वुहान  । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण सुरु भएको चीनको वुहान राज्यका सम्पूर्ण विद्यालयमा मंगलबारदेखि पठनपाठन पुनः सञ्चालन हुने भएको छ ।

चिनियाँ सञ्चारमाध्यमका अनुसार वुहानका २ हजार ८ सय ४२ विद्यालयमा पढाइ सुरु गर्न लागिएको हो । भाइरसको संक्रमण फैलिएसँगै वुहानका करिब १४ लाख विद्यार्थी विद्यालय जानबाट वञ्चित भएका थिए । वुहानका विश्वविद्यालय भने शुक्रबारदेखि नै खुलिसकेका छन् ।

भाइरस नियन्त्रणमा आएसँगै विद्यालय खोल्न लागिएको भए पनि अधिकारीहरूले अनावश्यक भेला वा सम्मेलन नगर्न तथा आवश्यक सुरक्षाका उपाय अपनाउन निर्देशन दिइएको जनाएका छन् । सूचना नगरिएका विदेशी विद्यार्थी तथा शिक्षकलाई भने विद्यालय जान रोक लगाइएको छ ।

कोरोना भाइरसका कारण वुहानमा ३ हजार ८ सय ६९ जनाको ज्यान गएको थियो । यो चीनमा भाइरसका कारण मृत्यु हुनेको ८० प्रतिशतभन्दा बढी हो । गत अप्रिलदेखि सामान्य अवस्थामा फर्केको वुहानमा त्यसयता संक्रमित भेटिएका छैनन् ।

एजेन्सीको खबर कान्तिपुरबाट

प्रतिकृया दिनुहोस्