काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले रेडियो, टिभि, अनलाइन र अफलाइनबाट शुरु पढाइको प्रभावकारिताको मूल्याङ्कन यही असार १५ गतेभित्र गरिसक्नुपर्ने निर्देशन दिएको छ ।

मन्त्रालयले ‘वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका २०७७’ जारी गर्दै यही असार १ गतेबाट रेडियो, टिभि, अनलाइन तथा अफलाइन सिकाइ शुरु गरेको छ । निर्देशिकाअनुसार स्रोत साधन उपलब्धताका आधारमा विद्यार्थीलाई ५ प्रकारमा वर्गीकरण गरिएको छ । पहिलो वर्गमा सबै किसिमको प्रविधिको पहुँचभन्दा बाहिर रहेका विद्यार्थी पर्छन् । दोस्रो वर्गमा रेडियो, एफएममा पहुँच भएका विद्यार्थी रहेको समूहलाई लिइएको छ ।

यस्तै, टेलिभिजनमा पहुँच भएका विद्यार्थी रहेको समूह तेस्रोमा पर्छ । चौथो वर्गमा कम्प्यूटर भएको तर अनलाइन कनेक्टिभिटि नभएका विद्यार्थी रहेका छन् । पाँचौं वर्गमा इन्टरनेट तथा सूचना सञ्चार प्रविधिका साधनमा पहुँच भएका विद्यार्थी रहेको समूहलाई वर्गीकृत गरिएको छ ।

संघीय, प्रदेश तथा स्थानीय तीनै तहका सरकारले पाँचै प्रकारका विद्यार्थीलाई लक्षित गर्दै विभिन्न माध्यमबाट वैकल्पिक सिकाइ शुरु गरेका छन् । जहाँ जुन माध्यमको पहुँच छ, त्यहीबमोजिम विद्यार्थीलाई सिकाइमा सरिक गराउनुपर्ने वैकल्पिक सिकाइ सहजीकरण निर्देशिकाको मर्मअनुसार तालिका बनाएरै रेडियो, टेलिभिजन, अनलाइन तथा अफलाइन माध्यमबाट पढाइ थालिएको छ ।

तर, कुनै पनि मिडियाको पहुँचमा नरहेका २३ लाख ५७ हजार ९ सय ५९ जना विद्यार्थीका लागि कसरी सिकाइ भइरहेको छ भन्नेमा अहिलेसम्म कुनै विवरण छैन । त्यसो त, रेडियो सेट भएका जनताले पनि राम्ररी सुन्न नसक्ने कनेक्टिभिटिको समस्या रहेको औंल्याएका छन् ।

‘यी सबै खाले यथार्थ थाहा पाउन शिक्षा मन्त्रालयले असार १५ गतेभित्र अनुगमन र मूल्याङ्कनको प्रतिवेदन दिनू भनेर हामीलाई निर्देशन दिइसकेको छ,’ शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक इमनारायण श्रेष्ठले भने, ‘यसका लागि प्रदेश, स्थानीय तह र शिक्षा क्लस्टरहरुबाट विवरण लिइनेछ ।’

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्याङ्कअनुसार १३ प्रतिशत मात्र विद्यालयहरुको इन्टरनेटमा पहुँच छ । ५५ प्रतिशत घर–परिवार इन्टरनेटको पहुँच राख्छन् । ४५ प्रतिशत विद्यार्थी अनलाइन वा अन्य प्रकारका मिडियासँग नियमित पहुँचबाट टाढा रहेको अनुमान छ ।

केन्द्रका अनुसार ३–१६ वर्ष उमेरसमूहका इसिडिदेखि कक्षा १२ सम्मका कूल ८१ लाख २६ हजार विद्यार्थीमध्ये इन्टरनेटको पहुँचमा १० लाख ९३ हजार ३ सय ९४ बालबालिका रहेका छन् । यस्तै, ३९ लाख ५८ हजार २ सय ७० विद्यार्थी मिडियाको पहुँचमा छन् ।

प्रतिकृया दिनुहोस्