काठमाडौँ । सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच वार्ता सुरु भएको छ । बेलुकी पौने ७ बजे गृह मन्त्रालयमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा सरकारी टोली र शिक्षक महासंघका प्रतिनिधिसँग औपचारिक वार्ता सुरु भएको हो ।

वार्तामा अर्थमन्त्री प्रकाशरण महत, कानुनमन्त्री धनराज गुरुङ, शिक्षामन्त्री अशोक राई, सञ्चारमन्त्री रेखा शर्मासहित ती मन्त्रालयका सचिवहरु सहभागी छन् । यस्तै महासंघको तर्फबाट महासंघकी अध्यक्ष कमला तुलाधर, महासचिव लक्ष्मीकिशोर सुवेदी, आन्दोलन परिचालन समितिकी संयोजक नानुमाया पराजुली, नेपाल शिक्षक संघका अध्यक्ष सोमनाथ गिरी, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णु भण्डारी र एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीलगायतका शिक्षक प्रतिनिधि सहभागी छन् ।

विद्यालय शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै बुधबारदेखि देशभरका शिक्षकहरु काठमाडौंकेन्द्रित सडक आन्दोलनमा छन् । त्यसको कारण बिहीबार देशभरका २७ हजार सार्वजनिक विद्यालयको पठनपाठन ठप्प भएको छ । बिहीबार बिहान पनि आन्दोलरत पक्ष र गृहमन्त्री श्रेष्ठबीच छलफल भएको थियो । तर, कुनै सहमति जुटेन ।

प्रतिकृया दिनुहोस्