आमा म आज रातै फूलकी छुँ

Avatar photo

Byएजुकेशन पाटी

१५ आश्विन २०७७, बिहीबार
चन्द्र बडुवाल

आमा म आज रातै फूलेकी छुँ ।
हेर्नुस् त
जस्तो वनभरी लालिगुराँस फुल्छ
जस्ता बारी भरी गुलाव, ,सयपत्री
अनि पानी भरी कमल र वाटरलिलीहरु फुल्दछन्
के फूल मन नपराउने मानिसहरु पनि
बस्छन् र हाम्रो समाजमा आमा ?
यदि त्यस्ता मानिस छैनन् भने
किन हँसिया प्रहार गर्दैछन् मेरै फूलको बोटमा
र पठाउँदैछन् आफूबाटै छुट्याएर टाढा
त्यो डरलाग्दो छाउगोठमा

आमा बिन्ती छ
म सफा कोठा र अँगेनीमा नै बस्छु है
किनकी म आज रातै फूलेकी छुँ ।

तिमीले नै उमारीदिएकी यो बोट मा खुसी झुल्दा
कोपिला हुदैँ यसरी ढकमक्क रातै फुल्दा
तपाँई पक्कै खुसि हुनुहुन्छ होला नी हैन
यो खुसी मेरा बाबालाई पनि बाँड्नुस् है आमा ।

मलाई थाहा छ आमा
रातै फूल्नुु भनेको श्रृष्टिको रक्षा गर्नु हैन र ।
आफू जस्तै अर्को फल फलाउनु हैन र
जसरी तपाईँले मलाई यो संसार देखाउनु भो
त्यसैगरी मैले पनि कसैलाई
यो संसारमा ल्याउनु होइन र ।

तपाईँ नै भन्नुस् त आमा के फूल बिना
फल फलाउन सम्भव छ यो धर्तीमा ?

हो ,
आमा म आज हाम्रै लैनी गाइको
दुध दहि र घ्यू खान्छु
यो फूल सफा गर्न
हाम्रै त्यो पानी खाने पँधेरामा जान्छु है
किनकी म आज रातै फूलेकी छुँ ।

मैले देखेकी छु आमा
म जस्तै कैयौँ संङ्गीनीहरु
यसरी नै म जस्तै फूल्दा
कैयौँ आमा बाबाले फ्ुलको सुगन्ध नबुझेर
छिःछिः र दुर दुर को व्यवहार गरेर
भैँसी गोठमा सुताउँदा
भैँसिले नै कुल्चेर ज्यान गएको छ नी ।।

तपार्इँलाई पनि त थाहा छ नि है आमा
पोहोरसाल जेठाबाकी छोरी रातै फूल्दा
राति बारीमै सुतेको बेला
सर्पले डसेर मृत्यु भयो नी है ।

आमा याद छ
अस्ति मात्र रातै फूलेको बेला
हाम्रै सानिमाकी छोरीलाई
भेडीे गोठमा एक्लै बसाउँदा
पेट दुखेर मरेकी हैन र

यति सबै कुरा देखेकी र भोगेकी मेरी आमा
बिन्ती छ
मलाई नपठाउनुस् है छाउगोठमा
सुत्न दिनुस् यहि मेरै कोठामा
किनकी म आज रातै फूलेकी छुँ ।

 

आमाले बिर्सिनु भयो
अस्ति भर्खर मात्रै हाम्रो गाउँ पनि
छाउगोठ मुक्त भयो नी
सबैकी छोरी यसैगरी रातै फूलेको बेला त
झन् मिठो खाना चाहिन्छ,
सफा नाना चाहिन्छ
प्रशश्त आराम चाहिन्छ
अनि बढी सरसफाई चाहिन्छ नि

कति धेरै मेरी संगीनीहरुको ज्यान लिएको
त्यो चिहान समान अँध्यारो कालो छाउगोठमा
बिन्ति छ मेरी आमा
मलाई नपठाउनुस् है ।

आमा
यदि म त्यो कालकोठरीमा नजाँदा
यी देउता रिसाउँछन् भने
यी समाजका मानिस घुणा गर्छन् भने
म तपाईँले जस्तो गरी अन्याय सहन सक्दिन
बरु मर्छु
तर तिनीहरुसँग लड्छु

बिन्ती छ आमा
मलाई त्यो कालकोठरीमा नपठाउनुस् है
किनकी म आज रातै फूलेकी छुँ ।

 

प्रतिकृया दिनुहोस्