अझै सच्चिएन पाठ्यपुस्तकको त्रुटि

Avatar photo

Byएजुकेशन पाटी

२० आश्विन २०७७, मंगलवार

भरतपुर । झन्डै छ वर्षदेखि पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रममा पढाइरहेको कक्षा ७ को नेपाली विषय पाठ ४ मा गम्भीर त्रुटि भेटिएको छ । केन्द्रले नै प्रकाशन गरेको नेपाली किताबको पाठ ४ को आन्तरिक पर्यटन शीर्षकको पाठमा विद्यार्थीलाई गलत जानकारी पढाइएको छ । नेपालीको कक्षा ७ मा आन्तरिक पर्यटन भन्ने पाठको पेज २७ मा यस्तो गल्ती भेटिएको हो । पुस्तकमा भनिएको छ, “रुपन्देहीको लुम्बिनी, पर्साको वाल्मीकि आश्रम, बाराको गढीमाई, धनुषाको जानकी मन्दिर, सप्तरीको छिन्नमस्ता, चितवनको देवघाट प्रख्यात छन् । ”

देवघाट चितवन हुँदै जाने भए पनि यो तनहुँमै पर्छ । धार्मिक क्षेत्र देवघाट तनहुँको देवघाट गाउँपालिकामा पर्छ । यो चितवन र नवलपरासीको सीमा क्षेत्रसँग जोडिएको छ । चितवनकै बालकुमारी उच्च माध्यमिक विद्यालयकी नेपाली विषयकी शिक्षक गीता पौडेल पाठमा गलत नै भएको बताउनुहुन्छ । “पाठ्यक्रमको पाठमै गल्ती भएपछि शिक्षकहरूले त पाठ्यक्रम नै पढाउने हो । यसले विद्यार्थीले गलत कुरा सिकिरहेका छन् भन्ने देखाउँछ”, उहाँले भन्नुभयो ।

चितवनकै स्मल हेभन स्कुल भरतपुरकी नेपाली विषयकी शिक्षक विष्णु अर्याल पाठमा गलत भए पनि आफूहरूले भने विद्यार्थीलाई सही सूचना दिइरहेको बताउनुहुन्छ । “वाल्मीकि आश्रम पर्सामा र देवघाट चितवनमा पर्छ भनेर पाठमा छ, यो गलत हो । पाठमा गल्ती भए पनि हामीले विद्यार्थीलाई देवघाट तनहुँमा र वाल्मीकि आश्रम चितवनमा पर्छ भनेर पढाइरहेका छौँ”, उहाँले भन्नुभयो । यसका साथै वाल्मीकि आश्रम चितवनको माडी नगरपालिकामा पर्छ । चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने यो ठाउँ भारतसँगको सीमा क्षेत्रमा रहेकाले नवलपरासीको त्रिवेणी हँुदै भारतको बाटो भएर यहाँ पुग्न सकिन्छ । यो ठाउँमा ऋषि वाल्मीकिले ज्ञान आर्जन गरेको, रामायण लगायतका धार्मिक गन्थ रचना गरेको, सीताले लवकुश जन्माएको स्थान भएको धार्मिक विश्वास छ ।

पाठ्यक्रमविज्ञ प्रा.डा. तीर्थराज पराजुली विद्यार्थीलाई यसरी गलत जानकारी पढाउनु अपराध नै भएको तर्क गर्नुहुन्छ । “पुस्तकका लेखकमा भएको अल्पज्ञान र विषयवस्तु सम्पादन गर्ने सम्पादकमा विषयका बारेमा जानकारी नहँुदा नै पाठमा त्रुटि हुने हो”, उहाँले भन्नुभयो । विद्यार्थीलाई गलत विषय पढाएर अपराध गर्ने छुट कसैलाई नहुने उहाँको टिप्पणी छ ।

पाठ्यक्रम विकास केन्द्रले २०७१ सालमा प्रकाशन गरेर यो किताब पाठ्यक्रममा राखेको हो । यसको पुनर्मुद्रण २०७५ सालमा भएको हो । प्रा.डा. बद्रीविशाल भट्टराई र प्रा. लालनाथ सुवेदीले लेख्नुभएको यो पुस्तकमा विषयवस्तुको सम्पादन रजनी धिमाल र भाषा सम्पादन हरिप्रसाद निरौलाले गर्नुभएको छ । “त्रुुटि सच्याउन दिइसकिएको हो, अझै सुधार हुन सकेको रहेनछ”, प्रा.डा. भट्टराईले भन्नुुभयो । सामुदायिक विद्यालय व्यवस्थापन महासङ्घका अध्यक्ष कृष्ण थापा पाठ्यक्रममा देखिएको त्रुटि सच्चाउनैपर्ने बताउनुहुन्छ । “विद्यार्थीलाई गल्ती पढाउन पाइँदैन, यो तत्काल सच्चाउनुपर्छ”, उहाँले भन्नुभयो । पाठ्यक्रम विकास केन्द्रका प्रवक्ता गणेश भट्टराई पाठ्यक्रममा भएको त्रुटि सच्याउन सकिने बताउनुहुन्छ । आगामी नयाँ शैक्षिक सत्रमा भने किताबमै भएको त्रुटि सच्चाएर छाप्न सकिने उहाँले बताउनुभयो ।

वसन्त पराजुलीले गोरखापत्रमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्