काठमाडौं । सरकारले यही असार १ गतेदेखि विद्यार्थीलाई रेडियो र टिभीबाट पढाउन दुई हप्ते रुटिन सार्वजनिक गरेको छ । कोरोना महामारीमा लगाइएको लकडाउनका कारण विद्यालय बन्द भइरहेको अवस्थामा घरमै रहनुपरेका विद्यार्थीलाई पढाउन रुटिन जारी गरिएको हो ।

सरकारले निर्माण गरेको ‘वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका २०७७’ अनुसार रेडियो, टिभि र इन्टरनेट सेवाप्रदायक एजेन्सीमार्फत् विद्यार्थीलाई पढाउन लागिएको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले यही पठनपाठनका लागि असार १ देखि १२ गतेसम्मका लागि रुटिन निकालेको छ ।

कक्षा १ देखि ८ सम्मको रुटिनमा अंग्रेजी, नेपाली, गणित विषयको पढाइ हुनेछ । तालिका अनुसार बिहान १०ः०० देखि ३ः०० बजेसम्म एक दिनमा एकै विषयको कक्षागत पिरियडअनुसार पढाइ हुनेछ ।

कक्षा ९ र १० को भने दिनको ४ घण्टा प्रतिकक्षा ३५ मीनेटका दरले ६ विषयमा पढाइ हुने तालिका छ । अंग्रेजी, गणित, विज्ञान, नेपाली, सामाजिक र स्वास्थ्य जनसंख्या वातावरणमा पढाउन लागिएको हो । पहिलो पिरियड १०ः०० देखि १०ः३५ सम्म तोकिएको छ । त्यस्तै, दोस्रो पिरियड १०ः४० देखि ११स्१५ बजेसम्म रहेको छ । त्यस्तै, तेस्रो पिरियड ११ः२० देखि ११ः५५ बजेसम्म हुनेछ भने चौथो १२ः०० देखि १२ः३५ सम्मको पिरियड निर्धारण गरिएको छ । पाँचौं पिरियड १२ः४० देखि १ः१५ बजेसम्म र छैठौं कक्षा १ः२० देखि २ः०० बजेसम्म हुने बताइएको छ ।

कक्षा ९ र १० को विषयगत पाठहरु डिस होम, नेट टिभि, म्याक्स टिभिको स्कूल एजुकेसन च्यानलबाट प्रसारण हुनेछन् ।

अरु कक्षाको असार १ देखि ३१ गतेसम्म विषयगत पाठहरु नेपाल टेलिभिजनको एनटिभि प्लसबाट पढाइ हुने बताइएको छ । यद्यपि, रुटिन भने १२ गतेसम्मका लागि मात्र सार्वजनिक गरिएको छ ।

आठ कक्षासम्मकालाई हुने एउटा–एउटा पुस्तक बनेको छ । यसको डिजिटल कपी तयार पारिएको छ । ३ कक्षासम्मको डिजिटल कपी शिक्षा तथा मानव स्रोत विकास केन्द्रकै वेबसाइटमा राखिएको छ । यस्तै, चारदेखि–आठ कक्षासम्मको केही दिनमै सामग्री राखिनेछ ।

स्थानीय तहरुले स्थानीय एफएममार्फत् विद्यार्थीलाई पढाउन शुरु गर्न लागेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा. तुलसी थपलियाले जानकारी दिए । यस्तै, कक्षा ६ देखि ८ सम्मका लागि कान्तिपुर एफएमले पनि असार १ बाट हप्ताको पाँच विषयमा पाठ पढाउने कार्यक्रम छ ।

रेडियो नेपालबाट असार १ देखि नै कक्षा ९ र १० को सामग्री पनि प्रसारण गरिँदैछ । साथै, स्थानीय तहहरुबाट एफएमबाट प्रसारण गर्ने तयारी पनि भइरहेको छ ।

यता, निजी विद्यालयहरुको संगठन प्याब्सन र एन प्याब्सनले पनि संयुक्त रुपमा तीनवटा टेलिभिजनबाट पढाइ शुरु गर्दैछन् । यद्यपि, यसको रुटिन भने केही दिनमा सार्वजनिक गरिने एन प्याब्सनका अध्यक्ष ऋुतराज सापकोटाले बताए ।

प्याब्सनका अध्यक्ष टिकाराम पुरीका अनुसार कक्षा ७ देखि १० सम्म जनता टिभिबाट पढाइ हुनेछ । त्यस्तै, कक्षा २ देखि ६ सम्म टेलिभिजन टुडेमा र प्रि–प्राइमेरीदेखि १ सम्म योहो टेलिभिजनमा पाठ प्रसारण हुनेछ ।

साथै, रेडियोका लागि प्याब्सन–एनप्याब्सनका जिल्ला तथा प्रदेश समितिमार्फत् पाठ निर्माण गरी प्रसारणको व्यवस्था मिलाइएको अध्यक्ष पुरीले जानकारी दिए । तीनवटै टेलिभिजनसँगको सम्झौताअनुसार लाग्ने खर्च प्याब्सनरएन प्याब्सन दुबैले ब्यहोर्नेछन् ।

प्रतिकृया दिनुहोस्