काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सघन आवासीय तालिम (बुटक्याम्प) मा सहभागी हुन आवेदन आह्वान गरेको छ । बुटक्याम्पमा तालिम लिन चाहने बाल विकास शिक्षकहरूलाई आवेदन दिन भनेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चालु आर्थिक वर्षमा एक हजार ५०० बाल विकास शिक्षकहरूलाई बुटक्याम्पमार्फत तालिम सञ्चालन गर्न बजेट विनियोजन गरेको छ । केन्द्रले त्यसका लागि आवासमा बसी उक्त तालिम लिन इच्छुक बालविकास शिक्षकहरूलाई आवेदन दिन भनेको हो ।

त्यसका लागि बालविकास शिक्षकहरुले नियुक्ति मिति, यसपूर्व कुनै तालिम लिएको भए सो तालिमको नाम, अवधि र मिति समेतको विवरण असोज १० गतेभित्र निवेदन माग गर्न भनेको छ ।

यसरी प्राप्त हुन आएको निवेदनको विवरण असोज १५ गतेभित्र सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाईमा पठाउन केन्द्रले अनुरोध गरेको छ । स्थानीय तहबाट बुटक्याम्पमा सहभागी हुन आएका निवेदनहरूलाई जिल्लाको समग्र विवरण राख्न ईकाईहरूलाई निर्देशन दिएको छ ।

केन्द्रले यो वर्ष ओशो तपोवन शैलीमा शिक्षकहरूलाई आवासीय तालिम लिन लागेको हो । शिक्षाको गुणस्तर सुधार तथा शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि केन्द्रले पहिलो पटक यस्तो खालको तालिम सञ्चालन गर्न लागेको हो ।

प्रतिकृया दिनुहोस्