काठमाडौं । प्रदेश ५ सरकारले लकडाउन अवधिमै कक्षा १ देखि ९ सम्मको नतिजा तत्काल प्रकाशन गरी अघिल्लो कक्षा पढाउने योजना बनाएको छ । सामाजिक विकास मन्त्री सुदर्शन बरालले पठनपाठनका सुचारुका लागि  विभिन्न उपायमा छलफल चलिरहेको जानकारी दिए ।

शिक्षा पत्रकार समुहले आयोजना गरेको ‘कोरोना प्रभाव र शिक्षा क्षेत्रमा प्रदेश ५ सरकारको तयारी’ विषयक भर्चुअल प्रेस मिटमा बोल्दै मन्त्री बरालले विभिन्न माध्यमको प्रयोग गरी स्थानीय र केन्द्र सरकारको समन्वयमा विद्यालय तह सुचारु गर्ने योजना सुनाए ।

त्यसको लािग प्रदेश सरकारले कक्षा ९ सम्मको बार्षिक परिक्षाको नतिजा तुरुन्त प्रकाशित गर्नका लागि स्थानीय तहलाई अनुरोध गरिसकेको जानकारी दिए । ‘विभिन्न माध्यमबाट नतिजा प्रकाशित हुन्छ’ मन्त्री बरालले भने, ‘वार्षिक परीक्षाको साटो त्रैमासिक र अर्ध वार्षिक परीक्षाका आधारमा पनि नतिजा सार्वजनिक गर्ने बारे छलफल भइरहेकोछ ।’ उनले लकडाउनकै अवधिमा पनि कसरी शैक्षिक क्रियाकलाप सञ्चालन गर्ने भन्ने बारेमा आफ्ना योजनाहरु यसरी सुनाए ।

निश्चित स्थान शिल गरेर विद्यालय सञ्चालन
मन्त्री बरालले अनलाइन, रेडियो, टेलिभिजनबाट पहुँच पुग्नेलाई सोहीबाट र नपुग्ने विद्यार्थीका निम्ति निश्चित दूरी कायम गरी जहाँ शिक्षक छन् त्यहीँकाले पढाउने व्यवस्था गर्ने जनाएका छन् । ‘पहिला त रेडियो, अनलाइन र टेलिभिजनको पनि पहुँच नपुग्ने विद्यार्थी कहाँ कति छन् ? त्यो पत्ता लगाउँछौं,’ उनले भने, ‘तथ्याङ्क प्राप्त भएपछि उनीहरुलाई निश्चित दूरी कायम गरेर एकै ठाउँमा पढाउने व्यवस्था गरिनेछ ।’  उनले निश्चित स्थानहरुलाई शिल गरेरे शिक्षक–विद्यार्थीको पहिला आरडिटि परीक्षण गरि निश्चित दूरी कायम गरी पठनपाठन सुचारु गराउने योजना सुनाए ।

एपबाट गृहकार्य र सिकाइ
प्रदेश सरकारले लकडाउनमा बालबालिकाको सिकाइमा निरन्तरता दिन शैक्षिक एपको  निर्माण गरेको छ । अब एपबाटै सिकाइ प्रक्रिया अगाडि बढाइने मन्त्री बरालले जानकार िदिए । विद्यार्थीलाई नियमित गृहकार्य दिने  र त्यसको परीक्षण गर्नेकाम पनि एपमार्फत् नै हुने मन्त्री बरालले स्पष्ट पारे । मन्त्री बरालले त्यो एपबाट विद्यार्थीलाई दैनिक गृहकार्य गराउने र शिक्षकले चेक गर्ने व्यवस्थासमेत हुने बताए ।ं एप सञ्चालन हुन सक्ने क्षेत्रको अध्ययन भइरहेको उनले बताए ।

इन्टरनेट, रेडियो र टेलिभिजनबाट कक्षा सञ्चालन
प्रदेश सरकारले लकडाउनको अवधि लम्बिदै गए इन्टरनेट, रेडियो र टेलिभिजन मार्फत् कक्षा सञ्चालन गर्ने तयारी गरेको छ । त्यसका लागि कुन माध्यममा बालबालिकाको पहुँचको अवस्था कस्तो छ ? भन्ने विषयमा मन्त्रालयले कार्यदल बनाई अध्ययन गरिरहको मन्त्री बरालले जानकारी दिए । ‘इन्टरनेट पहुँच हुने स्थानमा भर्चुअल कक्षा सञ्चालन गर्ने योजना छ, उनले भने,‘पहुँच नहुने स्थानमा रेडियोबाट वा अभिभावकबाटै पठनपाठन गर्ने र त्यस्तो पुस्तकहरु तयार गरिदैछ ।’

इन्टरनेट पहुँच विस्तार नभएको क्षेत्रमा टेलिकमसँग सहकार्यमा शैक्षिक गतिविधि सञ्चालन गर्ने योजना रहेको मन्त्रालयले जनाएको छ । तर यो व्यवस्था तत्काल कार्यान्वयनमा भने चुनौति देखिएको छ । सामाजिक विकास मन्त्रालयका उपसचिव थानेश्वर ज्ञवालीका अनुसार सहपाठी शिक्षण विधिबाट अध्यापन गराउने योजनामा पनि छलफल भइरहेको छ। यो योजनामा आफ्नै साथी पढाउने वा माथिल्लो कक्षाकाले तल्लो कक्षाकालाई पढाउने विधि अपनाइन्छ । इन्टरनेट पहुँच नभएका स्थानमा स्वयम्सेवक शिक्षकको समेत व्यवस्थापन गर्न सकिने मन्त्रालयको योजना छ ।

विकल्प पनि खोजिदै
सबै बालबालिकालाई इन्टरनेट, टेलिभिजन र रेडियो कक्षामार्फत समेट्न नसक्ने विषय प्रति पनि प्रदेश सरकार सचेत रहेको मन्त्री बरालले जानकारी दिए । यी साधनका पहुँचमा नभएका बालबालिकालाई सिकाइमा कसरी जोड्ने ? र बिशेषगरी विज्ञान र गणित जस्ता बिषयको ज्ञान सबै बालबालिकामा कसरी प्रदान गर्ने ? भन्ने बिषयमा पनि अध्ययन गरिरहेको र छिट्टै नै त्यसले मूर्तरुप लिने मन्त्री बरालले बताए ।

लकडानको मोडेल परिवर्तन हुन्छ कि, यही मोडेलमा जान्छ भन्ने बिषय टुङ्गो लागि नसकेको हुदा पनि अन्यौल कायम रहेको मन्त्री बरालको भनाई थियो । उनले कोरोनाको प्रभावको अवस्था यही अवस्थामा रहे, लकडाउनको मोडेल परिवर्तन भए केही क्षेत्रलाई कडाई गर्दै स्कुलको पठन पाठन सामाजिक दूरी, शिक्षक विद्यार्थीको स्वास्थ्य जाँच र स्वास्थ्यकर्मीको व्यवस्था गरि संचालन गर्ने सम्भावना पनि रहेको बताए ।

एसईई र कक्षा ११ र १२ को परीक्षा तयारी
एसइइ, कक्षा ११ र १२ को परीक्षाको बिषयमा विभिन्न मोडलहरुमा कुराकानी अघि बढिरहेको उनको भनाई छ । मुख्यगरी आन्तरिक मूल्याङ्कन, विद्यालयले लिने गरेको त्रैमासिक परीक्षा, मुख्य अनिवार्य विषयको मात्रै सानो समूहमा परीक्षा लिने जस्ता मोडेलहरुमा कुरा भइरहेको मन्त्री बरालले बताए । एसईईको परीक्षा नगरी आन्तरिक मुल्यांकनको अंककै आधारमा विद्यार्थीलाई नतिजा दिनुपर्ने विषयमा छलफल भएको छ । ‘होम सेन्टरमै परीक्षा लिने भन्ने पनि योजना छन्, केही उपाय नभए आन्तरिक परीक्षाकै आधारमा विद्यार्थीको नतिजा प्रकाशन गर्न सकिने विकल्प छ, उनले भने ।

सानो कक्षाकालाई सिकाउने यस्तो छ तयारी
ठूला कक्षाकालाई भर्चुअल कक्षा र अन्य विधिबाट सिकाउन सकेपनि साना कक्षाका बालबालिकाहरुको सिकाइ भने चुनौतीपूर्ण रहेको मन्त्री बरालले जानकारी दिए । ‘साना कक्षामा कसरी पठाउने भन्ने चुनौतिहरु छन्, त्यसमा अभिभावक नै पहिलो शिक्षक हुन सक्छन्, उनले भने ।उनले साना बालबालिकालाई कसरी अभिभावक मार्फत् नै घरमा सिकाउन सकिन्छ भनेर अध्ययन भइरहेको जानकारी दिए ।  बरालले दुरशिक्षाको अभ्यास गरिरहेका स्थानीय तहहरुलाई अनुदान दिएर सघाइने समेत स्पष्ट पारे ।

पाठ्यपुस्तक वितरण सहज
पाठ्यपुस्तक वितरणको तयारीसमेत गरिएको प्रदेश सरकारले जनाएको छ । चैत पहिलो साता नै लकडाउन भएका कारण नयाँ पुस्तकहरु बजारमा आइसकेका छैनन् । पुस्तक व्यवसायीहरुले ढुवानी अनुमति दिए सुरक्षित रुपमा पुस्तक वितरण गर्न सकिने जनाउँदै आएका छन् । विद्यालय तहको नतिजा प्रकाशन गरेर पुस्तक वितरण मात्रै गर्न सके विद्यार्थीको पठनपाठनमा त्यति असर नपर्ने अभिभावकहरुले बताउदै आएका छन् ।

प्रदेश ५ मा सामुदायिक र संस्थागत गरी करिब ६४०० विद्यालय र १३ लाख विद्यार्थी छन् ।

शिक्षा पत्रकार समुहको भर्चुअल प्रेस मिटमा सामाजिक विकास मन्त्रालयका उपसचिव थानेश्वर ज्ञवाली, प्रदेश ५ र ६ का साथै काठमाडौका दुई दर्जन पत्रकारहरु सहभागी थिए । पत्रकारहरुले सामाजिक विकास मन्त्री बरालसँग शिक्षा केन्द्रित जिज्ञासाका साथै सुझावहरु राखेको थिए ।

२०७७ बैशाख १२ गते १९:५५मा प्रकाशित

प्रतिकृया दिनुहोस्