शिक्षकका चिटिक्क अक्षर, विद्यार्थीमा ल्याउँदैछ सुधार

Avatar photo

Byएजुकेशन पाटी

२४ असार २०८०, आईतवार

सर्लाही। बागमती नगरपालिकाभरिका सामुदायिक विद्यालयका शिक्षकहरु यतिबेला आफ्नो अक्षर सुधार गर्ने अभियानमा जुटेका छन् । उनीहरु यतिबेला नगरपालिकाले नगरक्षेत्रभित्रका शिक्षकहरुका लागि आयोजना गरेको ७ दिने हस्तलेखन कार्यशालामा अक्षर सुधार्न व्यस्त देखिन्छन् ।

कार्यशालामा नगरक्षेत्र भित्रका करिब २०० जना शिक्षक अक्षर सुधार्न जुटिरहेका छन् । शिक्षकको व्यक्तित्वबाट विद्यार्थी प्रभावित हुने भएकाले अक्षर सुधार पनि पहिले शिक्षकबाट सुरु गरिएको नगरपालिकाका शिक्षा प्रमुख मिनप्रसाद उपाध्यायले जानकारी दिए । शिक्षकका अक्षर राम्रा भएपछि मात्रै विद्यार्थीको पनि सुधार हुने भन्दै नगरपालिकाले शिक्षकबाटै अक्षर सुधारका लागि ७ दिने कार्यशाला आयोजना गरेको शिक्षा प्रमुख उपाध्यायले बताए ।

कार्यशालामा नेपाली र अंग्रेजी दुवै विधामा अक्षर कसरी सुधार गर्ने भनेर अभ्यास गराइने गरिएको छ। अक्षरको बनोट तथा संरचना कसरी राम्रो बनाउने ? कलम कसरी समाउने ? साना बालबालिकालाई कसरी लेख्न सिकाउने ? बालबालिकाले कस्तो अवस्थामा अक्षर बिगार्छन् ? जस्ता अति सामान्य तर अति आवश्यक विषयमा मिहीन ढंगले छलफल हुने गरेको छ ।

शिक्षक पनि आफ्ना अक्षर सुधार्न हौंसिएका देखिन्छन् । यसरी तालिम लिएका शिक्षकहरुले पछि आफ्ना विद्यालयमा अन्य शिक्षकहरुका लागि कार्यशाला चलाउने र सबै शिक्षकहरु मिलेर विद्यार्थीको अक्षर सुधार अभियानमा जुट्ने नगरपालिकाको योजना छ ।

अक्षर लेखन कार्य मानिसको मस्तिष्कसँग जोडिने हुँदा अहिले मोबाइल, कार्टुन, भिडियो गेमका कारण ध्यान र एकाग्रतामा कमी आएका बालबालिकालाई समेत अति उपयोगी हुने प्रशिक्षक अभिषेक घिमिरेले बताए। हरेक व्यक्तिको अक्षरले उसको व्यक्तित्वलाई दर्शाउने हुनाले शिक्षकको व्यक्तित्व विकासका लागि पनि अक्षर सुधार महत्वपूर्ण हुने घिमिरेले बताए ।

‘अहिलेका बालबालिकामा ध्यान र एकाग्रतामा कमी देखिएको छ,’ प्रशिक्षक घिमिरेले भने, ‘हस्तलेखनको नियमित अभ्यासले बालबालिकाको मस्तिष्कमा मानसिक चञ्चलतामा कमी ल्याई एकाग्रतामा समेत वृद्धि गराउँनेछ ।’

विद्यालयमा परीक्षा चल्दै गर्दा शिक्षक भने फुर्सदको समय मिलाएर हस्तलेखन सुधार अभियानमा जुटेका हुन् । परीक्षाको नतिजा सम्पन्न हुने बित्तिकै कमजोर सिकाइ उपलब्धि भएका सबै विद्यार्थीलाई लक्षित गरेर पठन सीप विकास तथा हस्तलेखन कार्यक्रम संचालन गर्ने नगरपालिकाको योजना रहेको शिक्षा प्रमुख उपाध्यायले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्