काठमाडौँ । कोरोना भाइरसका सङ्क्रमित राख्ने गरी सामुदायिक विद्यालयमा क्वारेन्टाइन बनाउने क्रम बढेपछि यसले शैक्षिक क्षेत्रमा गम्भीर र दूरगामी असर पार्ने देखिएको छ ।

विद्यालयमा क्वारेन्टाइन बनाउँदा विद्यालय पुनः सञ्चालन गर्ने सरकारी नीति कार्यान्वयनमा समस्या आउने, वैकल्पिक विधिबाट पठनपाठन हुन नसक्ने तथा माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीको अन्तिम मूल्याङ्कनमा समेत असुविधा भएकाले यसमा विकल्प खोज्नुपर्ने आवश्यकता सम्बद्ध क्षेत्रका व्यक्तिहरूले आँैल्याउनुभएको छ ।

हालसम्म चार हजार ५२२ वटा विद्यालयमा क्वारेन्टाइन र ६७ वटामा आइसोलेसन कक्ष निर्माण गरिएको छ । विद्यालयमा अब यसरी नै क्वारेन्टाइन निर्माण गर्ने र अन्य विकल्प नखोज्ने हो भने नेपालको विद्यालय क्षेत्रका पठनपाठनमा नराम्रो धक्का लाग्ने जनाइएको छ ।

समुदायका अन्य भवन प्रयोग गरौँ
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घका अध्यक्ष कृष्ण थापाले विद्यालयभन्दा अन्य क्षेत्रमा क्वारेन्टाइन बनाउनुपर्छ भन्ने आफूहरूको माग रहेको बताउनुभयो । यसका लागि वडास्तरमा रहेका वडाका भवन, सामुदायिक भवन तथा धेरै स्थानमा खाली रहेका कृषि तथा वन कार्यालयका भवन प्रयोग गर्नु उपयुक्त हुने सुझाव आफूहरूको रहेको उहाँको भनाइ छ । यही क्रमबाट विद्यालयमा क्वारेन्टाइन बनाउने तर विकल्प नसोच्ने हो भने हजारौँ विद्यालय क्वारेन्टाइन बन्ने अवस्था आउन सक्ने र यो धेरै भयावह हुने उहाँले बताउनुभयो ।
विद्यालयका क्वारेन्टाइनमा बिरामीको मृत्यु भएमा धेरै बालबालिकामा विद्यालय पुनः आउन मनोवैज्ञानिक त्रास हुने र यसबाट उनीहरूले कक्षा छाड्ने दर वृद्धि हुनसक्ने चिन्ता उहाँले व्यक्त गर्नुभयो ।

एसईईको नतिजामा समस्या पर्न सक्ने
विद्यालयलाई क्वारेन्टाइन बनाउने क्रम बढ्दा एसईईका विद्यार्थीको आन्तरिक मूल्याङ्कन गर्न विद्यालयलाई समस्या पर्ने देखिएको छ । चार हजार ५०६ वटा विद्यालयमा क्वारेन्टाइन बनाउँदा प्रधानाध्यापक तथा शिक्षकलाई विद्यालय जान र आवश्यक काम गर्न समस्या हुने भएकाले यसबाट एसईईको नतिजा प्रकाशनमा समस्या पर्ने जनाइएको छ । विद्यालयले असार २० भित्र विद्यार्थीको आन्तरिक मूल्याङ्कन गरी जिल्लास्थित समन्वय एकाइमा पठाउनुपर्ने समयसीमा तय गरिएको छ । तर धेरै विद्यालयबाट विद्यार्थीको अन्तिम मूल्याङ्कन आउन समस्या हुनसक्ने अवस्था देखिएको छ ।

नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले विद्यालयमा क्वारेन्टाइन बनाउँदा धेरै खालका समस्या देखिएकाले अब यो क्रम बढाउन नहुने र विकल्प खोज्नुपर्ने बताउनुभयो । यस विषयमा महासङ्घले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको ध्यानाकर्षण गराइएको जनाएको छ । विद्यालयको डेस्क, बेन्च, खानेपानी, शौचालय, कक्षा कोठा तथा खुला परिसर पनि क्वारेन्टाइनमा प्रयोग हुने भएकाले धेरै सावधानी अपनाउनुपर्ने अवस्था देखिएको सम्बद्ध व्यक्तिहरूले आँैल्याउनुभएको छ ।

विकल्प खोज्दै सरकार
सरकारले सकभर विद्यालयलाई क्वारेन्टाइन बनाउने नीति नरहेको र यसको विकल्प खोज्नेतर्फ प्रयास भइरहेको जनाएको छ । शिक्षा तथा मानव विकास स्रोत केन्द्रका निर्देशक गेहनाथ गौतमले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितलाई होम क्वारेन्टाइनमै राख्ने सरकारी नीति भएकाले हाल कायम क्वारेन्टाइन बिस्तारै खाली हुँदै जाने देखिएको बत(ाउनुभयो । केही जिल्लामा क्वारेन्टाइन बनाइएका विद्यालय खाली हुँदै गएको जानकारी उहाँले दिनुभयो ।

सरकार विद्यालय पुनः सञ्चालनको गृहकार्यमा समेत लागेको र विद्यालय खोल्दा सबै विद्यालय एकै पटक खोल्नुपर्ने भएकाले पनि विद्यालयमा क्वारेन्टाइन अब लामो समयसम्म नरहने विश्वास उहाँले व्यक्त गर्नुभयो । कुनै विद्यालयमा पठनपाठन चल्ने तर कुनै विद्यालयलाई क्वारेन्टाइनका रूपमा राख्नु व्यावहारिक हिसाबले समेत अमिल्दो महसुस हुने उहाँको भनाइ छ ।

शेषकान्त पण्डितले गोरखापत्रमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्