सर्लाही । तल्लो तहदेखि नै प्रविधिमैत्री सिकाइ उपलब्ध गराउने उद्देश्यले आधारभूत तह(१–५कक्षा)का शिक्षकहरुलाई कम्प्युटर तालिम दिन शुरु गरिएको छ । सर्लाहीको बागमती नगरपालिकाले १ देखि ५ कक्षाका शिक्षकलाई लक्षित गरी १० दिने कम्प्युटरको तालिम दिन शुरु गरेको हो ।

पहिलो चरणमा शिक्षकलाई प्रविधिप्रति अभ्यस्त बनाइ आगामी शैक्षिक सत्रदेखि कक्षाकोठामा प्रविधिमैत्री शिक्षण सिकाइ लागू गर्ने नगरपालिकाको तयारी देखिन्छ । तालिम दिएपछि शिक्षकहरुलाई ल्यापटप पनि वितरण गर्ने नगरपालिकाको तयारी रहेको शिक्षा शाखा प्रमुख मीनप्रसाद उपाध्यायले जानकारी दिए ।

‘अब शिक्षकहरु शैक्षिक सामग्री विना कक्षाकोठामा पस्न पाउनुहुने छैन, विद्यार्थीहरुलाई खोजेर नयाँ सिकाइ सामग्री सिकाउनुपर्नेछ’, उपाध्यायले भने । यही लक्ष्यका साथ नगरपालिकाले परीक्षा पछिको खाली समयमा शिक्षकहरुलाई प्रविधिमैत्री बनाउन जुटेको उपाध्यायले सुनाए । नगरपालिकाले चैत १७ गतेदेखि ३० गतेसम्म शिक्षकका लागि कम्प्युटर तालिमको अभियान नै अघि बढाएको हो ।

नगरपालिकाले प्रत्येक विद्यालयमा कम्प्युटर दिने तयारी पनि अघि बढाएको छ । ‘विद्यार्थीहरु कम्प्युटरमा सिक्न पाउनेछन् । शिक्षकले ल्यापटपबाट नयाँ कुरा खोजेर सिकाउने छन् ।’ शिक्षा शाखा प्रमुख उपाध्यायले भने, ‘पहिले शिक्षकहरु पाठ्यक्रममा सीमित हुन्थे, अब पूरा दुनियाँ नै पाठ्य सामग्री बन्नेछ ।’

विद्यालयलाई कम्प्युटर मात्रै दिँदा शिक्षण सिकाइमा प्रयोगमा नआएको अन्य स्थानका गुनासाहरु हेरेर पहिले शिक्षकलाई कम्प्युटर तालिम दिन लागिएको उपाध्यायले जानकारी दिए । प्रविधिमैत्री शिक्षालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सवैभन्दा पहिला शिक्षक नै अभ्यस्त हुनुपर्ने निष्कर्ष सहित नगरपालिकाले तालिमको अभियान नै अघि बढाएको उनको भनाइ छ ।

‘अब नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुमा कक्षा १ देखि नै कम्प्युटरसहितको प्रविधिमैत्री र गुणस्तरिय शिक्षण सिकाइ लागू गर्छौं ।’ शिक्षा शाखा प्रमुख उपाध्यायले भने । ‘विद्यार्थीलाई सिकाउन पहिले शिक्षकले जान्नुपर्ने देखियो ।’

बागमती–१, जनता माविका शिक्षक मनोज प्रसाद खनालले नगरपालिकाले कम्प्युटर तालिम दिएपछि आफूमा नयाँ उर्जा पैदा भएको बताए । नयाँ प्रविधिबारे जान्न पाउँदा, सिकाइमा प्रयोग गर्न सकिने कुरा थाहा पाउँदा निकै उत्साहित बनाएको उनले बताए । ‘सिकाउन त किताब मात्रै नचाहिने रहेछ, इन्टरनेटबाट खोजेर धेरै कुरा पो सिकाउन सकिने रहेछ।’ शिक्षक खनालले भने, ‘अब खाली हात कक्षाकोठामा जान्न, विभिन्न सिकाइ सामग्री खोजेर सिकाउँछु ।’

यसैगरी, बागमती–३ मा रहेको जनकल्याण आधारभूत विद्यालयका शिक्षक विनिता अधिकारीले तालिम लिँदा अब कम्प्युटरबाट कक्षाकोठामा विद्यार्थीलाई सिकाउन सकिन्छ भन्ने लागेको अनुभव सुनाइन् । ‘धेरै कुरा सिकाउन बाँकी रहेछ, धेरै तरिकाले सिकाउन सकिँदो रहेछ, कम्प्युटर तालिमले मलाई पुनर्जन्म दिएको अनुभव गरेँ’, शिक्षक अधिकारीले भनिन्, ‘अब हाम्रा सामुदायिक विद्यालयहरुमा पनि प्रविधिमैत्री शिक्षण सिकाइ हुने भयो ।’

‘हामी अहिलेसम्म सूचना प्रविधिमा अलिक टाढै थियौँ । अब यो तालिमले हामीलाई प्रविधिसँग जोड्नेछ। कक्षामा पनि प्रोजेक्टर मार्फत पाठलाई दृश्य सहित देखाएर विद्यार्थीलाई बुझाउन सक्नेछौं ।’ शिक्षक अधिकारीले उत्साहित हुँदै भनिन् ।

नगरपालिकाले सामुदायिक विद्यालयहरुको शिक्षामा सुधारका लागि विभिन्न फरक प्रकारको पहल गर्दै आएको छ । नगरपालिका प्रमुख भरतकुमार थापाले आफू निर्वाचित भएसँगै सामुदायिक विद्यायलको शिक्षा सुधारको अभियान नै अघि बढाएका छन् । शिक्षकहरुलाई शिक्षण सिकाइ, सूचना प्रविधिलगायतको तालिम दिने अभियान नै चलाएका मेयर थापाले सरकारी सेवा सुविधा लिने शिक्षक कर्मचारीहरुका छोराछोरी सामुदायिक विद्यालयमा नै अध्ययन गराउनपर्ने नियम लागू गरेका छन् ।

अहिले दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि पनि थापाले नगरपालिका भित्र सामुदायिक विद्यालय सुधारमा विशेष जोड दिँदै आएका छन्। नगरपालिका भित्रका सबै सामुदायिक विद्यालयलाई नमूना विद्यालयका रुपमा विकास गर्न र सामुदायिक विद्यालयप्रति आकर्षण बढाउन नगरप्रमुख थापा लागि परेको देखिन्छ । नगरपालिकाको सार्वजनिक शिक्षा सुधार प्रतिको सक्रियताले सामुदायिक विद्यालयहरुको कायापलट भइरहेको देखिन्छ ।

सम्बन्धित समाचार

सिकाइ सुधार्ने बागमती नगरपालिकाको जुक्तिः शनिबारे परीक्षा र उपचारात्मक कक्षा

 

प्रतिकृया दिनुहोस्