सर्लाहीको बागमती नगरपालिकाले प्रधानाध्यापकलाई लक्षित गरी ३ दिने तालिम सुरु गरेको छ । नगरपालिका शिक्षा शाखाले आयोजना गरेको उक्त तालिममा २५ वटा विद्यालयका प्रधानाध्यापक सहभागी रहेका छन् ।

प्रधानाध्यापक विद्यालय सुधारको मियो नै भएकाले मियोबाटै सुधारको सुरुवात गर्न तालिम शुरु गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख मीनप्रसाद उपाध्यायले जानकारी दिए । विद्यालय बिग्रिनु र सप्रिनुमा सबैभन्दा ठूलो हात र हिस्सा प्रधानाध्यापककै हुने र सक्षम प्रधानाध्यापकबाट मात्रै विद्यालय सुधार गर्न सकिने भएकाले नेतृत्व विकासमा लागिएको उपाध्यायले बताए । उनकाअनुसार नगरपालिका सामुदायिक विद्यालयलाई देशकै नमूना विद्यालयको रुपमा रुपान्तरण गर्ने योजना सहित जुटिरहेको छ ।

एकातिर आधारभूत तहका शिक्षकहरुलाई कम्प्युटर तालिम दिइरहेको नगरपालिकाले अर्कोतिर प्रअहरुको नेतृत्व क्षमता विकासमा जुटेको हो । यस अघिदेखि नै शनिवारे परीक्षाको कार्यक्रम शुरु गरेर विद्यार्थीहरुको सिकाइ सुधारमा नगरपालिकाले काम गरिरहेको छ ।

शिक्षक, विद्यार्थी, पधानाध्यापकहरुलाई सुधार नगरेसम्म विद्यालय सुधार नहुने रहेछ । अझ नगरपालिका अभिभावकसम्मै पुगेर शिक्षा सुधारमा अभिभावकलाई पनि जोड्नेगरी अगाडि बढीरहेको छ । शिक्षा शाखा प्रमुख उपाध्यायले बताए ।

प्रधानाध्यापकहरुलाई अहिले विद्यालयको प्रशासनिक सुधार कसरी गर्न सकिन्छ । शैक्षिक सधार गर्दै समय सुहाउदो कसरी बनाउन सकिन्छ भनेर तालिम शुरु गरेको उपाध्यायले बताए । बालबालिकाको सिकाइ सुधारको पाटोमा उनीहरुको अध्ययन सीप र अध्ययन रुचि कसरी बढाउन सकिन्छ, सामुदायिक विद्यालयलाई समाजसँग जोड्दै कसरी अभिभावकको आकर्षण बढाउन सकिन्छ भन्ने विषय प्रधानाध्यापकहरुको तालिममा समेटिएको शिक्षा शाखा प्रमुख उपाध्यायले बताए ।

सामुदायिक विद्यालयको विकासमा हरेक अभिभावकोे सहभागिता, जागरुकता र चेतना जोड्दै शिक्षक, विद्यार्थी र प्रधानाध्यापकहरुलाई सक्षम बनाउने नगरपालिकाको तयारी देखिन्छ । ‘एक पक्षमा मात्रै सुधार गरेर नहुने भयो, हामी विद्यालयका सबैपक्षलाई सक्षम बनाएर गुणस्तरीय शिक्षाको अभियानमा जोड्ने प्रयासमा छौं ।’ उपाध्यायले भने, ‘प्रधानाध्यापकहरुको तालिम अहिले मुलतः सामुदायिक विद्यालयको समग्र सुधार र विकासको लागि स्रोत व्यवस्थापन, लगनशीलयता, भिजन र ड्रिमलाई आपसमा कसरी जोड्ने भन्नेमा केन्द्रीत हुनेछ ।’

उपाध्यायकाअनुसार तालिममा अहिले २५ सामुदायिक विद्यालयका प्रधानध्यापक सहभागी छन् । प्रधानाध्यापकहरुको तालिमलगत्तै फेरि सवै विद्यालयका करिब ३०० सय बढी शिक्षकलाई विषयगत तालिम पनि दिने नगरपालिकाको योजना रहेको शिक्षा शाखा प्रमुख उपाध्यायले जानकारी दिए ।

सबै सामुदायिक विद्यालयहरुलाई नमूना बनाउने नगरपालिकाको योजना अनुसार अहिले प्रधानाध्यापकहरुको क्षमता विकास तालिम शुरु गरिएको  शिक्षा शाखामा कार्यरत ओमबहादुर कार्कीले जानकारी दिए ।

तालिमले प्रधानाध्यापकहरुलाई सक्षम बनाउने र डाइनामिक लिडरको रुपमा विकास गर्ने भन्दै कार्कीले समयको आवश्यकतालाई बुझेर सूचना र प्रविधिको उच्चतम प्रयोग गरी २१ औंं शताब्दिको विद्यालय निर्माण गर्न सक्ने नगरपालिकाले अपेक्षा लिएको छ ।

तालिममा प्रधानाध्यापकहरुलाई समूहगत, व्यक्तिगत छलफल तथा अन्तक्र्रिया गरेर निष्कर्ष निकाल्न, निष्कर्षलाई शिक्षा सुधारको नीतिको रुपमा अंगीकार गर्न, योजना बनाउन, योजनाको कार्यान्वयन गर्न सीप र क्षमता विकास गरिने कार्कीले जानकारी दिए । तालिम लगत्तै नगरपालिकाले सबै प्रधानाध्यापकहरुसँग कार्यसम्पादनको सम्झौता गर्ने तयारी पनि गरेको छ । कार्यसम्पादन करार अनुसार विद्यालयमा सुधारका काम भएनभएको नगरपालिकाले मासिक रुपमा अनुगमन र मूल्यांकन गर्ने तयारी भइरहेको कार्कीले बताए ।

त्यस्तै, विद्यालय र अभिभावकहरुको मासिक स्थलगत अनुगमन गरेर सुधारको प्रभावका बारेमा पनि मूल्यांकन गर्ने नगरपालिकाको योजना छ । ‘नगरपालिकाले प्रधानाध्यापकहरुसँग कार्यसम्पादन करार गर्छ, प्रधानाध्यापकले सबै शिक्षकहरुसँग त्यस्तै कार्यसम्पादन करार गर्नुहुन्छ ।’ कार्कीले भने, ‘सबै शिक्षकहरु आफ्नो सम्झौताअनुसारको उपलब्धि हासिल गर्ने प्रयासमा जुट्नुहुनेछ ।’

नगरपालिकाले भने कक्षाकोठामा व्यवहारिक रुपमाले लागु भएनभएको तथा सिकाइमा प्रभाव देखिएनदेखिएको अनुगमन गर्नेछ । यो एउटा चेनमा चल्छ । यसैकाआधारमा वार्षिकरुपमा शिक्षक र प्रधानाध्यापकहरुलाई पुरस्कार र दण्डको व्यवस्था गरिने नगरपालिकाले जनाएको छ । ‘अब अभिभावकहरु पनि विद्यार्थीलाई विद्यालय पठाइदिएर मात्रै सुख पाउनुहुने छैन । सिकाइ सुधारको अभियानमा जोडिनुपर्नेछ ।’ कार्कीले भने ।

सम्बन्धित समाचार

सूचना–प्रविधिमैत्री शिक्षा दिन जुट्यो बागमतीः शिक्षकलाई तालिम, विद्यालयलाई कम्प्युटर

सिकाइ सुधार्ने बागमती नगरपालिकाको जुक्तिः शनिबारे परीक्षा र उपचारात्मक कक्षा

प्रतिकृया दिनुहोस्