काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षकको अवकाशित उमेरहद ६३ वर्ष पुर्याउन माग गरेको छ ।

शिक्षा मन्त्रालयसँग चलिरहेको निर्णायक वार्तामा शिक्षकको उमेरहद ६० बाट ६३ वर्ष पुर्याउन महासंघले अडान राखेको हो । शिक्षा मन्त्रालयपनि संघीय शिक्षा ऐनमा यस्तो व्यवस्था गर्न सकारात्मक बनेको महासंघका अध्यक्ष बाबुराम थापाले बताए ।

‘टुंगो नै त लागेको छैन तर मन्त्रालय शिक्षकको अवकाशित उमेरहद ६३ वर्ष पुर्याउन सकारात्मक देखिएको छ ।’ थापाले भने ।

राहत, इसिडी, साविक उमावि शिक्षक तथा विद्यालय कर्मचारीहरुको दरवन्दी सिर्जना गरी तत्काल स्थायी प्रक्रिया लग्न भन्दै सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको शिक्षक महासंघलाई २२ घण्टा बित्न नपाउँदै शिक्षा मन्त्रालयले वार्तामा बोलाएको थियो ।

गत मंगलवार महासंघले शिक्षक कर्मचारीको माग पुरा गर्न भन्दै २४ घण्टे अल्टिमेटम दिएको थियो । तर, बुधवार शिक्षा मन्त्रालयले वार्तामा बोलाएको हो । बुधवार र विहिवार शिक्षा मन्त्रालय र शिक्षक महासंघका प्रतिनिधिहरुबिच वार्ता भएको थियो ।

वार्तामा १० वर्ष सेवा गरेका स्थायी शिक्षकहरुको सामुहिक बढुवा गर्न, योग्यता पुगेका शिक्षकहरुको माथिल्लो तहमा बढुवा गर्न र शिक्षकहरुको विशिष्ट श्रेणीको व्यवस्था गर्न पनि मन्त्रालय सकारात्मक देखिएको महासंघका अध्यक्ष बाबुराम थापाले जानकारी दिए ।

शिक्षा ऐनमा शिक्षकहरुको लाइसेन्स र तालीम दिन टिचिङ काउन्सिलको व्यवस्थ ागर्न समेत शिक्षा मन्त्रालय सकारात्मक देखिएको थापाले जानकारी दिए । ऐनमा ल्याउँदा ढिलाइ हुने भन्दै तत्काल इसिडी शिक्षक र विद्यालय कर्मचारीको तलब सुविधा बढाउन तत्काल नियमावलीमा व्यवस्था गर्नुपर्ने विषयमा वार्तामा छलफल भएको अध्यक्ष थापाले जानकारी दिए ।

यस्तै केही दिनमै मन्त्रिपरिषद् पास हुन लागेको राष्ट्रिय शिक्षा नीतिमा शिक्षकहरुको सुविधा अन्यभन्दा बढाउन र इसिडी र विद्यालय कर्मचारीको सेवासुविधा बढाउन मन्त्रालय सकारात्मक देखिएको थापाको भनाइ थियो ।

धेरै अस्थायी शिक्षकहरु  स्थायी भएपनि उमेरहदका कारण पेन्सन नपाउने सम्भावना थियो । यदि शिक्षकको उमेरहद ६३ वर्ष पुगे धेरै शिक्षकहरुले पेन्सन सुविधा पाउने छन् ।

२०७६ साउन ३२ गते १२:१४मा प्रकाशित

प्रतिकृया दिनुहोस्