पोखरा । गण्डकी प्रदेशमा खेलकुदका पूर्वाधार धेरै बन्ने क्रममा छन्। कतिपय बनिसकेका छन्। खेलकुदका पूर्वाधार मात्रै नभई खेलकुदको विकास गर्ने नेतृत्वदायी भूमिका समेत उत्पादन हुनुपर्छ। व्यवस्थापकीय क्षमता नभएकोले नेतृत्व राम्रो हुदैन्। दक्षतासहितको नेतृत्वले मात्रै खेलुकदको विकास गर्छ। व्यवस्थापकीय क्षमतायुक्त जनशक्ति तयार पार्ने काम भने गण्डकी प्रदेशले गर्ने तयारीमा छ। गण्डकी प्रदेशले गण्डकी विश्वविद्यालय स्थापना गर्दै छ। विश्वविद्यालयले नयाँ पाठ्यक्रमको रुपमा ‘स्पोर्टस साईन्स एण्ड मेनेजमेन्ट’को तयार गरेको छ डिप्लोमा तहमा स्पोर्टस साईन्स तथा मेनेजेमेन्टको पठन पाठन नेपालमै पहिलो हो।

सरकारले स्पोर्टसमा लगानी गरेको छ। तर प्रतिफल आएको छैन्। प्रतिफल नआउनु नै व्यवस्थापकीय नेतृत्वको कमजोरी हो। खेलकुदको विकास पद्धति कमजोर छ। ‘व्यवस्थापकीय क्षमतासहितको नेतृत्वको विकास गर्ने योजनासहित पठन पाठन गराउँदै छौं,’–पाठ्यक्रम तयार गर्ने टोलीका संयोजक डा. प्रकाश प्रधानले भने–‘स्पोर्टस साईन्स भित्र स्पोर्टस मेनेजमेन्टको विधाको पठन पाठन हुन्छ।’ उनका अनुसार कुनैपनि खेल आयोजना र सञ्चालन गर्ने व्यवस्थापक राम्रो नभए खल्लो हुन्छ। नेतृत्वदायी भूमिका खेल्ने जनशक्ति समेत नेपालमा अभाव छ।

पछिल्लो समय खेलकुद उद्योग हो। देशको अर्थतन्त्रलाई चलायमान बनाउने आधार नै खेलकुद उद्योग भएको उल्लेख गर्दै डा. प्रधानले उद्योगको रुपमा विकास हुदै गएको खेलकुदलाई नेतृत्व गर्ने व्यक्ति तयार हुुनुपर्नेमा जोड दिए। ‘सबै नियमन गर्न सक्ने, कमाण्ड गर्ने, मनिटर गर्नसक्ने, सुपरभिजन गर्ने व्यक्तिको खाँचो छ। त्यस्तो व्यवस्थापकीय क्षमताको जनशक्ति तयार गर्न ‘स्पोर्टस साईन्स एण्ड मेनेजमेन्ट’को पठन पाठन शुरु गराउँदै छौं।’ उनको भनाई थियो। उनका अनुसार खेलकुदको विभिन्न तहमा बसेर नेतृत्व गर्ने शैली नहुदाँ खेलकुदको अवस्था दयनीय बन्दै गएको छ।

चार वर्षे कोर्षमा ५२ वटा विषय रहन्छन्। प्रत्येक सेमेष्टरमा दुई वटा गेम(स्पोर्टस) राखिएको छ। ६ सेमेष्टरसम्म गेमहरु छन्। जसमा बढी रुचाईएका, मास स्पोर्टस(भलिबल, फुटबल), युथ स्पोर्टस अन्तर्गत बास्केटबल ह्याण्डबल लगायतका गेमहरु समेटिएको छ। योगा साईन्सलाई पनि समेटिएको छ। एथलेटिक्स, स्वीमिङ, जिमन्याष्टिक तथा पुरानो खेलको रुपमा छेलो तथा आर्चरीलाई समेत पठन पाठनको विषयमा राखिएको छ। ‘२० प्रतिशत मुलधारको व्यवस्थापन(मेन स्ट्रिम मेनेजमेन्ट)को पढाई हुन्छ ,’ उनले भने–त्यो सँगै स्पोर्टस प्लानिङ, रणनीति, मेडिसिन, स्पोर्टस सोसियल, साईकोलोजिकल(मनोविज्ञान), ट्रेनिङ एण्ड कोचिङ, स्पोर्टस पोलिसी, स्पोर्टस मार्केटिङ, स्र्पोटस फाईनान्स, स्पोर्टस इभेण्ट म्यानेजमेट, स्पोर्टस फिटनेस, लगायतको विषयहरु समावेश गरिएको छ।’

सातौं र आठौं सेमेष्टरमा भने विद्यार्थीलाई रिसर्च गर्ने छन्। कोर्षलाई अन्तिम रुप दिइएको छ। ‘कोर्षको ड्राफ्ट तयार गरिएको छ। फाईनल गरेर गण्डकी विश्वविद्यालयलाई बुझाउँछौं।’ पाठ्यक्रम तयार पार्ने टोलीका सदस्य एवं पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराका प्रशिक्षण विभाग सहइन्चार्ज कृष्ण तिमिल्सिनाले भने–‘आगामी माघ फागुनदेखि पठन पाठन शुरु हुने तयारी छ।’ उनले ‘कोच’ उत्पादन गर्ने कोर्ष होईन भन्दै सदस्य तिमिल्सिनाले गण्डकी प्रदेश खेलकुद परिषद अन्तर्गतको खेलकुद विकास प्रतिष्ठान मार्फत तीन महिने तथा एक वर्षे तालिम कोर्ष दिईन सकिने स्पष्ट पारे।

उनका अनुसार सातौं र आठौं सेमेष्टर भने ‘गेम एण्ड स्पोर्टस’ रिसर्च बेस हुने छ। गण्डकी विश्वविद्यालय स्थापनाको लागि तनहुँमा जग्गा उपलब्ध भईसकेको छ। गण्डकी विश्वविद्यालयले विभिन्न आठवटा प्राविधिक शिक्षा शुरु गर्ने योजनासहित ‘स्पोर्टस साईन्स एण्ड मेनेजमेन्ट’को पठन पाठन हुने छ। पाठ्यक्रमको लागि डा. प्रधानको संयोजकत्वमा सदस्यहरु कृष्ण तिमिसिल्ना, नेपाल ओलम्पिक कमिटिका उपध्यक्ष तेजबहादुर गुरुङ, नेपाल राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य खड्ग रानाभाट, मधु सुवेदी तथा प्रा. डा. ध्रुव कार्की(सैनिक विद्यालय काठमाडौंका प्रिन्सिपल) थिए।

धन बस्नेतले नागरिकमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्