काठमाडौं । बागमती प्रदेशले आगामी वर्षको नीति तथा कार्यक्रम तथा बजेटमा शिक्षाका ८ गौरवका आयोजनाहरु अगाडि बढाएको छ । आगामी आर्थिक वर्षका लागि स्वीकृत भएका नीति तथा कार्यक्रममा शिक्षाका ८ गौरवका आयोजना समेटिएका हुन् ।

बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता दिपेन्द्र सुवेदीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा शिक्षाका ८ गौरवका आयोजना समेटिएका जानकारी दिएका हुन् ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल(एनसिइ नेपाल)ले शनिवार आयोजना गरेको प्रदेश बजेटमा शिक्षा विषयक भर्चुअल अन्तक्र्रियामा प्रवक्ता सुवेदीले प्रदेश सरकारले अगाडि बढाएको शिक्षाका गौरवका आयोजना बारे जानकारी दिएका हुन् ।

उनका अनुसार प्रदेशले अनिवार्य तथा निशुल्क शिक्षा कार्यान्वयनमा स्थानीय तहसँग सहकार्य गरेर जाने नीतिगत व्यवस्थालाई जोड दिएको छ ।

ऐन नियमको अभावले धेरै कार्यक्रम कार्यान्वयन गर्न असहज भएको भन्दै शिक्षा ऐन नै नआएकाले प्रदेशतहबाट गर्नुपर्ने माध्यमिक तह(कक्षा १०)को परीक्षा सञ्चालन गर्न नसकेको अवस्था रहेको उनले जानकारी दिए ।

विशेष विद्यालय समायोजन र व्यवस्थापन गर्ने, संघीय सरकारको सहकार्यमा ५ वटा सुविधा सम्पन्न आवासीय शिक्षालयको व्यवस्था तथा विद्यालय तथा विश्वविद्यालयको भौतिक सुविधा विस्तार गर्ने विषय नीति तथा कार्यक्रममा समेटिएको प्रवक्त सुवेदीले जानकारी दिए ।

प्राविधिक शिक्षाको विकास, पाठ्यक्रम तथा पाठ्यसामग्रीको विकास, प्रज्ञिक अनुसन्धानमुखी कार्यक्रम तथा शिक्षकहरुको क्षमता विकासका कार्यक्रम पनि नीतिमा समेटिएको उनले जानकारी दिए । उच्चशिक्षामा प्रादेशिक विश्वविद्यालयको स्थापना र सामुदायिक पुस्तकालयहरुको सञ्चालन र व्यवस्थापनको विषय पनि नीतिमा समेटिएको उनले जानकारी दिए ।

शिक्षामा बालबालिकाको पहुँच र निरन्तरता, समतामूलक गुणस्तरीय शिक्षाको स्थापना र संस्थागत क्षमता विकासलाई नीति तथा कार्यक्रममा समेटेर आगामी वर्षको वजेट तथा कार्यक्रम तयार पारिएको प्रवक्ता सुवेदीले जानकारी दिए । यि विषयलाई प्रदेशले आगामी आर्थिक वर्षको वजेटका लागि मुख्य मार्गदर्शनको रुपमा लिएको उनले जानकारी दिए ।

संघीय सरकारबाट पनि थुप्रै गेम चेन्जर प्रोजेक्टहरु पनि आइरहेका भन्दै सुवेदीले प्रदेश सरकारले पनि शिक्षामा केही गौरवका कार्यक्रमहरु घोषणा गरेको जानकारी दिए ।

बहुप्राविधिक महाविद्यालयको स्थापना र सञ्चालनगर्ने कामलाई प्रदेशले गौरवको आयोजना घोषणा गरेको भन्दै हाल सिन्धुपाल्चोकमा एउटा यस्तो महाविद्यालय सञ्चालन भइरहेकोमा अब प्रदेश भित्रका प्रत्येक जिल्लामा यस्तै महाविद्यालय स्थापना गरेर सञ्चालन गर्ने कार्यक्रम अगाडि बढाइ रहेको सुवेदीले जानकारी दिए ।

अर्को गौरवकै आयोजना अन्तर्गत प्राविधि तथा व्यवसायिक प्रादेशिक विश्वविद्यालय स्थापना र सञ्चालन गर्ने नीति तथा अवधारणा पास गरिसकेको उनले जानकारी दिए । यस्तै उच्च शिक्षा ऐन पनि ड्राफ्ट भइसकेको उनले बताए ।

हिमाली, दूर्गम क्षेत्रका र विपन्न चेपाङ, बाराम जस्ता सीमान्तकृत क्षेत्र लक्षित गरेर यही वर्ष ५ वटा सुविधा सम्पन्न आवासीय विद्यालयहरुको स्थापना र सञ्चालन गर्ने कामलाई पनि गौरवकै आयोजना अन्तर्गत राखिएको सुवेदीले जानकारी दिए । यसका लागि प्रदेशले स्थानीय र संघीय सरकारसँग समन्वय र सहकार्य गर्ने उनले स्पष्ट पारे । काम अन्तिम चरणमा भएकाले यही वर्ष नै आवासीय विद्यालय सञ्चालन हुने उनले जानकारी दिए ।

अर्को गौरवकै कार्यक्रमका रुपमा प्रदेशले गतवर्ष देखि नमूना विद्यालयहरुको विकास र गुणस्तर सुधारको कार्यक्रम सञ्चालन गरेको, संघले जस्तै प्रदेशले पनि तोकिएको मापदण्ड पुरा गर्ने २० विद्यालयलाई नमूना घोषणा गरी अनुदान दिने, प्रोत्साहन गर्ने र लगानी गर्दै अगाडि बढिरहेको उनले जानकारी दिए ।

यस्तै प्रदेशले प्रदेश भित्रका सबै माध्यमिक विद्यालयमा पुर्याउने गरी एक विद्यालय एक नर्स कार्यक्रम अगाडि बढाइरहेको र अहिले प्रदेश भित्रका प्रत्येक स्थानीय तहका एक विद्यालयमा यो कार्यक्रम कार्यान्वयन भइरहेको तथा प्रदेश भित्रका ११९ स्थानीय तहका १२१ विद्यालयमा कार्यान्वयन भइरहेको उनले जानकारी दिए ।

बागमती प्रदेशले युवा वैज्ञानिक कोश स्थापना गरेर युवा वैज्ञानिकहरुले आफ्ना नयाँ अवधारणा ल्याए सहयोग गर्ने कार्यक्रम अगाडि बढाइरहेको, प्रदेश प्रज्ञाप्रतिष्ठानको स्थापना र सञ्चालन गर्ने, मदनकुमार भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने कामलाई पनि गौरवको आयोजनाका रुपमा अगाडि बढाइएको प्रवक्ता सुवेदीले जानकारी दिए ।

उनका अनुसार यि ८ वटा कार्यक्रम बहिआयामिक, गेम चेञ्जर वा गौरवका शिक्षा आयोजनाका रुपमा प्रदेशले अगाडि बढाइरहेको सुवेदीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्