काठमाडौँ । शिक्षकहरुको शान्तिपूर्ण आन्दोलनमा सरकारले बल प्रयोग गरेपछि नेपाल शिक्षक महासंघले आकस्मिक बैठक आह्वान गरेको छ । प्रहरीसँगको झडपसँगै आन्दोलनले उग्र रूप लिएपछि महासंघले आकस्मिक बैठक आह्वान गरेको हो । नयाँ बानेश्वरमा प्रहरीसँग झडपमा एक दर्जनभन्दा बढी शिक्षकहरू घाइते भएका छन् ।
आज दिउँसो तीन बजे बानेश्वरमा रहेको रत्नराज्य माविमा बोलाइएको बैठकमा महासंघका पदाधिकारीहरू, जिल्ला अध्यक्षहरू, आन्दोलन परिचालन समितिका पदाधिकारीहरूलाई बोलाइएको छ। बैठकमा आज भएको घटना तथा समग्र आन्दोलनका विषयमा छलफल हुने महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।
सुवेदीले झडपपछि घाइते भएका शिक्षकहरू उपचार भइरहेको बताए । बढी चोट लागेका शिक्षकहरूलाई उपचारका लागि सिभिल हस्पिटल लैजान भनिएको छ भने सामान्य चोट लागेका शिक्षकहरूलाई आन्दोलनस्थलमै उपचार भइरहेको छ ।
नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले आन्दोलनरत शिक्षक तथा विद्यालय कर्मचारीहरूमाथि लाठी प्रहार गर्नुका साथै पानीको फोहोर हानेको थियो ।