काठमाडौं । प्रतिनिधि सभा सदस्य सूर्य पाठकले शिक्षा र स्वास्थ्य क्षेत्रलाई राष्ट्रियकरण गर्नुपर्ने बताएका छन् । बाग्लुङ क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद पाठकले अहिले संक्रमणले शिक्षालाई नयाँबाटोमा हिड्ने अवसर प्रदान गरेकाले ठोस नीतिगत प्रस्थान गर्दै शिक्षा र स्वास्थ्यलाई राष्ट्रिय करण गर्नुपर्ने बताए ।

शिक्षा र स्वास्थ्य मौलिक अधिकार भएकाले यसको सुनिश्चिचता गर्ने दायित्व सरकारको भएकाले यसको सम्पूर्ण दायित्व र स्वामित्व सरकारले लिनुपर्ने उनको भनाइ थियो । शिक्षा र स्वास्थ्यलाई राष्ट्रियकरण नगरेसम्म दुइखाले नागरिक उत्पादन भइरहने र नागरिकले संवैधानिक मौलिक अधिकारको उपभोगबाट बञ्चित भइरहने उनको दावी थियो ।

नेपालमा अझैपनि शिक्षण पेशामा आकर्षण बढ्न नसकेको भन्दै त्यसका लागि शिक्षकको सामाजिक प्रतिष्ठा र शिक्षामा लगानी बढाउनुपर्ने उनको भनाइ थियो ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको ‘वर्तमान संक्रमणकालीन नेपालका शैक्षिक मुद्दा र वजेट व्यवस्थापन’ विषयक भर्चुअल अन्तक्र्रियामा बोल्दै सांसद पाठकले शिक्षामा लगानी बढाउनुको साटो सरकारले निरनतर घटाउँदै लगेकोमा दुखेसो पोखे । १७ प्रतिशत पुगेको वजेट घटेर ९–१० प्रतिशतमा झरेको छ अब कम्तिमा २० प्रतिशत वजेट शिक्षामा छुट्याउने सुनिश्चितता हुनुपर्ने उनले बताए ।

साथै, पाठकले विज्ञहरुले शिक्षा सुधारका लागि दिएका सुझाबहरु सहितको उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्दै त्यसले सुझाएका बाटोमा अघि बढ्न सरकारसँग आग्रह गरे । संघीय शिक्षा ऐन ल्याएर शिक्षालाई गती प्रदान गर्न पनि सरकार चुकेको उनको ठम्याइ थियो ।

‘अझैपनि विद्यालय कर्मचारी र इसिडिका शिक्षकहरु मासिक ६ हजारमा काम गर्न बाध्य छन् जबकी श्रमऐनले न्यूनतम साढे तेह्र हजारमा श्रम गराउन पाउने व्यवस्था गरेको छ’– सांसद पाठकले भने, ‘शिक्षकको सामाजिक प्रतिष्ठा, मनोबल र सुरक्षाको ग्यारेन्टि नगर्दा सम्म सार्वजनिक शिक्षाको सुदृढीकरण हुन सक्दैन ।’

सांसदले आवाज उठाउने मात्रै भएको समस्याको समाधान सरकारले गर्नुपर्ने भन्दै आगामी वजेटमार्फत शिक्षकका समस्या समाधान र २० प्रतिशत शिक्षा वजेटको सुनिश्चितता्का लागि संसदमा आवाज उठाउने पाठकले प्रतिबद्धता जनाए ।

भविष्य निर्माण शिक्षकको हातमा रहेकाले शिक्षकको सामाजिक प्रतिष्ठा र अधिकार सम्बोधन गर्दे अधिकतम परिचालन गर्ने गरी सरकार अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।

२०७७ जेष्ठ ९ गते १२:१०मा प्रकाशित

प्रतिकृया दिनुहोस्