काठमाडौं। दरवन्दी र पेन्सनको माग राख्दै आन्दोलनरत विद्यालय कर्मचारीहरुले सरकारसँग वार्ताका लागि सात सदस्यीय समिति गठन गरेको छ । शिक्षा मन्त्रालयले वार्ताका लागि आह्वान गरेसँगै नेपाल विद्यालय कर्मचारी परिषद्ले अध्यक्ष गंगाराम तिवारीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको हो ।

उक्तसमितिमा महासचिव शान्तिनाथ योगी, वरिष्ठ उपाध्यक्षद्वय प्रदिप श्रेष्ठ, लक्ष्मण भट्ट, उपाध्यक्ष रामप्रकाश कुमाई, उप–महासचिव प्रेबबहादुर खत्री र आन्दोलन परिचालन समितिका संयोजक बबन कुमार मिश्र रहेका छन् । शिक्षा मन्त्रालयले आइतबार एक पत्र पठाउँदै वार्ताका लागि आह्वान गरेको थियो ।

वार्ता निष्कर्षमा नपुग्दासम्म पुर्वनिर्धारित आन्दोलनका कार्यक्रम नरोकिने परिषद् अध्यक्ष गंगाराम तिवारीले जानकारी दिए । गत १ भदौबाट आन्दोलन गर्दै आएका विद्यालयका कार्यालय सहयोगी र लेखापालहरूले आइतबारदेखि देशभरका सामुदायिक विद्यालय बन्द गराएका थिए । पहिलो दिन देशभरका ८० प्रतिशत भन्दा बढी सामुदायिक विद्यालयहरू बन्द रहेको अध्यक्ष तिवारीले बताए ।

प्रतिकृया दिनुहोस्