प्रदेश ५ सरकारले सामुदायिक क्याम्पसहरुमा प्राविधिक धारका कार्यक्रम संचालनमा जोड दिइरहेको जनाएको छ । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले युग सुहाउँदो जनशक्ति उत्पादन गर्न र प्रदेश भित्रै उच्चशिक्षा प्राप्त गर्ने अवसर दिनका लागि यस्तो प्रयास गरेको बताए ।

शिक्षापत्रकार समूहको प्रदेश ५ समन्वय समितिले सोमबार आयोजना गरेको प्रदेश ५ मा सामुदायिकक्याम्पसको अवस्था :प्रदेश सरकारको भूमिका विषयक भर्चुअल सम्वादमा बोल्दै मन्त्री बरालले कुनै पनि सामुदायिक क्याम्पसले इन्जिनियरिङ र विज्ञान संकायको कार्यक्रम संचालन गर्न चाहे प्रदेश सरकारले सहयोग गर्ने बताए ।

गतवर्ष स्नातकोत्तरतहको विज्ञान संकायको कार्यक्रम संचालनगर्ने प्रयास गरेपनि त्रिभुवन विश्वविद्यालयले स्वीकृति नदिँदा उक्त कार्यक्रम सञ्चालन गर्न नसकिएको उनले बताए । नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसमा एमएस्सी कक्षा चलाउनका लागि प्रदेश सरकारले आर्थिक व्यवस्थापन गर्न खोज्दा पनि नसकिएको भन्दै उनले यो वर्ष पनि प्राविधिक विषयतर्फ कार्यक्रम सञ्चालन गर्न जोड दिइने बताए ।

सामुदायिक क्याम्पसहरुका समस्या प्रदेश विश्वविद्यालय संचालनमा आएपछि केही रुपमा सम्बोधन हुने मन्त्री बरालले बताए । प्रदेश विश्वविद्यालय सम्बन्धि विधेयक संसदमा पुगिसकेको जानकारी गराउँदै उनले उक्त कानूनमा मानित विश्वविद्यालयको व्यवस्था समेत रहेको जानकारी दिए ।

बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसले मानित विश्वविद्यालयको रुपमा रुपान्तरित हुन प्रक्रिया शुरु गरिसकेको र त्यसका लागि प्रदेश सरकारले आर्थिक र कानूनी रुपमा सहयोग गर्ने मन्त्री बराले जानकारी दिए ।

कोभिड–१९ को संक्रमणको प्रभाव सामुदायिक क्याम्पसहरुमा समेत परेको उल्लेख गर्दै मन्त्री बरालले कोभिडको प्रभावलाई मध्यनजर गर्दै तत्कालकालागि सञ्चालन खर्च दिने गरी मन्त्रालयले कार्यक्रमको प्रस्ताव अगाडि बढाएको बताए ।

पब्लिक क्याम्पस प्राध्यापक संघ नेपालका केन्द्रिय अध्यक्ष गोपाल पाण्डेले समस्याहरुका बीच सामुदायिक क्याम्पसहरु संचालन भइरहेको बताए । उनले स्थानीयतह र संघीय सरकारबाट वेवास्ता हुँदा सामुदायिक क्याम्पसको समस्या समाधान हुन नसकेको बताए ।

सामुदायिक क्याम्पसहरुको सम्बोधनका लागि छुट्टै पब्लिक विश्वविद्यालय स्थापना गर्न सकिने अध्यक्ष पाण्डेको भनाई छ । प्रदेश सरकारले प्रदेश विश्वविद्यालय स्थापनाको प्रक्रिया अगाडि बढाएको अवस्थामा त्यसमा सामुदायिक क्याम्पसलाई समेट्नुपर्ने उनको भनाई थियो ।
नेपाल पब्लिक क्याम्पस संघ प्रदेश ५ का संयोजक मित्रलाल न्यौपानेले सामुदायिक क्याम्पसहरुमा ३७ प्रतिशत विद्यार्थी अध्ययनरत रहेको र ४० प्रतिशत नतिजा दिन सकेको बताए । उनले प्रदेश ५ सरकारले सामुदायिक क्याम्पसको भौतिक सुधारकालागि केही सहयोग गरेकोमा धन्यवाद दिँदै संचालन खर्चमा पनि सहयोग गर्न जरुरी भएको बताए । सरकारले पनि सहयोग नगर्ने र व्यवसायिक पनि हुन नपाउने कारण सामुदायिक क्याम्पसहरु अगाडि आउन नसकेको उनको भनाई थियो ।

प्रदेश ५ मा एक सय भन्दा बढि सामदायिक क्याम्पसहरु संचालनमा छन् । कार्यक्रममा विभिन्न जिल्लाका क्याम्पस प्रमुख, क्याम्पस संचालक, अध्यापक, पत्रकारहरु गरी ४५ जनाभन्दा बढिको सहभागीता थियो । लकडाउन सुरु भएयता शिक्षा पत्रकार समुहले सुरु गरेको शिक्षाबार सम्बाद सृंखलाको यो २५ औं अंक हो ।

प्रतिकृया दिनुहोस्