कक्षा १, २, ३, ४ र ५ को पुस्तक तयार पार्न नगरकार्यपालिकाले स्वीकृति समेत दिइसकेको छ। नगरमा संस्थागत १६ र सामुदायिक ५६ विद्यालय छन्। स्थानीय पाठ्यक्रम लागू भएपछि विद्यार्थीले समग्र नगरलाई बुझ्ने मौका पाएको नगरप्रमुख हरिकुमार श्रेष्ठले बताए।

आफू बस्दै आएको ठाउँका धेरै कुरा नजिकबाट बुझन अवसरका लागि नै स्थानीय पाठ्यक्रम लागू गरिएकाले आधारभुत र मावि तहसम्मका विद्यार्थीलाई स्थानीय विषयबस्तुका बारेमा जानकारी आवश्यक रहेको बताए। म्याग्दीसहित साविकको धवलागिरी अञ्चलभित्र बेनी नगरपालिका स्थानीय पाठ्यपुस्तक प्रयोगमा पहिलो भएको छ।

निर्माण समिति गठनसँगै धेरै चरणमा सरोकारवालाहरुसँग छलफल चलाई पाठ्यक्रम तयार पारी लागू गरिएको नगरपालिकाले जनाएको छ। कोरोना भाइरसको जोखिमले विद्यालयमा पठनपाठन बन्द भएको अवस्थामा नगरपालिकाले विद्यालयका प्रधानाध्यापकलाई स्वअध्ययन साम्रागीसहित नगरपालिकाको पुस्तक विद्यार्थीको पहुँचमा पुग्ने गरी आवश्यक योजना बनाउन समेत निर्देशन दिएको छ। नगरपालिकाका प्रमुख श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी, शिक्षा शाखाका उपसचिव शिवप्रसाद रेग्मी, स्रोत ब्यक्ति जयराम सुबेदी,मोहन बानियाँले हालसम्म करिब १५ विद्यालयका प्रअलाई पुस्तक वितरण गरेका छन्।

हरिकृष्ण गौतमले नागरिकमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्