बाबुकाजी कार्की

अशिक्षाका कारणले विपन्नता अन्धविश्वास, बेरोजगार, परालम्बी तथा कम्जोर स्वास्थ्य आदि नकारात्मक प्रवृतिले महिलालाई बढी गाँजेको हुन्छ । जबसम्म महिला र पुरुषलाई शिक्षामा पहुँच उनीहरुको क्षमताका आधारमा सुनिश्चित गरिन्न तवसम्म विकासको गति तिव्र नहुने यथार्थता हो । त्यसमा पनि यो दूरी पिछडिएको जातजाति, सो दुर्गम तथा निर्धनहरुको बसोबास क्षेत्रमा अधिक छ ।

नेपाल गाउँ नै गाउँले भरिएको देश हो। यस्तो विसम परिस्थितिमा साक्षरतालाई सुगमतापूर्वक निरक्षरको पहुँच भित्र ल्याउन निश्चयनै ठूलै अठोट चाहिन्छ । महिला जनसङ्ख्या बढी भएको हाम्रो जस्तो देशलाई नयाँ नेपाल बनाउन महिला साक्षरतालाई विशेष महत्व दिएर सघन कार्यक्रम ल्याउनु पर्ने हुन्छ । आधा आकाश ढाकेका महिलाको सशक्तिकरण नगरिकन समृद्ध समाजको अपेक्षा गर्न सकिन्न । युनेस्कोले पनि बेलाबखत महिला र सशक्तिकरणकाा लागि साक्षरतामा केन्द्रित कार्यक्रम संचालन गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय नारी दिवस विश्वभरका महिलाहरुको मुक्तिका लागि एक व्यापक अभियान हो। सदाझैं यस वर्ष २४ फागुन (८ मार्च) मा पनि महिलाहरुका मुद्दालाई सशक्तरुपमा सामना गर्ने प्रतिवद्धतासहित ११३औं नारी दिवस मनाइदैछ। यस वर्ष पनि “लैंगिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार” भन्ने नाराका साथ अन्तर्राष्ट्रिय नारी दिवस मनाइदै छ ।

विभिन्न क्षेत्रमा असमानता, अन्याय, अन्धविश्वास, दूव्र्यवहार, लैंगिक हिंसा समाजमा यो वा त्यो कोण बाट भैराखेको जगजाहेर नै छ। नारी अधिकारका सुनिश्चिचतताको लागि विभिन्न कानूनी प्रावधानको व्यवस्था भए तापनि व्यवहारमा खासै रुपान्तरण भएको पाइदैन्। सामाजिक रुपान्तरण गरेर समृद्ध नेपाल सुखी नेपाली बनाउने सपनालाई यथार्थतामा बदल्न आधा आकाश ओगटेका नारीहरूको साक्षरता र सशक्तिकरणको विकल्प छैन।

विज्ञान र प्रविधिको द्रुत गतिमा विकास र विस्तार भैराखेको वर्तमान एक्काइसौं शताब्दीमा पनि विश्वमा ७५ करोड ९० लाख जनता निरक्षर पौढ छन् । जसमा करिब हरेक तीन निरक्षर मध्ये दुईजना महिला पर्छन् । विसं २०६८ को जनगणना अनुसार नेपालको साक्षरता प्रतिशत ६५.९ प्रतिशत छ। जसमध्ये पुरुष ७५.१ र महिला ५७.४ प्रतिशत साक्षर छन् । महिला र पुरुष बीचको साक्षरताको खाडल करिब १८ प्रतिशत रहेको देखिन्छ ।

शिक्षाको विकास र विस्तार नारी सशक्तिकरणको पहिलो खुड्किलो हो। यसै वास्तविकतालाई आत्मसात गर्दै विगतमा अनौपचारिक शिक्षा केन्द्रले महिलालाई विशेष ध्यान दिएर साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएको थियो। साक्षरता अभियानका स्वयंसेवक, स्थानीय निरीक्षक तथा पढ्न आउने निरक्षर समेतमा महिलालाई प्राथमिकता दिनुपर्ने प्रावधान राखेको छ । जसको फलस्वरुप महिला साक्षरतामा उल्लेख्य वृद्धि भएको छ । मातृ तथा बालमृत्यु दर घटेको छ । राज्यका विभिन्न निकाय र कार्यक्रममा महिलाको पहुँच क्रमिकरुपमा बढेको छ । साक्षरत शिक्षित एवं सचेत महिला आमा भएको परिवारको वालवालिकाको पढाईको स्तर स्वभावैले बढ्न जान्छ।

सशक्तिकरण भन्नाले प्राप्त सूचनाहरुको सही जानकारी गरी निर्णय गर्ने क्षमताको विकास गर्नु हो । किनकि महिलाले समान अधिकार र अवसरको उपयोग जवसम्म गर्न पाउदिनन् तव सम्म दिगो विकासको कल्पना पानीको फोका जस्तै हुन्छ । भनिन्छ एकजना पुरुष शिक्षित भए आफुमा मात्रै सिमित हुन्छ तर एक जना महिला शिक्षित भए परिवार नै शिक्षित हुन्छन् त्यसकारण महिला शिक्षित हुनु भनेको पारिवारिक सक्षमता आउनु हो, आयआर्जन बढेर आत्म निर्भर बन्नु हो, इलममा बढोत्तरी गरी सम्पन्नता तिर लम्कनु हो । आफ्नो हक, अधिकार र कर्तव्य प्रति सजग र सचेत भै स्वाभिमानिपूर्वक आत्मनिर्भर जीवनयापन गर्न कम्तीमा साक्षरताको विकल्प छैन ।

साक्षरताले मानवको अन्तरनिहित प्रतिभा प्रष्फुटन गरेर सक्षमता ल्याउँछ । सक्षमताले पौरखी हातहरुलाई परिमार्जित र परिस्कृत गरेर हरेक व्यक्तिको जीवनमा आमूल परिवर्तन गर्छ । उसमा सूचना र प्रविधिको जानकारी राख्ने क्षमतामा वृद्धि हुुन्छ । साक्षरताले आत्मवल र आत्मविश्वासमा बढोत्तरी भै एक सफल र सवल नागरिकका रुपमा जीवनयापन गर्न अहम भुमिका खेल्दछ । साथै साक्षरता सहज आधुनिक जीवनको अपरिहार्य कुञ्जी हो । आर्थिक, सामाजिक, साँस्कृतिक रुपान्तरण गरी देश विकास गर्न साक्षरता प्रतिशत उच्च हुनु पहिलो शर्त हो ।

मानव विकास सूचांकलाई उच्च राख्न आवश्यक शर्तहरु स्वास्थ्य, शिक्षा, विद्यालय भर्नादर, मातृशिशु मृत्युदर, पोषण आदिको आधारशिला पनि साक्षरता हो । अन्तर्राष्ट्रिय, राष्ट्रियस्तरमा प्रतिबद्ध सबै खाले विकासका लक्ष्य हासिल गर्न साक्षरता आधारभूत र अनिवार्य शर्त नै हो । त्यसकारण राज्यले आफ्ना नागरिकलाई यथाशक्य छिटो साक्षर बनाउन विभिन्न योजना, अभियान र कार्यक्रम ल्याउनुपर्ने हुन्छ । निरक्षरता र गरिबी एक अर्काको परिपुरक हुन । यस्ता विकृति र विसंगतिलाई छिमल्दै सहज र सफल जीवन जीउन साक्षर हुंदै शिक्षित हुनुको विकल्प छैन्।

नेपालमा महिला साक्षरता र सशक्तिकरणका कार्यक्रम ल्याउने धेरै निकाय र संघ संस्था छन् । विगत वर्षहरुमा अनौपचारिक शिक्षा केन्द्र सानोठिमीले अग्रहणी भूमिका खेल्दै आएको थियो। तर संघीय संरचनाअनुसार यो सरकारी निकाय खारेजीमा परेसँगै अनौपचारिक शिक्षाका कार्यक्रमहरु वेवारिसे बन्न पुगेका छन्।

स्थानीय तहको जिम्मामा आएको अनौपचारिक शिक्षाका कार्यक्रमहरु आवश्यक जनशक्ति र स्रोतसाधानको अभावमा चाँडै सुचारुरुपमा संचालन हुने छाँट देखिंदैन। विगतमा महिला सशक्तिकरणका लागि विविध कार्यक्रमहरु जस्तै महिला साक्षरता प्रथम, द्वितीय, आयआर्जन समूह मार्फत आफूले अंगालेका र संभाव्य पेशाहरुलाई परिस्कृत गरेर आत्मनिर्भर बनाई आफ्नो खुट्टामा उभिन सक्ने सक्षमता प्रदान गर्न नीति लिएको पाइन्छ ।

त्यसैगरी आयआर्जनमा वृद्धि गरी महिलाको जीवनस्तर उठाउन, आफ्ना कुराहरु निर्धक्कसँग राख्न अभ्यस्त बनाउन र संगठित भै हक र अधिकार सुनिश्चित गर्ने खालका कार्यक्रमहरु सामुदायिक अध्ययन केन्द्र मार्फत आयआर्जन समूह गठन गरी सञ्चालन गर्दै आएको थियो । स्वास्थ्य र सरसफाईसम्बन्धी जनचेतना फैलाउने कार्यक्रमहरु पनि सञ्चालन मा थिए । विगत वर्ष देखि राष्ट्रव्यापी साक्षरता अभियानमा महिला सहभागितालाई प्रोत्साहित गर्ने नीतिले नारी सशक्तिकरणमा टेवा पुर्याएको जगजाहेर नै छ ।

साक्षरता कक्षा केन्द्र तोक्ने स्वयम् सेवक एवम् स्थानीय निरीक्षक नियुक्ति तथा व्यवस्थापनमा समेत महिला सहभागीको सुनिश्चित गरेको छ। जसको फलस्वरुप महिला सहभागिता ८० प्रतिशत भन्दा बढी भएको प्रारम्भिक प्रतिवेदनले पुष्टि गरेको छ ।

आधारभूत साक्षरता सीप हासिल गरेपछि महिलाको निरन्तर शिक्षाका लागि अनौपचारिक प्रौढ विद्यालयहरु विकास र विस्तार हुने क्रममामा छन् । जहाँ महिलाले एसईई सम्म पढ्न पाउने अवसर पाउछन् । त्यस्तै सामुदायिक सिकाइ केन्द्र मार्फत पायक पर्ने ठाउँमा आयआर्जन समूह गठन गरी उत्पादन वृद्धि र प्राप्त आर्जनलाई सामुहिकरुपमा बचत गर्ने अभ्यास गराउदै आएको छ।

उल्लिखित कार्यक्रमहरू निश्चय नै हात्तीको मुखमा जिरा भएको छ । कार्यक्रमको सफलताको लागि पर्याप्त साधन स्रोतको तर्जुमा, प्रभावकारी कार्यान्वयन एवम् सेवाग्राहीको अनुगमन निरीक्षण कार्य प्रगतिको आधारमा पुरस्कारको र दण्डको व्यवस्था गर्ने कार्यमा सबैको साथ सहयोग भएमा निश्चयनै हामी आफ्नो लक्ष्यमा पुग्न सक्छौं ।

त्यसकारण महिला साक्षरतालाई प्रत्येक नेपालीले घर घरबाट सुरु गरेर पारिवारिक साक्षरतालाई प्रोत्साहित गरिनु पर्दछ। यही वास्तविकतालाई मध्यनजर राखेर महिला सशक्तिकरणलाई प्रवद्र्धन गर्नेखालका कार्यक्रमलाई प्रोत्साहित गर्नु भनेको समृद्ध नेपाल सुखी नेपाली बनाउन होस्टेमा हैसे गर्नु हो भन्दा अन्यथा नहोला ।

पूर्व जिल्ला शिक्षा अधिकारी, काठमाडौं ।

प्रतिकृया दिनुहोस्