काठमाडौँ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) मा दिव्यासिंह शाहलाई डिन नियुक्ति गर्ने निर्णय सच्याउन माग गरेका छन् । वरिष्ठता मिचेर गरिएको नियुक्ति आफूलाई स्वकार्य नहुने उनले प्रस्ट्याए ।

शुक्रबार विज्ञप्ति जारी गरेर केसीले वरिष्ठताभन्दा पनि निकटताको आधारमा डिन नियुक्ति गरिएकोले आपत्ति जनाएका हुन् । ‘कुनै पनि नियुक्ति दलीय वफादारीका आधारमा नभई वरिष्ठताका आधारमा गर्न तथा वरिष्ठताको आधारबिना भएका नियुक्ति सच्याउन सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गर्दर्छौं,’ उनले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘त्यसो नभएमा यी सारा समस्याका जडका रुपमा रहेको ओली–प्रचण्ड मनपरीतन्त्रविरुद्ध कडाभन्दा कडा आन्दोलन गर्न बाध्य हुनेछौं ।’

प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहालले डिन नियुक्तिको जिम्मेवारी लिनुपर्ने उनले जनाए । भागबन्डाका कारण धराशायी हुने अवस्थामा पुगेको आईओएम वरिष्ठताका आधारमा डिन नियुक्ति हुन थालेपछि उल्लेख्य सुधार भएको उनले बताएका छन् ।

चिकित्सा शिक्षाका क्षेत्रमा भएका सुधारलाई उल्टाएर समस्या सिर्जना गर्न लागिएको उनको दाबी छ । डा. केसीले भनेका छन्, ‘वरिष्ठताका आधारमा हुने नियुक्तिलगायत सुधारका जति काम पनि अहिलेसम्म भए, ती उल्ट्याउन सके फेरि माफियाराज चलाउन पाइन्थ्यो भनेर नै अहिले आईओएमजस्ता नियामक निकायहरुलाई धराशायी बनाउने प्रयास भइरहेको छ ।’

वरिष्ठताका आधारमा ३३ औं नम्बरमा रहेकी शाहलाई त्रिवि कार्यकारी परिषद्ले बुधबार डिन नियुक्त गरेको थियो । उनी प्रधानमन्त्री ओलीको निजी चिकित्सक हुन् । प्रधानमन्त्रीले नै आफूखुसी शाहलाई डिन नियुक्त गरेको केसीको आरोप छ ।

‘वरिष्ठताको आधार लत्याएर डिन नियुक्ति भएकोमा हाम्रो गम्भीर आपत्ति छ । यसबाट व्यक्ति विशेषको नियुक्ति हुने वा नहुने भन्दा पनि वरिष्ठताको आधार भत्किने र सरकारलाई आफूखुसी कार्यकर्ताहरु भर्ती गर्न बाटो खुल्ने अवस्था सिर्जना भएको छ,’ उनले भने, ‘अहिले नै पार्टी कार्यकर्ताहरु आईओएमका विभिन्न पद हत्याउन मुसा दौडमा संलग्न भइसकेका छन् । तीमध्ये सबैभन्दा अक्षम र संस्थालाई दोहन गर्न पल्केका कार्यकर्ताहरु अहिले पद पाउन नेता रिझाउन लागि परेका छन् । त्यसो हुँदा संस्था फेरि धराशायी हुने निश्चित छ ।’

डिनसँगै त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशक लगायतको पदमा भागबन्डाको आधारमा नियुक्ति बाँड्न लाएको जानकारी आफूले पाएको केसीको दाबी छ ।

कान्तिपुरमा खबर छ ।

 

प्रतिकृया दिनुहोस्