काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तत्काल विद्यालय नखुल्ने भन्दै बालबालिकालाई घरमै सिक्ने वातावरण बनाउन लागिपरेको जनाएको छ ।

शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले आइतवार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीज्यूको जेठ १२ को सम्बोधन र निर्देशनलाई ध्यान दिँदै महामारीको स्थिति र अवस्था हेरी विद्यार्थीहरूको पठन पाठनलाई विभिन्न माध्यम प्रयोग गरी सुचारू राख्ने तथा स्थगन भएका परीक्षाहरू सञ्चालन गर्ने सम्बन्धमा आवश्यक र उपयुक्त निर्णय लिने गृहकार्यमा मन्त्रालय निरन्तर लागिरहेको जनाएका हुन् ।

शिक्षा क्षेत्रमा प्रविधिको व्यापक प्रयोग गर्दै विद्यार्थीको सिकाइलाई सुचारु गर्नका निम्ति विभिन्न माध्यम अवलम्बन गरी विद्यार्थीलाई घरमै सिक्ने वातावरण बनाउन सरकार लागि परेको भन्दै शिक्षामन्त्री पोखरेलले  यसलाई सफल पार्न सम्बद्ध सबैले आ–आफ्नो ठाउँबाट सकारात्मक भूमिका खेलिदिनु आग्रह गरेका छन् ।

लामो समयसम्म पढाइ अवरुद्ध भएको कारण पुग्न जाने शैक्षिक क्षतिलाई न्यूनीकरण गर्नु अपरिहार्य रहेको सन्दर्भमा विद्यालय जाने उमेरका बालबालिकाको नियमित पठन–पाठनको सहज अवस्था सिर्जना गर्नका लागि दूर तथा खुला शिक्षा लगायत वैकल्पिक प्रणालीबाट सिकाइमा सहजीकरण गर्न हालै यस मन्त्रालयबाट ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने सम्बन्धी निर्देशिका, २०७७’जारी गरिएको शिक्षामन्त्रीले स्पष्ट पारेका छन् ।

नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सिफारिस र नेपाल सरकार मन्त्रिपरिषदको निर्णय अनुसार मात्र शैक्षिक संस्था पुनः सञ्चालन हुने उनले स्पष्ट पारेका छन् ।

प्रतिकृया दिनुहोस्