काठमाडौं। नेपाल शिक्षक महासंघले तत्काल संघीय शिक्षा ऐन जारी गर्न भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएको छ। महासंघले सोमबार संघीय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित पूर्व सहमतिको स्मरण गराउँदै प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको हो।

महासंघले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसँग २०७८ फागुन ९ गते भएको ५१ बुँदा सहमति कार्यान्वयन नभएको विषय पनि प्रधानमन्त्रीलाई स्मणर गराएको छ ।

ध्यानाकर्षण पत्रमा लामो समयदेखि समाधान हुन नसकेको देशका थुप्रै समस्याका साथै शिक्षा र शिक्षक कर्मचारीका सम्पूर्ण समस्याहरुको समाधान प्रधानमन्त्रीकै कार्यकालमा हुने आशा महासंघले राखेको छ । महासंघसँग भएको ५१ बुँदे सहमति कार्यान्वयनमा आउन सके स्थायी, अस्थायी–करार, राहत, साविक उमावि, बालकक्षा, विशेष शिक्षा, शिक्षण सिकाइ अनुदान लगायत सबै खाले शिक्षक र विद्यालय कर्मचारीका सबै मुख्य समस्याको सम्बोधन हुने पनि प्रधानमन्त्रीलाई अवगत गराइएको छ ।

ती ‘सहमतिको कार्यान्वयन नेपालको विद्यालय शिक्षाको समयोचित विकासमा विशेष सकारात्मक फड्को हुने महासंघले जनाएको छ । यसबाट एकै खालको सेवा, शर्त र सुविधा पाउने शिक्षक तथा शिक्षकको जस्तै सुविधा पाउने विद्यालय कर्मचारीको प्रबन्ध गर्ने नेपाल शिक्षक महासंघको अभियान पनि सार्थक हुने ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्