सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका सामुदायिक विद्यालय खुल्न थालेका छन् । कोभिड १९ को संक्रमणबारे उच्च सर्तकता अपनाएर सामुदायिक विद्यालयमा शिक्षण शुरु गरिन थालिएको छ । लकडाउन र निषेधाज्ञाको लामो समयपछि सरकारी विद्यालयमा पठनपाठन शुरु गर्न थालिएको छ ।

बलेफी गाँउपालिका, त्रिपुरासुन्दरी गाँउपालिकाका सामुदायिक विद्यालयमा शिक्षण शुरु गरिएको छ । अन्य १० स्थानीय तहले आफ्नो गाँउ, नगरभित्रको सामुदायिक विद्यालयमा पनि शिक्षण सिकाई शुरु गर्ने जनाएका छन् । सुनकोशी गाँउपालिकाको गाँउ शिक्षा समितिले असोज १२ गतेबाट पालिकाभित्रका सामुदायिक विद्यालयको विद्यार्थी सिकाई सहजीकरणको व्यवस्था मिलाउनलाई सबै विद्यालयलाई निर्देशन दिएको छ ।

बलेफी गाँउपालिका ७ खाडीचौरमा रहेको बालशिक्षा माध्यमिक विद्यालयले शिक्षण सिकाई शुरु गरेको छ । उक्त विद्यालयले कक्षा ९ र १० को पढाई शुरु गरेको प्रधानध्यापक बासु पौडेलले जानकारी दिनुभयो । सो विद्यालयमा कक्षा १० मा ६७ भन्दा बढी भर्ना भएका छन् । कक्षा ९ मा ५५ जना विद्यार्थी भर्ना भएका छन् । भर्ना हुने क्रम जारी रहेको छ । प्रअ पौडेलका अनुसार विद्यार्थी संख्या बढेसँगै सो विद्यालयलाई कोभिड १९ को ठूलो चुनौती रहेको छ । सो भयका कारण उक्त विद्यालयले विद्यार्थीलाई अनिवार्य मास्क लगाएर आउनुपर्ने नियम बनाएको छ । साथै विद्यालय प्रवेश गर्नुपूर्व गेटमा साबुन पानीले हात धुन र ब्रेकटाइममा पनि अनिवार्य हात धुन पर्ने नियम बनाएको छ । कक्षा ५ देखि ८ सम्मको कक्षा अनलाइनमा शिक्षण गराउँदैं आएको छ । तर सबै विद्यार्थीमा इन्टरनेटको पहुँच रहेको छैन ।

यस्तै १२ वटा नै स्थानीय तहले विद्यालय खुलाउने तयारी गरिरहेका छन् । दर्जनौं विद्यालयले अनलाइनबाटै शिक्षण सिकाई गरिरहेका छन् ।

चित्र मिजारले गोरखापत्रमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्