काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरूले आज पनि प्रदर्शनलाई निरन्तरता दिएका छन् । मङ्गलवार पनि काठमाडौँको माइतीघर—बानेश्वर सडक खण्डमा शिक्षकहरूले प्रदर्शन जारी राखेका हुन् ।

उनीहरूले विद्यालय शिक्षा विधेयक जारी गर्न माग गर्दै विगत २० दिनदेखि आन्दोलन गरिरहेका छन् । सरकारले तत्काल शिक्षा विधेयक जारी गर्नुपर्ने भन्दै काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरू सरकारले आगामी अधिवेशनबाट जारी गर्ने प्रतिवद्धता जनाउँदा समेत आन्दोलन छोडेका छैनन् । शिक्षकहरूले आन्दोलन राखेपछि सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिएकी थिइन् । तर, शिक्षक आन्दोलन भने रोकिने छाँट देखिएको छैन ।

शिक्षामन्त्री राजीनामासँगै शिक्षकहरूको मागहरु सम्बोधन हुन अझै हसहज देखिएको छ । विभागीय मन्त्री नै नभएपछि शिक्षक आन्दोलन झन् पेचिलो बन्दै गएको छ । विगतमा सरकारले सम्झौता गर्ने तर पूरा नगर्ने गरेकाले यस पटक शिक्षा ऐन जारी नगरेसम्म विद्यालय नफर्किने अडान शिक्षकहरूको छ ।

सरकारले आगामी बजेट अधिवेशन वैशाख १२ गते बोलाएको छ । शिक्षा विधेयक जारी गर्न र शिक्षकहरुका माग पूरा गर्नका लागि अधिवेशन बोलाइएको सरकारले स्पष्ट पारे पनि सरकारको प्रतिबद्धतामा शिक्षकहरू विश्वस्त छैनन् । सरकारले शिक्षा विधेयक जारी गरेकै दिन आफूहरू आन्दोलन छोडेर फर्किने उनीहरूको भनाइ छ ।

शिक्षक तथा कर्मचारीहरुको जारी आन्दोलन र शिक्षामन्त्री भट्टराईको राजीनामाका कारण कतिपयले कक्षा १२ को परीक्षा निर्धारित मितिमा हुनेमा शंका गरेका थिए । तर मंगलबार बिहान बसेको राष्ट्रिय परीक्षा बोर्ड बैठकले कक्षा १२ को परीक्षा निर्धारित समयमै गर्ने निर्णय गरिसकेको छ । बोर्डले शिक्षकले असहयोग गरे बरु निजामती कर्मचारी परिचालन गरेरै भएपनि परीक्षा निर्धारित मितिमै गर्ने स्पष्ट पारिसकेको छ ।

बोर्डले शिक्षकको असहयोगका बावजुद परीक्षा सञ्चालन गर्ने निर्णय गरेपछि आन्दोलनरत शिक्षकहरु भने थप आक्रोशित भएका छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले बोर्डलाई शिक्षक बिना कक्षा १२ को परीक्षा सञ्चालन गरेर देखाउन चुनौती दिएका छन् । अधिकारीले बोर्डको निर्णय लगत्तै सामाजिक सञ्जालमा लेखेका छन्-‘राष्ट्रिय परीक्षा बोर्डलाई परीक्षा संचालन गरेर देखाउन चुनौती दिन्छु ।’

प्रतिकृया दिनुहोस्