बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयको बिएएलएलबी पहिलो सेमेष्टर अध्ययनरत रुपन्देही लितोत्तमाकी मञ्जिला ज्ञवालीको परीक्षा दुई पटक स्थगित भयो। कोरोना महामारीका कारण परीक्षा बारम्बार स्थगित हुँदा उनी तनावमा थिइन्। आइतबार भने उनमा उत्साह थियो। स्थगित परीक्षा तेस्रो पटकको प्रयासमा दिन पाइन्। ‘तयारी गर्‍यो परीक्षा रोकिने, विद्यार्थीलाई यो भन्दा तनाव अरु के हुन्छ र ?’, उनले भनिन्, ‘एक पटक परीक्षा दिनु नै छ। विश्वविद्यालले घर नजिकै सेन्टर तोकेर परीक्षा सुरु गर्‍यो। हामी खुसी छौं।’

उनीमात्रै होइन, सोही संकाय पढ्ने ८५ जना विद्यार्थीको परीक्षा आइतबारबाट सुरु भएको छ। प्रायः सबै विश्वविद्यालयको परीक्षा अन्योल भइरहेका बेला लुम्बिनी बौद्ध विश्वविद्यालयले स्नातकोत्तर तह र स्नातक तहको परीक्षा थालेको हो। विद्यार्थीलाई पायक पर्ने स्थानमै केन्द्र तोकेर परीक्षा सुरु गरेको छ। विद्यार्थीको सेमेष्टर नोक्सान हुन नदिन विश्वविद्यालयले नमुनाशैलीमा परीक्षा गरेको हो।

विद्यार्थीको घर पायकमा परीक्षा केन्द्र तोक्ने क्रममा एक जना हुम्लाका विद्यार्थीका लागि उहीं केन्द्र तोकिएको छ। विश्वविद्यालयका रजिष्ट्रार डा. तिलक आचार्यले विश्वविद्यालयले चुनौतिपूर्ण अवस्थामा पनि सहज तरिकाले परीक्षा सुरु गरेको बताए। ‘हामीले हुम्लाका एक विद्यार्थीका लागि उही केन्द्र तोकेर परीक्षा लियौं’, उनले भने,‘शैक्षिक कार्यक्रमको अन्योलता हटाउँदै अघि बढ्नुको विकल्प नभएकाले स्वास्थ्य साबधानी सहित परीक्षा सुरु गरेका छौं।’

लुम्बिनी, काठमाण्डौं, कपिलवस्तु, नवलपरासी, बुटवल, अर्घाखाँची र हुम्लामा परीक्षा केन्द्र तोएिको छ। स्नातकोत्तर तहमा भने अनलाइनमार्फत परीक्षा लिइएको हो। स्नातक तहका विद्यार्थीहरुले परीक्षा केन्द्रमै उपस्थित भएर परीक्षा दिएका छन्। हुम्लाका विद्यार्थी खड्क जैसीले मानसरोवर बहुमुखी क्याम्पसको केन्द्रबाट परीक्षा दिए। परीक्षा केन्द्राध्यक्ष बसन्त रोकायले एकै समया परीक्षा भएको बताए। हुम्लामा प्रश्नपत्र इमेलमार्फत पठाइएको थियो। उत्तरपुस्तिका समेत इमेलबाटै विश्वविद्यालयमा आएको छ।

स्नातक तहमा कानून, बुद्धिज्म, भोट विषयमा परीक्षा सुरु भएको हो। स्नातकोत्तर तहमा म्युजोलोजी, आर्कोलोजी विषयको परीक्षा सुरु भएको छ। कानूनतर्फ मात्रै पहिलो समेष्टरका ८५ जना विद्यार्थी परीक्षामा सहभागि भएका छन्। कोरोना महामारीबीच केन्द्रमा आएका विद्यार्थीहरु परीक्षा दिन पाउँदा उत्साहित छन्। ‘परीक्षाको तयारी गर्दै रोकिदै गर्दा तनाव अवस्था थियो, सेमेष्टर नै लस हुन्छ कि भन्ने चिन्ता अव हराएको छ’, बुटवलको केन्द्रमा परीक्षा दिन आएकी अनिशा लम्सालले भनिन्।

विश्वविद्यालयले बुटवलमै चार स्थानमा केन्द्र तोकेको थियो। प्रत्येक कक्षा कोठामा १५ जना कम विद्यार्थी राखिएको छ। दुई मिटरको दुरीमा रहेर विद्यार्थीले परीक्षा दिएका छन्। परीक्षा केन्द्रमा केन्द्राध्यक्ष र निरीक्षकबाहेकलाई प्रवेश दिइएको छैन। परीक्षापछि कक्षा कोठा निर्मलीकरण गरिएको छ।
परीक्षा केन्द्र तोकिएको बुटवलको नबिन औद्योगिक कदरबहादुर माविकका प्राध्यानाध्यापक प्रेम बस्नेतले बौद्ध विश्वविद्यालयको परीक्षा शैली अनुकरणीय भएको बताए। ‘हरेक विश्वविद्यालयले यसैगरी परीक्षा सञ्चालन गर्न सक्नेछन्, यो विश्वविद्यालयले उदाहरणीय तरिकाले परीक्षा गरेर अन्य विश्वविद्यालयलाई बाटो देखाएको छ’, उनले भने।

परीक्षा केन्द्रमा आउने विद्यार्थीलाई मास्क र सेनिटाइजरको व्यवस्था विश्वविद्यालयले गरेको छ। विविटिटिएम कार्यक्रम संयोजक मोहन भण्डारीले पदाधिकारीको तदारुकताका कारण नै परीक्षा सम्भव भएको बताए। ‘रजिष्ट्रारको योजनामुताविक दुई पटक स्थगित भएको परीक्षा सुचारु भएको छ, विद्यार्थीहरु निकै उत्साहित भएका छ’, उनले भने,‘यसले पठनपाठनको अन्योलता समेत हटेको छ।’

महामारीले विश्वविद्यालयको अन्तिम परीक्षा दुई पटक रोकिएको थियो। परीक्षा तयारी गरेका विद्यार्थी स्थगित हुँदा तनावमा थिए। भदौं २८ बाट सुरु भएको परीक्षा असोज पहिलो सातासम्म चल्नेछ। बौद्ध विश्वविद्यालयले बिए पहिलो सेमेष्टर, स्नातकोत्तर आर्कोजोलीको पहिलो समेष्टर, म्युजियोलोजीको पहिलो र तेस्रो, बिएएलएलबीको पहिलो, बिए भोट बुद्धिष्टको पहिलो समेष्टरको परीक्षा सुरु गरेको हो। यी परीक्षा लगत्तै बिबिटिटिएम र अन्य स्नातकोत्तर तहका परीक्षा सुरु हुने विश्वविद्यालयले जनाएको छ।

लक्ष्मण पोखरेलले अन्नपुर्णपोष्टमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्