एसईईमा कसरी सफल हुने ? यी हुन् टिप्सहरू

Avatar photo

Byएजुकेशन पाटी

४ चैत्र २०८१, मंगलवार
बाबुकाजी कार्की

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीबाट प्रकाशित समयतालिकाअनुसार यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ चैत्र ७ गते बाट १९ गते सम्म बिहान ८ देखि ११ बजे सञ्चालन हुने भएको छ । यसपरीक्षामा नियमित, ग्रेडवृद्धि तथा प्राविधिक धारका परीक्षार्थी गरी करिव पाँच लाख परीक्षार्थी सहभागी हुँदैछन् । एसईईलाई विगतदेखि नै विद्यालय शिक्षाको फलामे ढोकाको रुपमा चित्रण गर्दै आएको पाइन्छ ।

एसईई परीक्षामा हाउगुजी र डरको रुपमा नभई रहरको रुपमा सम्मिलित हुने मानसिकताको खाँचो देखिन्छ । वर्तमानको विद्यालय संरचनाअनुसार कक्षा १ देखि ८ सम्म आधारभूततह र कक्षा ९ देखि १२ सम्म माध्यमिकतह भनी परिभाषित गरिएको छ । विगत ८ दशक भन्दा लामो समयदेखि विद्यालय तहको अन्तीम परीक्षाको रूपमा कक्षा १० मा लिइँदै आएकोमा एसएलसीलाई एसईईमा रुपान्तरण गरिएको छ । नयाँ व्यवस्थाअनुसार विद्यालयतहको अन्तिम कक्षा १२ मा लिइने परीक्षालाई एसएलसी मानिएको छ ।

वि.सं. १९९० सालदेखि एसएलसी राष्ट्रियस्तरमा लिइँदै आएको विद्यालय तहको एकमात्र परीक्षाको नतिजा विगतदेखि नै उत्साहप्रद देखिदैन । वि.सं.१९९८ सालमा सवभन्दा बढी ७७.७८ प्रतिशत र बि.सं.२०३८ सालमा सब भन्दा घटी १६.६८ प्रतिसत परीक्षार्थी उत्तीर्ण भएको देखिन्छ । विगतका परीक्षाको विषयगत औषत प्राप्ताङ्क हेर्दा अंग्रेजीमा सबभन्दा घटी ३३.२४ र सबभन्दा बढी सामाजिकमा ४८.०४ भएको पाइन्छ ।

शिक्षा क्षेत्रमा धेरै अभ्यास र लगानी भए तापनि विद्यार्थीको उपलब्धिमा झन ह्रास आउनु गम्भीर चिन्ताको विषय हो । यति लामो समयसम्म विद्यार्थीको उपलब्धिस्तर ५० प्रतिशत पनि नपुग्नामा के विद्यार्थी मात्रै दोषी छन् त ? वस्तुनिष्ठ अध्ययन गरी वास्तविकता पहिल्याउन अल्छी गर्नुहुन्न । उपलब्धिस्तर शतप्रतिशत पु¥याउन राज्य, शिक्षक, अभिभावक, विद्यालय, विद्यार्थी र नागरिक समाजलगायतको भूमिका कस्तो हुनुपर्छ ? निक्र्यौल गर्न विलम्व भइसकेको छ ।

परीक्षामा सम्मिलित हुने परीक्षार्थीको परीक्षा तयारीलाई अझ सहज र उच्च प्रतिफलमुखी बनाउन टेवा पुर्याउने अपेक्षाकासाथ केही टिप्स यहाँ प्रस्तुत गरिएको छ ।

  • परीक्षा तयारीको समयमा आफ्नो स्वास्थ्यको बारेमा विशेष चनाखो हुनुपर्दछ । स्वस्थकर आहरविहार र सहज परिश्रमको नियमितता प्रति विशेष चनाखो रहनुपर्दछ ।
  • एसईईलाई हाउगुजीको रूपमा नलिई सहजरूपमा आत्मसात गरेर सकरात्मक सोच र उच्च मनोबलकासाथ परीक्षा दिने मनस्थिति बनाउनु पर्दछ ।
  •  मानसिक एवं शारीरिक क्षमता भन्दा बढी थकान हुनेगरी अनिँदोसमेत बसेर लगातार पढ्दा स्मरण शक्तिमा ह्रास आउँछ । शारीरिक तथा मानसिक थकानका कारण आपूmले सोचे जस्तो जाँच दिन पनि सकिन्न भन्ने वास्तविकता प्रति हेक्का राख्नुपर्दछ ।
  •  अध्ययन गर्दा पाठ्यपुस्तकको मात्र भर नपरेर पाठ्यक्रमको पनि अध्ययन गर्ने गराउने तर्फ शिक्षक विद्यार्थीले ध्यान दिनुपर्दछ । किनकि विगतमा कहिलेकाहीँ पाठ्पुस्तकले नसमेटेको तर पाठ्यक्रममा भएको विषयवस्तुबाट पनि प्रश्न सोधिने गरिएका वास्तविकतालाई बिर्सनु हुन्न ।
  •  कठीन महसुस गरिएका विषयलाई अलि बढी समय र महत्व दिंदै अध्ययनको दैनिक समय तालिका नै बनाएर सबै विषयलाई समानुपातिक रूपमा अध्ययन गर्नु बुद्धिमानी हुन्छ ।
  •  सहपाठीहरुको सानो समूह बनाएर छलफल गरेर पढ्ने बानीले बहुआयमिक तथा दिगो स्मरणमा रहने वास्तविकता हो ।
  •  विगत वर्षहरूका प्रश्नहरुको उत्तर लेख्ने अभ्यास गर्ने र आफ्नो विषय शिक्षकलाई देखाएर लेखनको स्तरबारे आवश्यक सल्लाह लिन अल्छी गर्नुहुन्न ।
  •  परीक्षा दिन जाँदा मैले राम्रोसँग जाँच दिन्छु र राम्रो नतिजा आउँछ भन्ने दृढ विश्वास एवं उच्च मनोवलकासाथ हतोत्साहित नभई परीक्षाहलमा प्रवेश गर्नुपर्दछ ।
  •  विषयअनुसार आवश्यक सामग्री कलम, पेन्सिल, रुलर, क्यालकुलेटर आदि घरबाट हिँड्नु अगाडि राम्रोसँग चेक जाँच गर्नु पर्दछ ।
  •  परीक्षा केन्द्रको वस्तुस्थिति र दूरी, घरबाट पुग्न लाग्ने समय र साधनको उपलब्धताबारेमा अवलोकन पहिलै नै गर्दा सहजता हुन्छ ।
  •  प्रवेशपत्र तथा उत्तरपुिृस्तकामा लेखिएका निर्देशनहरु परीक्षा शुरु हुनु अगावै पढी पालना गर्नु बुद्धिमानी हुन्छ ।
  •  उत्तर लेख्दा आफुलाई तत्काल धेरै जानकारी भएको प्रश्नबाट क्रमशः लेख्न शुरु गर्नु पर्दछ । उत्तर लेख्दा प्रश्नमा दिइएको अङ्कभार अनुसार यथाशक्य बुँदामा लेख्नु राम्रो हुन्छ ।
  •  परीक्षा तयारी लेखनलाई स्तरीय बनाउन आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा युट्युबलगायतका वेबसाइटको खोजेर पनि अध्ययन गर्न सकिन्छ ।
  •  प्रश्नले मागेको उत्तर यकिन भए पछि प्रश्नको प्रकृति र अङ्कभार तथा समयलाई मध्यनजर राखि मैलिकता झल्किने गरी बँुदागतरुपमा सफा र शुध्दसँग उत्तर लेख्नुपर्दछ ।
  •  सबै प्रश्नका उत्तरहरु लेखिसकेपछि बचेको अन्तिम समयमा लेखेका उत्तरहरुलाई पुन सरसर्ती पढेर छुटपुट भए सच्याउनुपर्छ ।

एसईईलाई अधिकतम उपलब्धिमूलक बनाउन अभिभावकको पनि उत्तिकै महत्त्व रहन्छ । छोराछोरीलाई अनावश्यक दबाव नदिने, उनीहरूको आहार विहारलाई स्वस्थकर बनाउने, पढ्ने लेख्ने सामग्री तथा बस्ने स्थानको उपयुक्त वातारण वनाई सहजता प्रदान गर्ने एवं उत्साह र ढाढस दिएर मर्यादित रूपमा परीक्षा दिन प्रोत्साहित गर्नु एक असल अभिभावकको जिम्मेवारी भित्र पर्दछ । यस मानेमा एसईई अभिभावकको लागि पनि एक समझदार अभिभावक भए नभएको जाँचिने परीक्षा हो भन्दा अन्यथा नहोला ।

त्यस्तै विद्यालयले विद्यार्थीको रुचि क्षमता अनुसारको विषयको छनौट तथा परीक्षालाई सहजरूपमा सामना गर्नसक्ने योग्यताको विकास गराउनु पर्दछ । विद्यार्थीको वैयक्तिक भिन्नता र उसको प्रगतिको गति र क्षमताको आधारमा पठनपाठन र अभ्यासको अवसर प्रदान गर्ने चाँजोपाँजो मिलाउनाले समग्रमा विद्यालयको उपलब्धि उच्च हुने यर्थाथता हो ।

एसईईको नतिजाको आधारमा विद्यालयको स्तर सरकार र समुदायमा कायम हुने भएकोले विद्यालयले आफनो हैसियत उच्च राख्ने सुनौलो अवसर पनि हो । तसर्थ आफ्ना विद्यार्थीको उपलव्धिस्तर उच्चतम बनाउन विद्यार्थीको प्रतिभाको अधिकाधिक आविष्कार गरेर परिमार्जन र परिष्कृत गर्दै तिनीहरुको विकास र विस्तार गर्ने खालको विद्यालयमा चित्ताकर्षक शैक्षिक वातावरण बनाउनुपर्दछ । विद्यार्थीले विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरणमा पढ्न पाए नपाएको यकिन गर्ने परीक्षा पनि हो एसईई ।

प्रश्नपत्र निर्माणमा विश्वसनीयता, वैधानिकता, वस्तुनिष्ठता तथा गुणस्तरीयताले पनि परीक्षाको नतिजालाई असर पार्दछ । साथै अपेक्षा गरेअनुसार व्यवस्थित, मर्यादित, निष्पक्ष, स्वच्छ र सौहार्द वातावरणमा परीक्षा सञ्चालन गर्न परीक्षा केन्द्र निर्धारण, भौतिक तथा मानवीय व्यवस्थापन एवम् उनीहरुले परीक्षार्थीलाई गर्ने व्यवहारबाट परीक्षाको गुणस्तरीयताको निर्क्यौल गर्दछ ।

त्यस्तै विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावकसंघलगायत विद्यालयतहको शिक्षाको जिम्मेवारी लिएका पदाधिकारीले विद्यार्थीको पठनपाठनमा कतिको योगदान पुर्याए भन्ने कुराको यकिन गर्ने एक सशक्त सूचक विद्यार्थीले प्राप्तगरेको प्राप्ताङ्क र उत्तीर्ण प्रतिशत नै हो ।

यसप्रकार एसईई प्रत्यक्ष रूपमा विद्यार्थीको लागि मात्र परीक्षा भए जस्तो लागे तापनि परोक्ष रूपमा राज्यले विद्यालय शिक्षासम्बन्धी अख्तियार गरिएका नीतिनियम, योजना, कार्यव्रmमको प्रभावकारिता जाँच्ने कसी पनि हो भन्नेतर्फ सरकार र सरोकार पक्षले हेक्का राख्नु जरुरी छ ।

प्रतिकृया दिनुहोस्