काठमाडौं । नेपाल शिक्षक महासंघको विधान बारे सामाजिक सञ्जालमा व्यक्त अभिव्यक्ति र प्रतिक्रियाको नेपाल राष्ट्रिय शिक्षक संगठनले खण्डन गरेको छ । साथै, संगठनले त्यस्ता असत्य, कपोलोकल्पित र आधारहिन तवरवाट गरिएका सार्वजनिक अभिव्यक्ति प्रति घोर निन्दा र भत्सर्ना गरेको छ ।

नेपाल शिक्षक सङ्घले महासंघको विधान बारे भ्रम फैलाएको आरोप लगाउँदै संगठनले त्यस भ्रमको खण्डन गरेको हो ।

शुक्रवार एक विज्ञप्ति जारी गर्दै संगठनले महासंघको प्रथम महाधिवेशनबाट गठित प्रथम राष्ट्रिय परिषद्को बन्द सत्रमा आठ वटा समूहमा भएको छलफलद्वारा पारित विधान प्रति पूर्ण प्रतिबद्धता जनाएको हो ।

संगठनका अध्यक्ष लक्ष्मण शर्मा र महासचिव हंशबहादुर शाहीद्वारा जारी विज्ञप्तिमा अब उप्रान्त साङ्गठनिक तथा व्यक्तिगत ढङ्गले यस खालका निन्दनीय, विखण्डनकारी र अवाञ्छित अभिब्यक्ति सम्प्रेषण नगर्न सम्बन्धित सबैलाई सचेत गराइएको छ ।

विद्यालय तहमा कार्यरत सम्पूर्ण नेपाली शिक्षक एवम् कर्मचारीहरुको एक मात्र साझा, स्वतन्त्र र वैधानिक पेशागत छाता संगठन शिक्षक महासंघ रहेकोसमेत विज्ञप्तिमा स्मरण गराइएको छ ।

‘महासंघका २०७६ असोज ४ र ५ गते लब्लि बैंकेट जाउलाखेल ललितपुरमा भएको प्रथम राष्ट्रिय परिषद् बैठकमा विधानले दिएको अधिकार प्रयोग गरी विधिविधान सम्मत परिषद् सम्पन्न भएको सर्व विदितै छ ।’ विज्ञप्तिमा भनिएको छ ।

२०७६ आश्विन ७ गते पत्रकार सम्मेलन मार्फत उपत्यकामा उपलब्ध भएका आवद्धरसम्बद्ध संगठनहरुका अध्यक्षहरु समेतको उपस्थितिमा २३ बुदे मुख्य निर्णयहरु सार्वजनिक गरिएको र विधानले प्रबन्ध गरेको अधिकार प्रयोग गरी प्रक्रियासम्मत् सर्वसम्मत् रुपले विधान संशोधन गरिएको संगठनले जनाएको छ ।

कार्यरत पदाधिकारीहरुको समयावधि र समितिहरुको अवधिमा गरिएको संशोधनलाई लिएर शिक्षक महासंघका कुनै एक घटकद्वारा गरिएको अनर्गल, भ्रमात्मक, एकताविरोधी, गैर सांगठनिक अभिव्यक्ति प्रति संगठनको बैशाख १० गते बसेको राष्ट्रिय समिति अनलाइन बैठकको गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ ।

महासंघको प्रथम महाधिवेशनबाट गठित प्रथम राष्ट्रिय परिषद्को बन्द सत्रमा आठ वटा समूहमा भएको छलफलद्वारा पारित विधान प्रति संगठन सम्पूर्ण रुपमा प्रतिबद्ध रहेको जनाइएको छ ।

२०७७ बैशाख १३ गते १०:२४मा प्रकाशित

प्रतिकृया दिनुहोस्